काठमाडौं । लकडाउनमा बन्द भएको आन्तरिक उडान खोल्ने गृहकार्य सुरु भएको छ । सरकारले बैशाख १५ पछि लकडाउनलाई केहि खुकुलो बनाउने तयारी गरिरहेको बेला हवाइ कम्पनीहरुले आन्तरिक उडानको लागि गृहकार्य सुरु गरेको हो ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बैशाख १५ पछि केहि क्षेत्रमा आन्तरिक उडान सुरु गर्ने संकेत दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले गाइलाइड तयार गरिसकेको छ ।
क्यानमा महानिर्देशक राजन पोखरेलले सरकारले निर्णय गरेमा आन्तरिक उडान सुचारु गर्न स्वास्थ्य क्षेत्रमा कस्ता कस्ता उपायहरु अपनाउने भन्ने बारेमा गृहकार्य सुरु गरिएको जानकारी दिए । यस्तै एयरलाइन्स हरुले उडानमा अपनाउनु पर्ने सुरक्षाका प्रवन्धहरु सबै मिलाउन एयरलाइन्सहरुलाई परिपत्र गरिसकेको उनले जानकारी दिए ।
क्यानले कोरोना भाइरसको संक्रमण जोखिम कम भएका क्षेत्रमामा मात्र उडान गर्न दिने तयारी गरेको छ । अहिले पोखरा, भैरहवा, नेपालगन्ञ, लुक्लालगायतका विमानस्थलमा मात्र उडान गर्न दिने जनाएको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले सरकारले खुला गरेमा आन्तरिक उडान सुचारु गर्न एयरलाइन्सहरु तयार रहेको बताए । उडान स्विकृति भएमा भाइरसको संक्रमणबाट बच्नका लागि आवश्यक सुरक्षाको तयारी गरिरहेको उनले बताए ।
‘उडान सुचारु गर्ने वित्तिकै यात्रु पाउछन भन्ने हुदैन’ प्रवक्ता कडेलले भने ‘त्यसका लागि सबै एयरलाइन्सबीच सहमति गरेर सिमित जहाज मात्र चलाउने छौं ।’ सबैे जहाज एकै पटक चलाउदा यात्रु र एयरलाइन्स दुबैलाई घाटा पर्ने भएकोले भाडामा प्रतिस्पर्धा नगरी आलोपालोमा उडान गर्ने उनले बताए ।
क्यानले दिएको गाइडलाइन अनुसार अहिले एयरलाइन्सहरुले यात्रुहरुलाई सुरक्षीत बनाउन आवश्यक सबै तयारी गरिरहेका छन् । तर, ती एयरलाइन्सहरुले यात्रुहरु पाउने वा नपाउने भन्ने डर कायम रहेको बताउदै आएका छन् ।
बुध्द एयरले सरकारले अनुमति दिएमा यात्रुलाई सुरक्षीत महशुस हुने गरी यात्रा गराउन तयारी गरिएको जानकारी दिए । उनले भने ‘टिकट काउण्टर देखी जहाजसम्म सबै तयारी पुरा भएको छ, खुला गर्ने वित्तिकै उडान गर्ने छौं ।’
तर, श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले सार्वजनिक यातायात सञ्चालन नभएसम्म आन्तरिक उडान खुलाएर मात्र नहुने बताउछन् । ‘निजी सवारी साधानमा मात्र यात्रा गरेर हवाई जहाजको यात्रु कति पाउछन भन्ने हो,’ प्रवक्ता मानन्धरले भने ‘उडान सुचारु गर्ने नै निर्णय गरेमा यात्रुको सुरक्षाको लागि अपनाउनु पर्ने सबै विधि प्रयोग गर्न तयार छौं ।’ अहिले आन्तरिक उडानमा बुध्द, यती, श्री, समिट, तारा, सौर्य, सीता एयरले उडान भर्दै आएको छ ।