काठमाडौं । विनासकारी भूकम्प गएको शुक्रबार ५ वर्ष पूरा भएको छ । आजकै दिन २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ९ हजार बढी व्यक्तिले ज्यान गुमाउनुका साथै ५ खर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको थियो ।
भूकम्पले ठुलो क्षति गरेपछि उद्धार तथा पुननिर्माणमा भारत, चीन, जापान, कोरिया, युरोपेली संघ (ईयु) अमेरिकालगायत द्धिपक्षीयका साथै एसियाली विकास बैंक, विश्व बैंकलगायत वहुपक्षीय दातृ निकायले दिल खोलेर सहयोग गरेका थिए ।
क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण गर्न दातृनिकायहरुको सल्लाहमा सरकारले अधिकारसम्पन्न राष्ट्रिय पुननिमार्ण प्राधिकरण स्थापना गरेका हो । प्राधिकरणबाट सुरु भएको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले साउनदेखि प्राधिकरणको भूमिका सकिने बताएका थिए । यद्यपी कोरोना भाइरस महामारीले गर्दा पुननिर्माणको काममा प्रभावित भएपछि समय थपिने संभावना बढेको छ ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात २६ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेको जानकारी गराएको हो ।
पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ गरी ३ खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ ।
कोरोनाले पुन निर्माणमा कस्तो असर पुर्यायो ? अब कसरी अघि बढ्नुपर्छ ? सीईओ ज्ञवालीसँग भिडियो कुराकानी
अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।
निजी आवास पुननिर्माणका क्रममा करिव ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।
प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ५ हजार ५९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन ।
यस्तै ३२ जिल्लाका ९२० ओटा सम्पदामध्ये ४०२ ओटाको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै १४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन ।
काठमाडौं उपत्यकाभित्र क्षतिग्रस्त १७० सम्पदामध्ये १०१ अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन । बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेका प्राधिकरणले जानकारी दिएको छ ।
कुल १ हजार १९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १४५ वटा पुनर्निर्माणको चरणमा छन । सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ ।
कुल ४१५ सरकारी भवनमध्ये ३४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन ।
पुनर्निर्माणअन्तर्गत सुरक्षा निकायका १९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २२ वटा पुनर्निर्माणको चरणमा छन ।
भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २०४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७४४ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डीपीआर स्वीकृत भई निर्माणाधीन छन । यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।
पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किलोमिटरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । बाँकी ३१९ किलोमिटर सडकको पुनर्निर्माण अन्तिम चरणमा छ । खानेपानी विभागमार्फत १ हजार खानेपानी योजना सम्पन्न भएका छन । १०० खानेपानी योजना कार्यान्वयनका चरणमा छन ।
‘धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले नै हामी नेपालको पुनर्निर्माण र पुनस्र्थापनाबारे आत्मविश्वासका साथ प्राप्त उपलब्धि, अनुभव र सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेका हौं, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भने अवसरमा म तीनै तहका सरकार, विभिन्न सामाजिक एवं व्यावसायिक संघ/संस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्था, कर्मचारी, स्थानीय समुदाय, आमजनता एवं मिडियालगायत पुनर्निर्माण कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा सहयोग पुर्याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
प्राधिकरणले साढे ४ वर्षका बीचमा राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएको नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, संघीयता कार्यान्वयनको सङ्क्रमणकालीन अवस्था, तीन तहका सरकारको निर्वाचनमा केन्द्रित हुनुपरेको अवस्था, कर्मचारी समायोजन जस्ता समस्या तथा चुनौती सामना गर्दै पुनर्निर्माण र पुनस्र्थापनामा उपलब्धिहरू हासिल गरेको सीईओ ज्ञवालीको दाबी छ ।
कोरोना भाइरसको महामारीले विश्वव्यापीरुपमा प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेकाले पुनर्निर्माणका कार्यमा असर परेको उनले बताए । भूकम्पबाट ८ लाख घरहरू भत्किएको र ९ हजार मानिसले ज्यान गुमाएका थिए ।
५ खर्ब रुपैयाँ भन्दा बढीको क्षति भएका प्राधिकरणले जनाएको छ । नेपालमा ८०० वर्षको अवधिमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो ।
तस्वीर: नाजिया श्रेष्ठ