काठमाडौं । कोरोना भाइरसको कारण मुलुक ११ चैतबाट लकडाउनमा छ । सोहि कारण करिब एक महिन देखि अत्यावश्यक बाहेकका सम्पूर्ण उद्योगधन्दा बन्दको अवस्थामा छन् । अत्यावश्यक केहि उद्योगहरु पनि १५ देखि २० प्रतिशत क्षमतामा चलिरहेका छन् भने कतिपय अत्यावश्यक उद्योग पनि कच्चा पदार्थको अभावका कारण पूर्ण रुपमा बन्द छन् ।
सुरक्षा प्रबन्ध मिलाएर उद्योग चलाउन सकिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारसँग अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । स्थानीय सरकारबाट स्वीकृति लिन नसकेपछि उद्योगीहरुले एक महिनादेखि पूर्ण रुपमा उद्योग कलकारखाना बन्द गरेर बसेका छन् ।
उद्योग व्यवसाय सञ्चालन नभएपछि उनीहरुले कर्जाको किस्ता तथा व्याज पनि बुझाउन सकेका छैनन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार चैत महिनामा करिब ५० देखि ६० अर्ब रुपैयाँ ब्याज उठ्न सकेन । पुसमा ब्याज तथा किस्ता नियमित रुपमा बुझाए ऋणीहरुले माघ, फागुन र चैत पहिलो हप्तासम्म नियमित रुपमा उद्योग व्यवसाय सञ्चालन गरिरहेका थिए । तर, पनि चैतमा १९ दिन उद्योग बन्द हुँदा उनीहरुले बैंकलाई तिर्नुपर्ने ब्याज तिर्न सकेनन ।
उनीहरुलाई गम्भीर असर परेको निश्कर्ष सहित केन्द्रीय बैंकले चैत महिनाको ब्याज, किस्तालगायतलाई असारसम्म पु¥याएको छ । तर, अहिले पनि उद्योग खुलाउने छाँटकाँट देखिएको छैन् । बन्द उद्योग खुलाउन राज्य र उद्योगीले पहल नगर्ने हो भने असारमा तिर्नुपर्ने सावाँ, ब्याज वा किस्ता कुनै पनि रकम उद्योगीले बैंकलाई बुझाउन नसक्ने उद्योगीहरु बताउँछन् ।
‘सुरक्षाको आवश्यक प्रवन्ध मिलाएर सरकारले उद्योग खोल्ने वातावरण बनाउनुपर्छ,’ उद्योगी वीरेन्द्र साह भन्छन्, ‘यसरी लामोसमयसम्म उद्योग बन्द गरिरहँदा आर्थिक गतिविधि नै ठप्प हुने र देश टाट पल्टिने अवस्था आउँछ ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा एनई ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठले सुरक्षाको प्रवन्ध मिलाएर उद्योग खोल्न चाहने उद्योगीलाई सहजीकरण गर्नुपर्ने बताए ।
‘उद्योगबाट उत्पादन नहुने वित्तिकै बजारमा सामग्रीको पनि अभाव हुन्छ । सामान अभाव हुने वित्तिकै कालोबजारी हुने, लुकाउने प्रवृत्ति बढ्छ’ उनी भन्छन्, ‘यसरी उद्योग बन्द गराउनु भनेको बजारमा अत्यावश्यक सामग्रीको अभाव हुनु हो ।’
महामारीकै रुपमा कोरोना भाइरस संक्रमण बढिरहेका मुलुकमा पनि उद्योगहरु निर्वाध रुपमा चलिरहेका छन् । ‘छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तानलगायतका देशमा उच्च सुरक्षा सतर्कतासहित उद्योग चलिरहेका छन् । तर, नेपालमा चैत ११ देश उद्योगहरु पूर्ण रुपमा बन्द छन्’ उद्योगी शाहले भने, ‘सुरक्षामा कुनै कमी हुन दिनु हुँदैन । उद्योगी पनि सुरक्षाको प्रत्याभूति दिलाएर उद्योग खोल्नुपर्छ ।’
अहिले अधिकांश उद्योगीले पनि उद्योग खोल्ने वातावरण बनाउन सरकारसँग माग गरिरहेका छन् । ‘कहिलेसम्म उद्योग बन्द गर्ने ? उद्योग बन्द गर्दैमा कोरोना संक्रमण रोकिन्छ ?’ गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले भने, ‘केन्द्रीय सरकारले तीन ओटै निकायसँग समन्वय गर्नुपर्छ र उद्योगीले पनि स्थानीय सरकारसँग कुरा गरेर उद्योग खोल्नुपर्छ ।’
नीजि क्षेत्रले पटक पटक सरकारसँग उद्योग खोल्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् । ‘सामाजिक दूरी कायम गरेर, कर्मचारीलाई एक दिन विराएर काममा बोलाएर उद्योगीहरु उद्योग सञ्चालन गर्न तयार छन्,’ नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने, ‘यसरी उद्योग धन्दा चल्न नदिने हो भने केही दिनमा आपूर्तिमा गम्भीर समस्या देखिन्छ ।’
अहिले पनि मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य सुचारु छ । तर, त्यहाँ सामग्री अभाव हुन थालिसकेको छ । यदि सरकारले तत्काल उद्योग खोल्ने वातावरण नबनाए यही आर्थिक वर्षमा सम्पन्न हुने आयोजना समेत पर धकेलिने सम्भावना भएको उद्योगीको भनाइ छ ।
एकातिर उद्योगीले दैनिक करोडौं रुपैयाँ गुमाइरहेका छन् भने अर्कोतिर बजारमा पनि सामग्रीको अभाव हुन थालेको छ । अहिले असर ऋणी पनि खराब ऋणीको सूचीमा पर्ने सम्भावना भएको उद्योगी साहले जानकारी दिए ।
कोरोना भाइरस रोक्न लकडाउन एक मात्रै विकल्प होइन । सामाजिक दूरी कायम गरेर पनि कोरोना भाइरसको संक्रमण रोक्न सकिने उनको भनाइ छ । त्यस विषयमा सरकारले सोचेर तत्काल उद्योग खोल्ने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।
नेपाल चेम्बर अर्फ कमर्सका सदस्य तथा उद्योगी सन्तोष पाण्डेका अनुसार भारतमा लाखौंका संख्यामा उद्योग छन्, ती पूर्ण रुपमा चलिरहेका छन् । बंगलादेशमा पनि उद्योग निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । नेपालमा मात्रै किन उद्योग बन्द गर्नुपर्यो ।
उद्योगीले सुरक्षाको प्रत्याभूति दिलाउने र सरकारले बेला बेलामा उद्योग–उद्योगमा गएर निरीक्षण गरेर उद्योग खोल्नुपर्ने पाण्डेको भनाइ छ ।
उद्योगसँगै ढुवानी पनि सुचारु
उद्योग बन्द भएसँगै ढुवानी पनि ठप्प भएको छ । सरकारले उद्योग र ढुवानीलाई सँगसँगै खुलाउनु पर्छ । उद्योग खोल्ने तर, ढुवानी नखुलाउने हो भने उत्पादित सामग्री गोदाममै थन्किने तथा भन्सारमा आएका कच्चा पदार्थ पनि ल्याउन नसकिने अवस्था आउने उद्योगी प्रवलजंग पाण्डे बताउँछन् । अहिले उद्योग र ढुवानीलाई एक साथ खोल्नुपर्ने उनको भनाइ छ ।
त्यसो हुने वित्तिकै बजार आपूर्ति र माग बराबरी भएर जान्छ र अर्थतन्त्र पनि चलायमान हुने उनको विश्वास छ ।