कोरोना भाइरस (कोभिड १९) ले विश्व नै ठप्प हुँदा आर्थिक संरचना नै संकुचन हुन पुगेको छ । विश्वका शक्तिशाली राष्ट्रदेखि हाम्रो जस्तो मुलुक नेपाल पनि कोरोनाको शिकार बनेको छ ।
आजका दिनसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मानवीय क्षति नभएका कारणले हामी शक्तिशाली राष्ट्रहरुभन्दा सुरक्षित देखिएका छौं । सुरक्षित देखिनुुमा हामीले पालना गरेका लकडाउन पनि हो ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख १५ सम्म हुने घोषणा भैसकेको छ । त्यसपछि पनि लकडाउन खुल्छ या लम्बिन्छ अहिले कसैले पनि अनुमान गर्न सकिन्न ।
लकडाउनले मानिसको जनजीवनसहित सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प पारेको छ । सवारीसाधन नचल्दा ७ दिन १० दिनको बाटो हिडेर घर पुग्ने मजदुर र मध्यवर्गिय होस् या महाकाली पारि भारतमै अड्किएका नेपाली नागरिक हुन् । सबैभन्दा ठूलो असर यहि वर्गलाई परेको छ ।
अर्थतन्त्र बलियो भएका मुलुकहरुले लकडाउन वा संकटकाल घोषणा गरेर कोरोनाविरुद्ध लागिपरिरहेका छन् । ती मुलुकहरुले आर्थिक प्याकेज र सहायता घोषणा पनि गरेका छन् ।
उनीहरुसँग आर्थिक ब्याकअप पनि छ । तर हाम्रोजस्तो मुलुकमा सरकारले न गतिलो आर्थिक प्याकेज घोषणा गरेको छ, न त कुनै अर्काे विकल्पको बारेमा सोचेको छ ।
उद्योग, कलकारखाना ठप्प भएर उत्पादन भएको छैन । बजारमा उपभोग्य बस्तुको अभाव बढ्दै गएको अवस्था छ । यो अवस्थाले सबैभन्दा नराम्रोसँग पिरोल्ने भनेको हिडेरै घर पुग्ने र महाकालीमा पौडिएर नेपाल छिर्ने खोज्ने वर्गलाई नै हो ।
कोरोनाको असर कहिले अन्त्य हुन्छ, त्यो कसैलाई थाहा छैन । हाम्रो दैनिकी कहिले सहज रुपमा सुचारु हुन्छ, त्यो पनि थाहा छैन । वैशाख १५ सम्म नै कोरानोको असर समाप्त हुने पनि होइन । सरकारले वैशाख १५ पछि लकडाउन नथप्दा पनि हामी अहिलेजत्तिकै सजग भएर दैनिक काममा फर्किनुपर्छ ।
हामी कहिलेसम्म बन्द अवस्थामा बस्ने ? बन्द खुलेपछि कसरी जाने त्यसको पनि स्पष्ट योजना छैन । अब हामीले यसरी नै आफ्नो उत्पादन र विकास निर्माणलाई कति दिनसम्म रोक्ने ? हामीले कुनै न कुनै बेला महसुस गर्छाैं कि कोरोनाको बीचमा पनि सुरक्षित रहि हाम्रो दिनचर्या सुचारु गर्नुपर्छ ।
अहिले सरकारले कोरोना भाइरसको परीक्षणका लागि दायरा फराकिलो बनाएको छ । संक्रमितहरु लुकिनुभन्दा देखिनु राम्रो हो । कम्तीमा त्यसले भयावह स्थिती ल्याउँदैन । र, परीक्षणको दायरालाई अझ फराकिलो बनाएर लैजाउनुपर्छ ।
सरकारको परीक्षण, उपचार र निगरानीमा हामीले उत्पादनमुलुक, कृषि क्षेत्र र विकास निर्माणका कामहरुलाई पूर्ण सुरक्षाको मादण्ड पुरा गरि सुचारु गर्नुपर्ने हुन्छ ।
अनलाइन बैकिङ, अनलाइन सपिङ र अनलाइन शिक्षामा काम सुरु गरेर सबै कारोबारलाई विस्तारै अनलाइन गर्दै लैजाने हो भने दैनिकी सहज हुन्छ । सरकारी सेवालाई द्रुत गतिमा अनलाइनमा विस्तार गर्नुपर्ने देखिन्छ ।
सम्भव भएसम्मका कामहरुलाई ‘वर्क फ्रम होम’ को अवधारणालाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने हुन्छ । वर्क फ्रम होमको एउटा ठूलो उदाहरण भारतको लिज्जड पापड हो । धेरै वर्षदेखि घरघरमा गृहिणीले निश्चित मापदण्ड पुरा गरि पापड बनाएर कम्पनीमा पुराइरहेका छन् ।
उत्पादनमुलुक उद्योग ठप्प भएर बजारमा सामान पुग्दैन त्यसले महँगीमात्र होइन भोकमरी पनि ल्याउँछ । र, अन्तत अपराध जन्माउँछ । फेरी त्यो कोरोना भाइरसको संक्रमण भन्दा पनि भयानक हुन्छ ।
सरकारले लकडाउनलाई खुकुलो बनाउँदै केहि महिना सभासम्मेलन र धेरै जमघट हुने कार्यक्रम पूर्ण रुपमा रोक लगाउनुपर्छ । व्यक्तिको आवजजावतलाई सीमा नाकामा रोक लगाउनुका साथै सबै अन्तर्राष्ट्रिय उडानमा निश्चित समयको लागि बन्देज लगाउनु आवश्यक देखिन्छ । भारतसँगको खुल्ला सीमामा व्यक्तिको आवत जावतलाई रोक लगाएर त्यहाँ सेना र प्रहरी तैनाथ गर्नुपर्छ ।
भोलि हामी यहि बाटोमा जानु नै छ भने आजैदेखि यसको विकल्प प्रयोग गर्दै आफ्नो दैनिकी सुचारु गर्नुपर्छ । लकडाउन जति नै बढाए पनि समस्या ज्यूकात्यूँ हुन्छ । जबसम्म संसारमा यस महामारीलाई रोक्ने भाक्सिनको विकास हुँदैन ।
भाक्सिन नै विकास भैहाले पनि त्यो सुरक्षित छ कि छैन भनेर जनस्वास्थ्यको रुपमा परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणको नतिजा आजको भोली आउने होइन । त्यसैले यो केहि दिन वा केहि महिनामै संभव देखिदैन ।
यहाँ त महामारी पनि नरोकिने, उत्पादन र विकास रोकिने साथै बेरोजगारी र भोकमरी बढ्ने अवस्थाको सिर्जना हुने देखिन्छ । त्यसैले एउटै विकल्प भनेको यस महामारीको बिचमा पनि सुरक्षित रहि आफ्नो दैनिकीलाई विस्तारै सुचारु गर्दै जाने हो ।
सरकारले दुईसाता अघिमात्र लकडाउन वा यस्तै कुनै एक्सन लिएको भए कोरोनाको प्रकोपमा नेपाल सायदै हुने थिएन होला । संसारभरि कोरोनाले मान्छे मरिरहँदा हामीकहाँ एकजना पनि संक्रमित थिएनन् । अहिले संक्रमितको संख्या १६ पुगिसकेको छ । त्यसैले ढिलो निर्णय गर्नुभन्दा छिटो एक्सन लिनु बुद्धिमता हो ।