अहिले विश्वनै कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लडिरहेको छ । महामारीको रुपमा चिनको वुहानबाट फैलिएको यो भाइरस विश्वका अधिकाशं मुलुकमा पुगिसकेको छ भने लाखौ मानिसहरुको ज्यान लिइसकेको छ ।
नेपाल पनि कोरोना भाइरसबाट अछुतो रहेन । त्यसमा पनि विश्वव्यापी रुपमा फैलिएको भाइरसको कारण अधिकाशं मुलुक अहिले लकडाउनमा रहेका छन् । लकडाउनका कारण विभिन्न मुलुकमा सबै उद्योग, कलकारखानाहरु बन्द छन् । सेवा क्षेत्र पनि ठप्प छ ।
अहिले नेपालबाट विदेशमा काम गर्न जानेहरु पनि होटल र रेष्टुरेन्ट क्षेत्रको संख्या धेरै रहेको छ । निर्माण क्षेत्र पनि त्यस्तै संख्या छ । ती क्षेत्रहरु बन्द हुँदा नेपाली श्रमिकहरु मात्र हैन सबै देशका श्रमिकहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । विशेष गरेर मलेसियासहित खाडी मुलुकमा नेपालीहरु बढि रोजगारीका लागि गएका छन् । ती देशमा पनि कोरोनाको प्रभाव धेरै छ । जसको कारण धेरै नेपालीहरुले रोजगारी गुमाइरहेका छन् भने धेरैको गुम्ने अवस्थामा छ । यो बेला उनिहरु नेपाल फर्कन चाहना राखिरहेका छन् ।
विदेशीभूमिमा बेरोजगार भएर बस्नुभन्दा आफ्नै देशमा फर्कन चाहनेहरुको संख्या ठूलो मात्रामा छ । तर, उनिहरुलाई अहिलेकै अवस्थामा उद्धार गरेर नेपालमा राख्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न ठूलो हो । यो विषयमा सरकारले अहिलेसम्म आफ्नो आधिकारीक धारणा राखेको छैन । उनिहरुको बसोबास,खानपानदेखि उपचारको प्रवन्धसमेत सरकारले मिलाउन आवश्यक छ । अहिले धेरै नेपालीहरुमा भाइरसको संक्रमण देखिन थालेको छ । यसले गर्दा विदेशमा रहेका धेरै श्रमिकहरु त्रसित छन । एकातीर रोजगारी गुमेको पिडा छ भने अर्को तर्फ रोग लागी हालेमा उचित उपचार पाइन्छ की पाइदैन भन्ने पिडा पनि उनिहरुमा छन् ।
विदेशमा रहेका नेपालीहरु संक्रमित हुनु र मृत्यु हुनु पनि देशकै क्षति हो । सम्बन्धित देशले आप्रावासी कामदारलाई यो समयमा कस्तो व्यवहार गरिरहेको छ भनेर सरकार र सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगबाट निरिक्षण हुनु जरुरी छ ।
होटल, रेष्टुरेन्टमा काम गर्ने नेपाली एवंम विदेशीहरु अहिले सबैभन्दा बढि प्रभावित बनेका छन् । खाडी र मलेसिया लगायत युरोपसहित विश्वभरीनै सबै होटल र रेष्टुरेन्टहरु बन्द हुँदा त्यसमा कार्यरत श्रमिकहरु मारमा परेका छन् । नेपालबाट जाने श्रमिकहरु सेवा क्षेत्रमा सबैभन्दा बढी दुबईमा छन् । त्यहाँ रहेका नेपालीहरुमा सबैभन्दा बढी होटल र रेष्टुरेन्टमा काम गर्नेहरु प्रभावित भएका छन् ।
त्यसपछि खाडी र मलेसियामा पनि होटल र रेष्टुरेन्टहरुमा क्लिनिङ काममा गएकाहरु प्रभावित भएका छन् भने मलेसियाका टापुहरुमा रहेको क्यासिनोमा पनि धेरै नेपाली श्रमिकहरुले काम गर्दै आएका छन् । उनिहरु पनि अहिले समस्यामा परेका छन् । अहिले सबै होटल रेष्टुरेन्टहरु बन्द हुँदा उनिहरु काम नगरी बस्नु परेको अवस्था छ ।
