चितवन । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ ।
शुरुका दिनमा अण्डा विक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर विक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।
ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रू. १५० सम्ममा झरेको अण्डाको मूल्य शुक्रवार रू. २७० पुगेको छ । अण्डा उत्पादकका अगुवा कृषक मदन पोखरेलले रू. २७० प्रतिक्रेटमा फार्मबाट अण्डा व्यवसायीले उठाएको जानकारी दिए । उनका अनुसार अहिले कृषकका गोदाममा अण्डा छैन ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डाको उत्पादन कम भएको तर भण्डारण गरेर राख्नु नपरेको जानकारी दिए ।
लकडाउनमा घर बस्नेहरुले अण्डाको उपभोग निकै बढाएको उनको भनाइ छ । दुई/चार ओटा अण्डा प्लाष्टिकको झोलामा राखेर किन्ने उपभोक्ताले क्रेटका क्रेट अण्डा किन्ने गरेको उनी बताउँछन् । लकडाउनअघिसम्म दैनिक ३५ लाख ओटा हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो संख्या घटेर २५ लाख हाराहारीमा झरेको अध्यक्ष केसीको भनाइ छ ।
दाना खुवाउन कठिन हुने र अण्डा विक्री गर्न नसकिने ठानेर कृषकले कुखुरालाई कम दाना खुवाउने, ठूलो हुँदै गएको कुखुरा बेच्ने र मोल्टिङ गर्ने गरेका कारण अण्डाको उत्पादन घटेको उनी बताउँछन् । डा शरण पाण्डेका अनुसार मोल्टिङ गर्दा दाना नखुवाएर कुखुराको शरीरको तौल घटाउने र अण्डा उत्पादन शून्यसम्म झारिन्छ । यसो गर्दा पछि उत्पादन बढ्ने गर्दछ ।
अण्डाको मुख्य बजार काठमाडौं हो । अहिले होटल, पार्टीप्यालेस बन्द भएसँगै सभा–सम्मेलन केही भएका छैनन् । अहिलेको अधिकांश खपत घरमा बस्नेहरुले नै गरेका हुन् ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सुरक्षित तरिकाले उपयोग गर्न सके अण्डा राम्रो खाद्यवस्तु भएको बताउँछन् ।
अण्डालाई घरमा ल्याएपछि सुरक्षित ठाउँमा भण्डारण गरी साबुनपानीले हात धुन उनी सुझाब दिन्छन् । अण्डालाई राम्रोसँग पकाएर खाँदा राम्रो पोषण प्राप्त हुने गर्दछ ।
उनले भने, ‘अण्डामा सबै थोक छ, सेतो भागमा बढी प्रोटिन छ, पहेँलो भागमा भिटामिन बी–१२, प्रोटिनजस्ता महत्वपूर्ण पोषणतत्व छ ।’
नेपालमा अण्डा वितरणमा अग्रणी संस्था किसान दाना उद्योग प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार लकडाउनको शुरुका दिनमा समस्या भए पनि त्यसपछि विक्रीमा समस्या छैन ।
मूल्य क्रमशः बढ्दै गएको छ । दैनिक यस कम्पनीले आफ्नो ४०० र किसानको ६०० पेटी अण्डा संकलन गरेर विक्री गर्दै आएको छ । रासस