बीबीसी । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या थुप्रै सातासम्म ३ हजार ३०० को वरपर रहेकोमा आज त्यो ह्वात्तै बढेर ४ हजार ६०० पुगेको छ।
यस महामारी सुरु भएको वुहान सहरमा झण्डै ५० प्रतिशतले मृत्यु हुनेको सङ्ख्या बढेको पाइएको हो। अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १ हजार २९० मृत्युका घटना पुष्टि गरिएको हो।
संशय
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको तथ्याङ्कमा संशय व्यक्त गरेको पाइएको थियो।
नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीहरूले यथार्थ विवरणलाई कतै नलुकाइएको बताएका छन्।
सरकारी पत्रिका चाइना डेलीले वुहान शहरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताइएको छ।
वुहानका १ करोड १० लाख बासिन्दाहरूले हालै मात्र खुकुलो गरिएको कठोर लकडाउनमा ११ साता बिताएका थिए।
अर्थतन्त्रमा ६.८ प्रतिशत ह्रास
यसैबीच चीनको अर्थतन्त्र थुप्रै दशकमा पहिलोपटक खस्किएको त्यहाँको पहिलो चौमासिक विवरणले देखाएको छ। सन् १९९२ देखि चौमासिक विवरण राख्न थालेयता कै यो अर्थतन्त्र कमजोर भएको तथ्याङ्क हो।
महामारीकै कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ६.८ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जीडिपी) खुम्चिएको शुक्रवार सार्वजनिक सरकारी विवरणले जनाएको छ।
भाइरसका कारण चीनभित्रै थुप्रै कारखाना तथा व्यावसाय बन्द भएका छन्। बिहीवार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेको एक प्रक्षेपणमा चीनले आर्थिक मन्दी छल्ने बताइए पनि यो वर्ष उसको अर्थतन्त्रको वृद्धिदर भने १.२ प्रतिशतमा सीमित हुने बताइएको छ। चिनियाँ अर्थतन्त्रमा आएको ह्रासले उसँग जोडिएका अन्य थुप्रै देशलाई समेत चिन्तित बनाएको छ।