होटल र क्लिनिङ क्षेत्रमा गएका नेपाली श्रमिकहरु विगत दुई तिन वर्षको अवधिमा कति हजार नेपालीहरु कुन कुन देशमा गएका छन् भन्ने वैदेशिक रोजगार विभागले तथ्यांक निकालेकै होला । ती तथ्यांकलाई हेरेर कुन देशमा कति श्रमिक छन् र ती मुलुकको दुतावाससँग समन्वय गरेर उनिहरु कुन अवस्थामा छ भन्ने बुझ्न आवश्यक छ । र उनिहरु मध्ये कतिलाई तत्कालै उद्धार गर्नुपर्ने वा कतिलाई खाने ठाउँ छैन, तर बस्ने ठाउँ छ भने त्यहाँ खानाको व्यवस्था गर्ने र खाने ठाउँ छ बस्ने ठाउँ छैन भने बस्ने ठाउँको तत्कालै व्यवस्था गरिदिनुपर्छ । किन की ती श्रमिकहरु त बेरोजगार भइसकेका छन् ।
हामीले विदेशबाट त्यहि कामदारले पठाएको रेमिट्यान्सले जीवन र अर्थतन्त्र धानेको समयमा रेमिट्यान्स पठाउने कामदारलाई सम्झने र सम्मान दिने यो सहि समय पनि हो ।
यस्तै विदेशमा निर्माण क्षेत्रमा काम गर्न धेरै नेपाली श्रमिकहरु गएका छन् । ती क्षेत्रमा काम गर्नहरु खासै प्रभावित भएका छैनन् । ठूला कम्पनीहरु ( विषेश गरी मलेसियामा) बन्द भएको छ । अहिले महंगो सवारीसाधान,गाडी, टिभि, फोन ,विलासीताको सामान बनाउने कम्पनीहरु बन्द भएका छन् । खाद्यसामाग्री उत्पादन गर्ने कम्पनीहरु केहि मात्रामा सञ्चालनमा छन् ।
विलासिताको सामानसँग जोडिएका कम्पनीहरु बन्द छन् भने उत्पादन मुलुक उद्योग पनि बन्द हुने अवस्थामा छ । यो बेला कति नेपालीहरु प्रभावित हुन्छन भन्ने हो ? यसका लागि हामी अहिलेदेखि नै तयारीमा लाग्नुपर्छ ।
वैदेशिक रोजगार विभागले यो तिन वर्ष भित्रमा म्यानपावरमार्फत कुन कुन देशमा गएको र कुन कुन क्षेत्रमा प्रभावित भएको कामदारको संख्या निकाल्नुपर्छ । सायद अहिले यो काम विभागले गरिराखेको छ भन्ने आशा गर्न सकिन्छ ।
अहिले दुई÷तीन वर्षको बिचमा करिब १५÷१६ लाख श्रमिकहरु मलेसिया र खाडीमा काम गर्न गएका छन् । त्यसमा व्यक्तिगत गएका र लुकेर बसेकाहरुको संख्या खोज्दै जाने हो भने २० लाखसम्म पुग्न सक्छ । विदेशमा लामो समयदेखि लुकेर बसेकाहरु पनि हजारौंको संख्यामा छन् ।
अहिले कतिपय रोजगारी गुमेकै कारण फर्कनुपर्ने अवस्थामा आएको छ भने कतिपय डर र त्रासको कारणले नेपाल फर्कन चाहनेहरुको संख्यामा पनि ठूलो छ । तर, अहिलेकै अवस्थामा ती सबैलाई उद्धार गरेर राख्नका लागि क्वारेन्टाइनको व्यवस्था कति छ भन्ने हो ? ती सबैलाई राख्न सक्ने क्षमता छ की छैन, त्यो पनि हेर्नुपर्छ ? अति समस्यामा परेका कामदारलाई प्राथमिकताका आधारमा उद्धार भने गर्न सकिन्छ ।
यूएईबाट यदि उद्धार नै गरेर ल्याउने हो भनेपनि पहिलो चरणमा होटल र रेष्टुरेन्टमा कार्यरतहरु नै १० देखी १५ हजार भन्दा माथिको संख्यामा रहेका छन् । यसलाई पनि कसरी सरकारले व्यवस्थापन गर्छ भन्ने हो । उनिहरु पनि निकै जटिल अवस्थामा रहेका छन् ।
