काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर फर्केका लागि नेपालमै रोजगारी सिर्जना गर्ने भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले वैदेशिक रोजगारीको अवसर खुम्चिने अवस्था आएपछि सरकारले कृषि क्षेत्रमा रोजगारी सिर्जनाका तयारी गरेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिमा रोजगारी सिर्जना गर्ने योजना ल्याउने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई कृषिमा लगाउने बताएका छन । उनका अनुसार सरकारले खेतीयोग्य जमिनको उपलब्ध गराउनुका साथै यसका लागि आवश्यक पुँजी, प्रविधि र बजारको व्यवस्था सरकारले मिलाउने भएको छ ।
सरकारले ल्याएको भुमि बैंकको अवधारणाअनुसार जमिन भाडामा लिएर खेती गर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्न लागेको हो । स्वरोजगारीमा जानेहरुलाई आधुनिक खेतीमा लैजान अरु व्यवसायीहरुलाई जस्तै सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने, प्रविधि पनि दिने सरकारको योजना छ ।
यस्तै ज्यालामा काम गर्नेलाई सार्वजनिक निर्माणका क्षेत्रमा सहभागी गराउनुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि कामदारलाई खटाउने भएको छ । ‘मजदुर आफुले चाहेको जस्तो काम नभेटिन सक्छ । तर, श्रमको अवसर सिर्जना गर्नु कुराहरुमा सरकारले बजेटबाट अघि बढाउँछ’, अर्थमन्त्री खतिवडाले भने ।
‘श्रमिकको अभावमा धेरै काम गर्न सकिएन भनेका छौं । अहिले यो अवसर पनि हो । यसलाई उपयोग गर्न पनि सक्नुपर्छ । यसमा चुनौतिसहितको अवसर मैले देखेको छु’ उनले भने ।
पेट्रोलियममा आधारित अर्थतन्त्र भएका खाडी मुलुकहरुको आर्थिक वृद्धि खुम्चिने देखिएको छ । यसबाट नेपाली कामदारले रोजगारीका अवसर र बढी तलव पाउने संभावना कम भएको उनको भनाई छ ।
कोरोना भाइरस महामारीले विश्व अर्थतन्त्रमा ठुलो असर गरेकाल केही समय वैदेशिक रोजगारीको अवसर खुम्चिने भएपछि सरकारले श्रमिकलाई कृषिमा लैजाने तयारी गरेको हो ।
वैदेशिक रोजगारीका कारण ग्रामीण क्षेत्रमा खेतियोग्य जमिन बाँझो छ । रेमिट्यान्सले कृषिको उत्पादकत्व घटाएको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सका ९० प्रतिशत उपभोगमा मात्र खर्च हुने गरेका छ । कोरोना महामारीले रेमिट्यान्स आप्रवाहमा भारी गिरावट आउने देखिएको छ ।