काठमाडौं । कोरोना भाइरसले खाडी मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएपछि त्यहाँ काम गर्ने नेपाली मजदुरले समेत मासिक तलब पाउन छाडेका छन् ।
कोरोना भाइरसका कारण खाडी तथा मलेसियाको अर्थतन्त्र सुस्त भएपछि त्यसको असर कामदारमाथि पनि परेको हो । कतारसहितका केही मुलुकले आफ्ना कामदार नेपाल फिर्ता लैजान यस अघि नै नेपाल सरकारलाई आग्रह समेत गरिसकेको छ ।
अहिले दुवई, कतार साउदी अरबलगायतका देशमा काम गर्ने कामदारले पारिश्रमिक नपाएको श्रमिकहरुले सम्वन्धित देशमा रहेका नेपाली दूतावासलाई जानकारी गराएका छन् । ‘कम्पनीले तलब नदिएपछि खान बस्नकै समस्या समेत हुन थालेको जानकारी आउन थालेको छ,’ एक राजदूतले भने, ‘कतिपय कम्पनीमा काम गर्ने मजदुर आफैले खाने बस्ने व्यवस्था गर्दै आएका थिए । ती कामदारालाई कम्पनीले तलब नदिएपछि अप्ठयारो स्थिति आएको हो ।’
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार कामदारले तलब नपाएको भन्ने जानकारी नेपाल सरकारलाई पनि आएको र यस विषयमा सम्बन्धित देशका प्रमुख वा समकक्षीसँग कुराकानी भइरहेको छ ।
‘खासगरी खाडी मुलुकमा काम गर्ने कामदारलाई कम्पनीले पारिश्रमिक नदिएको भन्ने गुनासो दूतावासमार्फत सरकारलाई जानकारी भएको छ,’ उनले भने, ‘त्यही भएर उच्च सरकारी तहमा कुरा भइरहेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेका बेला त्यहाँबाट कामदार ल्याउन सकिने अवस्था छैन । बरु तत् तत् देशमा काम गर्ने कामदारलाई खान र बस्नको व्यवस्था मिलाइदिन त्यहाँको सरकारसँग आग्रह भइरहेको छ ।’
नेपालबाट लाखौंको संख्यामा नेपाली कामदार खाडी मुलुकमा काम गरिरहेका छन् । ती कामदारलाई तत्काल नेपाल ल्याउन सम्भव नभएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । नेपाली कामदारले कम्तिमा भोकै रात विताउन नपरोस्, भनेर अहिले सरकारले विशेष सक्रियता देखाएको उनको भनाइ छ ।
खाडी मुलुकले तेल उत्पादनमा ठूलो कटौती गरेको, उत्पादनमुलक उद्योग बन्द भएकाले पनि त्यहाँ काम गर्ने कामदारलाई अप्ठयारो परेको हो । तर, अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्ने कामदारलाई भने कुनै अप्ठयारो नभएको परारष्ट्र मन्त्रालयले जनाएको छ ।