समस्यामा परेका श्रमिकहरुलाई राहत र उद्धारका लागि वैदेशिक रोजगार प्रर्बद्धन बोर्ड (वैदेशिक रोजगार बोर्ड) मा रहेको ६ अर्बभन्दा बढि रुपैयाँ खर्च गर्न सकिन्छ । जुन पैसा महामारी, युद्ध वा अन्य कारणले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई समस्या भएमा तिनीहरुलाई कुटनीतिक नियोगमार्फत नेपाल फिर्ता ल्याउन प्रयोग गर्ने भन्ने उद्देश्यले कोष खडा गरिएको हो । त्यसैले अहिलेपनि विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिएकोले सरकारले चाहेमा सो कोषको रकम प्रयोग गरेर ती श्रमिकहरुलाई आवश्यकता अनुसार उद्धार गर्ने र दुतावासको समन्वयमा राहत पठाउने काम तत्कालै गर्न सक्छ । यदि सो रकम पुगेन भने सरकारले कति खर्च गर्ने र वैदेशिक रोजगार व्यवसायीहरुले पनि आवश्यकता अनुसार गर्नुपर्ने भूमिकाहरु, समन्वयका कामहरु गरेर अघि बढनुपर्छ ।
श्रमिकलाई खान बस्न र उचित उपचारको व्यवस्था गर्नुपर्छ । खाना र बस्नकै समस्या भएकाहरुलाई भने तत्कालै उद्धार गरेर नेपालमा ल्याउनुपर्छ । दुतावासले पनि अहिले सक्रिय रुपमा काम गरिरहेको छैन । धेरै कामदारहरुले अहिले सामाजिक संजाल मार्फत दुतावासको विरोध गरिरहेका छन् । सायद दुतावासमा सिमित कर्मचारीहरु मात्र भएकोले पनि उनिहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको हुन सक्छ । त्यसैले सरकारले तत्कालै ती दुतावासहरुमा कर्मचारीहरु थप गर्नुपर्छ ।
अब त समस्यामा परेका श्रमिकहरुकोमा पुग्नुपर्छ । खाना र बस्नको व्यवस्था गर्न दौडधुप गर्नुपर्छ । त्यहि भएर पनि सरकारले दूतावासमा तत्कालै कर्मचारी र श्रोतसाधान थपेर प्रभावकारी कदम चाल्न आवश्यक छ । सबै दूतावासमा कर्मचारी पठाउनुपर्छ भन्ने पनि छैन । विषेश गरेर मलेसिया सहित खाडीका ७ मुलुकमा रहेका दूतावासमा कर्मचारी थपेर सरकारको भूमिका बलियो बनाउन जरुरी छ । आखीरमा तीनै श्रमिक बाँचे भने पो नेपालले रेमिट्यान्स पाउने हो । अहिले नेपालको अर्थतन्त्र जोगाएको त तीनै श्रमिकहरुले हुन । त्यसैले अहिलेसम्मको अवस्था हेर्दा तालुकदार मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यस मातहतका निकायहरु गम्भिर भएर लागेको देखिदैन । यसमा सरकारले विषेश ध्यान जान आवश्यक छ ।
कोरोना भाइरस विश्वव्यापी रुपमा नियन्त्रणमा आएको ८ ÷१० महिनापछि केहि रोजगारीका डिमाण्डहरु आउन सक्ला । तर ,त्यो अवधिभर नयाँ कामदार लैजाने अवस्थामा कुनैपनि देश हुन सक्दैन् । त्यो बेलासम्म ९० प्रतिशत वैदेशिक रोजगारका व्यवसायहरु सबै बन्द अवस्थामा हुन्छन भने कुनै कुनै देशका कम्पनीहरुले तत्कालै सम्पन्न गर्नुपर्ने निर्माणका क्षेत्रहरु छन भने त्यहाँ फाट्टफुट्ट श्रमिकहरु लैजान सक्छन् ।
वैदेशिक रोजगार सुस्त भएपछि मुलुकभित्र आन्तरिक रोजगार बढाउन र त्यसलाई योजनासहित अगाडि बढाउन म्यानपावर व्यवसायीलाई सरकारले प्रयोग गर्नुपर्छ । देशभित्रै कृषि, निर्माण, होटललगायत विभिन्न क्षेत्रमा कामदार आपूर्ति गर्न म्यानपावर व्यवसायीमार्फत आउटसोर्सिङ गर्ने हो भने व्यवसायीलाई पनि राहत हुने देखिन्छ ।
लेखक, वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हुन् ।