काठमाडौं । विश्वभर कोरोना भाइरसको प्रभावले पर्यटन क्षेत्र थलिएसँगै नेपालमा रहेका हेलिकप्टर कम्पनीहरु मर्जरमा जाने तयारी गरेका छन् ।
पर्यटकीय गतिविधि ठप्प हुँदा दैनिक लाखौ घाटा वेहोर्दै आएका हेलिकप्टर कम्पनीहरु आगामी दिनमा आउने संकटबाट पार पाउन मर्जरको बिकल्प रोज्न थालेका छन् ।
कम्पनीको संख्या कम हुँदा खर्च घट्ने तथा जनशक्ति परिचालन गर्न समेत सहज हुने हेलिकप्टर कम्पनीहरुको ठहर छ । ‘अहिले विभिन्न चरणमा मर्जरको लागि छलफल भइरहेको छ’ एक सञ्चालकले भने, ‘तीन वटा कम्पनीबीच सहमति भएर हस्ताक्षर मात्र हुन बाकी छ ।’
पछिल्लो समय हेलिकप्टर कम्पनीहरु थपिदै जाने र हेलिकप्टरको संख्या पनि बढिरहेको छ । तर, तिब्र प्रतिस्पर्धाले बजार कम्पनी चलाउन मुस्किल हुन थालेको सञ्चालकहरुको भनाई छ । अझ, यो वर्ष सिजनमै कोरोनाले हेलिकप्टरहरु ग्राउण्डेड भएको मात्रै होइन अवको करिब २ वर्षसम्म राम्रो व्यापार गर्न नसक्ने निष्कर्ष कम्पनीहरुको छ ।
कोरोनाले सबै हेलिकप्टर कम्पनीहरु समस्यामा परेको बेला मर्जरको कुरा उठ्नु स्वभाविक भएको अल्टीच्यूड एयरका म्यानेजिङ डाइरेक्टर निमानुरु शेर्पाले बताए । उनले भने, ‘उपयुक्त कम्पनी आएमा तयार छौं ।’ मर्जरका लागि अहिलेसम्म कुनै कम्पनीसँग छलफल नभएको तर, हालको परिस्थीति अनुसार मर्जरको विकल्प नभएको उनको भनाई छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता एवंम हेलि एभरेष्टका सञ्चालक योगराज कडेलले हेलिकप्टरहरु ग्राउण्डेड रहेको बेला मर्जरको छलफल गर्ने उपयुक्त समय भएको बताए । उनले हेलिकप्टर कम्पनीहरु आर्थिक संकटमा परेर बन्द हुनु भन्दा मर्जरमा जानु उत्तम विकल्प भएको बताए ।
अहिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डडयन प्राधिकरणले पनि हेलिकप्टर कम्पनीहरुलाई मर्जर जान सुझाव दिइरहेका छन् । तर, मर्जरमा जादा कम्पनीहरुले के कस्तो सुविधा पाउने भन्ने विषय पनि खुलाउन आवश्यक रहेको हेलिकप्टर सञ्चालकहरुको भनाई छ ।
अहिले १० हेलिकप्टर कम्पनीको ३३ वटा हेलिकप्टरहरु छन् । कोरोनाको प्रभावले मुस्ताङ हेलिकप्टर प्रालि भने सञ्चालनमा आउन सकेको छैन । पहिलो चरणमा दुई वटा हेलिकप्टर ल्याउने मुस्ताङको तयारी थियो । कोरोनाकै कारण केहि कम्पनीहरुले पनि हेलिकप्टर ल्याउने प्रक्रियालाई रोकेका छन् ।