बीबीसी । दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो।
सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ।आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ।
कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो।
त्यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७०० पुगेको छ । २३४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो।
कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो।
राष्ट्रपति मुन जेइनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड १९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए।
अब गिर्जाघर, मदिरालय र व्यायामशालाहरू खुल्नेछन्। तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ।
यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ।
व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ।उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ। एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।