काठमाडौं । हेलिकप्टरको बीमा (इन्स्योरेन्स) ७० प्रतिशत नेपाल भित्रै हुने भएको छ । मुलुक भित्रै बीमाको दायरा बढाउने विषयमा भएको छलफलमा वायुसेवा सञ्चालक संघ, नेपाल निर्जीवन विमा संघ र पुनर्बीमा कम्पनी लिमिटेडबीच हेलिकप्टरहरुको बीमा ७० प्रतिशतसम्म स्वदेशमा गर्न सकिने विषयमा सहमति नजिक पुगेको हुन ।
यसअघि केहि प्रतिशत बाहेक सबै मुलुक बाहिरका कम्पनीहरु मार्फत हेलिकप्टरकहरुले इन्स्योरेन्स गराउदै आएका छन । हेलिकप्टरहरुको इन्स्योरेन्स बापत वार्षिक ४० देखी ४५ करोड रुपैयाँ मुलुक बाहिर गइरहेको कम्पनीहरुको भनाई छ ।
७० प्रतिशत बीमा नेपाल भित्रै हुने भएपछि करिब ३० करोड रुपैयाँ नेपाल भित्रै रहने उनीहरुको भनाई छ । अहिले ग्राउण्ड इन्स्योरेन्सको मात्र ४० प्रतिशत भन्दा बढी रकम तिर्दै आएकोमा नेपाल भित्रै गर्न सकिए १० प्रतिशत भन्दा कममा गर्ने उनीहरुको दाबी छ । योहुँदा हेलिकप्टर कम्पनीको पनि ठूलो रकम बचत हुने छ ।
हाल नेपालमा १० ओट कम्पनीहरुको २७ वटा हेलिकप्टहरु उडान योग्य छन । ती हेलिकप्टर कम्पनीको दुर्घटना दरको आधारमा इन्स्योरेन्स कम्पनीले केहिको धेरै र केहिको कम शुल्क (प्रिमियम) लिने गरेका छन् । यस्तै बी ३ र बी २ मा पनि फरक फरक रहेको छ । नेपालमा हाल बी ३ हेलिकप्टर बढी छन ।
वायुसेवा सञ्चालक संघले कोरोना भाइरसको प्रभावपछि ग्राउण्डेड रहेका हेलिकप्टरहरुलाई ग्राउण्ड इन्स्योरेन्स मात्र गर्न कम्पनीहरुलाई पत्र पठाएको थियो । बीमा समितीलाई समेत बोदार्थ पठाइएको पत्र पछि बीमा कम्पनीहरुसँगको छलफलमा ग्राउण्ड इन्स्योरेन्स मात्र नभई पुरै इन्स्योरेन्स नेपाली कम्पनीहरुले गर्न सक्ने जानकारी दिएका थिए ।
बीमा कम्पनीहरुको धारणापछि वायुसेवा सञ्चालक संघ र निर्जीवन बीमा कम्पनीबाट तीन तीन जना तथा नेपाल पुनर्बीमा कम्पनीबाट एक जना रहने गरी हवाई बीमाको अध्ययन समिति बनेको थियो । समितिले मंगलबार (आज) प्रतिवेदन बुझाउदै छ ।
प्रतिवेदनमा नेपाल भित्रै ७० प्रतिशत हेलिकप्टरहरुको इन्स्योरेन्स गर्न सकिने र पछि विस्तारै सबै हेलिकप्टरको गर्ने उल्लेख गरिएको छ । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले ७० प्रतिशत हेलिकप्टरको इन्स्योरेन्स नेपाल भित्रै गर्न सकिने अध्ययन समितिले निश्कर्ष निकालेको जानकारी दिए । उनले नेपाल भित्रै इन्स्योरेन्स गर्दा विदेशी कम्पनी भन्दा सस्तो हुने र यहाँको रकम बाहिर नजाने बताए ।
अहिले नेपालमा निजी क्षेत्रबाट निर्जिवन बीमा कम्पनीको संख्या २० वटा र एक पुर्नबीम एउटा छ । ती मध्ये २० वटा कम्पनीले १ १ प्रतिशत, सरकारी कम्पनीले ३० प्रतिशतसम्म र शिखर इन्स्योरेन्सले १० प्रतिशतसम्म बीमा गराउने भएका छन् । यो हुदा ७० प्रतिशत इन्स्यारेन्स नेपालमै सहज रुपमा गर्न सकिने देखिएको संघका प्रवक्ता कंडेलले जानकारी दिए ।
दुई तीन वर्षसम्म भारतका जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (जिआइसी) र न्यू इन्डिया बीमा कम्पनीसंग सहकार्य गर्ने बीमा कम्पनीहरुको भनाई छ । बीमा कम्पनीहरुको कुल पुँजि ८७ अर्ब रुपैयाँ छ ।
शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, शिद्धार्थ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीहरुले गर्दै आएका छन् । अन्य कम्पनीहरुले पनि इन्स्योरेन्स गर्न प्रस्तावहरु पठाइरहेको जनाएको छ ।
सरकारले सकेसम्म विदेशी मुद्रा बाहिर जानबाट रोक्ने निर्णय भएकोले बीमा समितिलाई नेपाल भित्रै हेलिकप्टर कम्पनीहरुका इन्स्योरेन्स गराउन थप दबाब छ ।