काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न सरकारसँग ५ वटा जहाज खरिद गरिदिन प्रस्ताव लगेको छ । निगमका कार्यकारी अध्यक्ष सुशिल घिमिरेले आगामी बजेटमा ती जहाज खरिदका लागि आवश्यक रकम जुटाइदिन प्रस्ताव गरिएको जानकारी दिए ।
हाल निगमसँग आन्तरिक उडानमा प्रयोग भइरहेको जहाजहरुले आम्दानी गर्न नसक्ने तथा अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजले मात्र निगम सञ्चालन गर्न नसक्ने निश्कर्ष सहित सरकारलाई प्रस्ताव पठाएको हो ।
अहिले भएका जहाजले जसोतसो विभिन्न समयमा उडान गर्दै आएपनि पर्याप्त मात्रमा निगमले सुविधा दिन नसकेको जनगुनासो बढिरहेको बेला एकैपटक ५ वटा जहाज खरिदका लागि सरकारलाई प्रस्ताव पठाएको हो ।
‘अन्तर्राष्ट्रिय उडानका लागि पनि जहाज आवश्यक छ,’ अध्यक्ष घिमिरेले भने ‘यो बेला सरकार आफै आर्थिक संकटमा परेको र निगम पनि समस्यामै रहेकोले आन्तरिक उडानका लागि मात्र जहाज खरिदको लागि बजेट माग गरिएको हो ।’
कोरोना भाइरसको प्रभावले तत्कालै सबै क्षेत्रमा अन्तराष्ट्रिय उडान हुन नसक्ने निगमको ठम्याई रहेकोले आन्तरिक उडानलाई अब्बल बनाउन पर्याप्त मात्रामा जहाज आवश्यक रहेको उनले बताए । धेरै ठाउँबाट आन्तरिक उडानका लागि जहाज थप्नु पर्ने मागहरु आइरहेको भन्दै सरकारले बजेट विनियोजन गरेमा प्रतिस्पर्धात्मक ढंगबाट उडान गर्ने उनले बताए ।
तर, कति सिट क्षमताको जहाज खरिद गर्न प्रस्ताव पठाइएको र कति रकम मागेको भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् । ‘निगमले यस अघि पनि चिनिया जहाज ल्याउदा धेरै समस्यामा भोगेको सबैलाई थाहाँ छ,’ अध्यक्ष घिमिरेले भने ‘त्यहि भएर अव खरिद गर्दा सम्बन्धीत क्षेत्रका विज्ञहरुसँग पर्याप्त छलफल पछि मात्र खरिद गरिनेछ ।’
हाल निगमसँग आन्तरिक उडानका लागि टुइनेटर जहाज ४ वटा, एमए ६० जहाज २ वटा र वाई १२ जहाज ४ वटा रहेको छ । ती मध्ये हाल एमए ६० जहाज १ वटा, वाई १२ जहाज २ र टुइनेटर २ वटा मात्र उडिरहेको छ ।