काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हाल्दै गर्दा भनेका थिए, वा ! नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) भन्ने बनाउछु । उनको यो भनाईलाई धेरैले सकारात्मक रुपमा लिए भने केहिले आलोचना पनि गरे ।
तर, उनले आफ्नो अभियान अगाडी बढाउने अठोटमै राखे । त्यसको केहि सातापछि निगम सुधारको लागि भन्दै पूर्व पर्यटन सचिव हालका नवनियुक्त कार्यकारी अध्यक्ष सुसिल घिमिरेको संयोजकत्वमा २०७६ साउन २२ गते एक महिना भित्र सुझाव दिने गरी कार्यदल बनाए ।
कार्यदललाई निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवंम् व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने अधिकारी दिइएको थियो ।
कार्यदल बनाइरहदा मन्त्री भट्टराईको कामको खुलेर प्रशंसा भयो । किन की लामो समय देखी निगम घाटामा गइरहेको र अस्तव्यस्त भइरहेको समाचारहरु सार्वजनिक भइरहेको थियो । हुन त, स्वर्गीय पर्यटन मन्त्री रविन्द्र अधिकारीले पनि निगम सुधारका लागि केहि काम भने नगरेका हैनन् । तर, उनले नचाहदा नचाहदै प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा तत्कालीन महाप्रवन्धक सुगतरत्न कंशाकारको अधिकार खोसेर कार्यकारी अधिकार दिएर मदन खरेललाई अध्यक्षमा ल्याइयो ।
त्यसपछि पनि अधिकारीलाई वाइडबडी जहाज खरिदमा घोटाला गरेको आरोप लगाउँदै निर्धक्कसाथ काम अगाडी बढाउन दिइएन । दुर्घटनामा उनको निधन भएपछि मन्त्रीको रुपमा भट्टराई आए ।
मन्त्री भट्टराइले निगमको सुधारको सुझाव संकलन गरेर मन्त्रालयलाई दिएका व्यक्तिलाई नै चाबी बुझाइदिएका छन् । कार्यदलले मन्त्री भट्टराईलाई ५० पेजको सुझाव दिएका थिए । तत्कालीन अवस्थामा कार्यदलको सुझाव लिइयो तर, सुधार भएन भन्ने आलोचना समेत भएको थियो । तर, अहिले सुझाव दिने व्यक्तिलाई नै कार्यकारी अधिकार दिएर निगममा भित्र््याएपछि अव कसरी अगाडी बढ्छ भन्ने सबै चनाखो भएका छन् ।
यसैबीच नवनियुक्त अध्यक्ष घिमिरेले आफ्नो संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझावको कार्यन्वयनलाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएका छन् । ‘अहिलेको मूख्य समस्या भनेको कोरोनाले पारेको प्रभावबाट निगमलाई कसरी अगाडी बढाउने भन्ने नै हो’ अध्यक्ष घिमिरेले भने ‘त्यसपछि सरकारको अपेक्षा र सुझाव अनुसार नै अघि बढ्ने हो ।’
तर, उनले भनेजस्तै निगममा त्यति सहज भने छैन । यस अघि पूर्व अध्यक्ष खरेलले ४ वर्षका लागि नियुक्ती लिएर आएपनि १४ महिनामै राजिनामा दिएर हिडेका थिए । निगम भित्र विभिन्न गुट उपगुटहरु रहेका छन् । ती गुट उपगुटलाई चिरेर अगाडी बढ्न उनलाई धेरै चुनौती रहेको निगमकै एक अधिकारी बताउछन् । ‘खरेल सरले पनि धेरै राम्रा कामहरु गर्न लाग्नु भएको थियो’ ती अधिकारीले भने ‘तर विभिन्न गुटकै कारण समस्यामा परेर जानुभयो ।’
निगममा विषेश गरेर अप्रेशन, इन्जीनियरीङ र प्रशासनिक क्षेत्रमा गुटहरु सक्रिय छन् । तीनै गुटलाई कसरी व्यवस्थापन र परिचालन गर्छन् सोहि आधारमा प्रमुख सफल र असफल हुनेछन् ।
को हुन् घिमिरे ?
घिमिरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको रुपमा २०६९ पुस २७ गतेदेखि २०७१ साउन ८ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । घिमिरे यस अवधिमा निगमको संचालक समितिको अध्यक्ष थिए । घिमिरले सचिवको रुपमा सञ्चार मन्त्रालय, भूमिसुधार, स्थानीय बिकास, युवा तथा खेलकुद र महालेखा नियन्त्रकको सफल जिम्मेवारी सम्हालेका थिए । सचिवबाट अवकाश पाएपछि संयुक्त राष्ट्र संघको उच्च अधिकारीको भूमिकामा रहेर करिब २०÷२५ मुलुकका कर्मचारीहरुसँग समन्वय गरेर काम गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रायलको जिम्मेवारी सम्हाल्न साथ घिमिरेलाई ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ को संयोजक बनाएका थिए । मन्त्री भट्टराईले नेपाल वायुसेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन घिमिरेको संयोजकत्वमा २२ साउन २०७६ मा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए । घिमिरको कार्यदलले १ असोज २०७६ मा मन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएका थिए ।
घिमिरकोे कार्यदलले निगमको सुधारको लागि तत्कालीन र दिर्घकालीन रुपमा गर्नु पर्ने कामको सूची बनाएर सुझाव प्रस्तुत गरेको थियो । तत्कालीन भन्नाले तुरुन्त शुरु गरेर एक वर्ष भित्र सक्नु पर्ने र दिर्घकालीन भन्नाले ३ महिना भित्र शुरु गरेर एक वर्ष वा सोभन्दा बढी समय लाग्ने गरी वर्गिकरण गरेर सुझाव दिएको छ ।
निगमको पुनसंरचना, व्यवस्थापकीय पुनसंरचना, संस्थागत पुनसंरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव श्रोत व्यवस्थापन लगायतको बिषयमा घिमिरेको कार्यदलले दिएको सुझावबाट मन्त्री भट्टराई प्रभावित छन् । निगमको सुधारको लागि निगमको बारेमा जानकारलाई नेतृत्व दिदा सुधार ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।