काठमाडौं । मुलुक लकडाउनमा छ । सर्वसाधारणदेखि ठूला व्यवसायीहरु अहिले घरमै थुनिएका छन् । कोरोना भाइरसप्रति सजग हुँदै घरमा बसेका प्रायःले समय बिताउन विविध क्रियाकलाप गरिरहेका छन् । अर्बपति विनोद चौधरीले पनि घरमै परिवारसँग बसेर आफ्नो फूर्सदिलो समय उपयोग गरिरहेका छन् ।
लकडाउन नभएको भए प्राय विदेश र प्लेनमा हुने चौधरीले कोरोनाको कहर सुरु भएको सातादिनभित्र प्रदेश र स्थानिय सरकारसँग मिलेर मुलुकका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री पु¥याए । स्वास्थ्य सामाग्री पुराउने क्रम अझै जारी छ । चौधरी फाउन्डेसनको व्यवस्थापनका काम भैरहँदा चौधरी भने लकडाउनको पालना गर्दै घरमा आफ्नो पुरानो सौख गायनलाई पुरा गरिरहेका छन् ।
घरमा रहेका चौधरीले परिवारसँग र एक्लै गीत गुनगुनाउने गर्छन् । बेला बेलामा घरमै गायक र संगीतकारलाई बोलाएर ‘सांगीतिक’ बन्ने चौधरीले आफ्नो पुरानो सौखलाई निरन्तरता दिएको झलक उनकै छोरा निर्वाण चौधरीले गत साता सोसल मिडियामार्फत सार्वजनिक गरे ।
निर्वाणले टर्किका प्रसिद्ध संगीतकार पाउल डोयरसँग चौधरीले गाएको गीत सार्वजनिक गरेका हुन् । टर्कि र नेपाली भाषामा फरक फरक गीतलाई एउटै मेलोडीमा उतारिएको छ । दुई फरक गायक, फरक भाषामा मिलेर गाइएको गीतमा चौधरीले नेपाली गीत असारै महिनामालाई कभरमा उतारेका छन् ।
‘म गीतसंगीतलाई कहिल्यै पनि भूल्न सक्दिन,’ चौधरीले भने । ‘मेरो ४० वर्ष पुरानो सौख हो, त्यसकै निरन्तरता हो ट्रकिस संगीतकारसँग मिलेर गाएको गीत ।’
‘अहिले नेपालमात्र होइन विश्व नै लकडाउन छ, धेरैलाई तनाव र प्रेसर छ, यस्तो बेला आफूलाई मन लागेको गतिविधि गर्नुपर्छ,’ उनले सुझाए । ‘म केहि समय अघि ट्रकि जाँदा त्यहाँको प्रसिद्ध संगीतकार पाउलसँग भेट्ने मौका जुर्यो र त्यहि भेटमा हामीले गीत रेकर्ड गरायौं,’ उनले भने ।
चौधरी, एक कुशल गायक हुन् । यो विषयमा धेरैलाई जानकारी नहुन पनि सक्छ । उद्योगी, व्यवसायी, सांसददेखी लेखकसम्मको परिचय बनाएका चौधरीको गायन धेरै पुरानो शौख हो ।
एउटा निभ्न लागेको बत्तिको
प्रकाश मधुरो मधुरो मधुरो ।
आउँ बस मेरो छेउमा,
सुनसान रात छ ।
प्रतिक्षाका पलहरु वितेर गए,
प्रतिक्षाका बन्धनहरु चुडिदैं गए ।
नशालु तरङ्गमा, बैशालु उमङ्गमा
रंगिन देउ मायाको इन्द्रेणीको रङ्गमा ।।।
यी माथिका हरफहरु करिब ४० वर्ष अघि वरिष्ठ कलाकार नीर शाहको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र सुभबहादुरको संगीतमा चौधरीले रेकर्ड गराएका थिए । उनको यो गीत श्री रत्न रेकडिङ्ग कर्पाेरेशनले उत्पादन गरेको थियो ।
उनको पहिलो गीत उनी १९ वर्ष हुँदा रेकर्ड भएको थियो । गीतको बोल थियो – ‘माया जिन्दगीको अभिन्न अंग हो, लाउनु र नलगाउनु आफ्नो – आफ्नो ढंग हो’ ।
पहिलो गीतबाट रेस्पोन्स पाउन थालेपछि चौधरीले दोस्रो गीत रेकर्ड गराए, ‘मेरा लाखलाख सपनाहरु’ विश्व बल्लभको रचनामा यो गीतलाई शम्भुजितले संगीत दिएका थिए ।
चौधरीको तेस्रो गीतले भने त्यो बेला खुबै चर्चा पायो । गीत थियो – ‘एकै नजरमा माया बस्यो हैं लुकिछिपी हेरिदिनाले’ । यो गीत यति धेरै चल्यो कि त्यसपछि धेरै गायक गायिकाले रेकर्ड ने गरे ।
गायनमा सोखिन हँुदाहँुदै उनले आफ्नो गायन क्षेत्रलाई व्यवसायीक रुपमा भने लगेनन् । त्यहि कारणले पछिल्लो पुस्ताका धेरैलाई उनि कलाकार हुन भन्ने जानकारी पनि पाएनन् । तर, निर्वाणले टर्किस संगीतकारसँग ‘डुअल मासअप’ गीत सोसल मिडियामा सार्वजनिक गरेपछि पछिल्लो पुस्ताका माझ चौधरीको गायक चिनारी फेरि छायो ।
स्टेजमा समेत गाएका चौधरीले भारतमा गएर नयाँ ४ वटा गीत रेकर्ड गराए एल्बम नै निकाले । नाम राखे – नेप्लिज् मोर्डन सङ ।
चौधरीका केहि समकक्षीहरुलाई भने उनको स्वरको जादुको विषयमा राम्रो सँग ज्ञान छ । चौधरीले फुर्सदका समयमा आफुलाई मन पर्ने गीतहरु गाउने गर्थे । अहिलेको जस्ता आधुनिक रेकर्डिङ स्टुडियो र सञ्चारमाध्यमहरु नभएकै कारण उनको गीतहरु धेरैले सुन्न पाएनन् ।
उनको केहि गीत रेकर्ड हुँदा रेडियो नेपालमा कार्यरत पूर्व कर्मचारी हालका सफल पर्यटन व्यवसायी विनायक शाहका अनुसार उनको गीतसंगीतमा धेरै नै रुची रहेको बताउँछन् ।
‘उहाँको गीतसंगीतमा अत्याधिक रुचि थियो त्यो बेला उहँले धेरै गायक तथा संगीतकारहरुका पनि संगत गर्नुभयो,’ उनले भने । पछि आफ्नो व्यापार व्यवसायलाइ विस्तार गर्न व्यस्त हुन थालेपछि गायन क्षेत्रलाई केहि टाढा राखेको हुन सक्ने शाह बताउँछन् । उनले रेकर्ड गरेको सो गीत अहिले पनि आफूसँग सुरक्षित रहेको शाह बताउँछन् ।
अप्रिल १४, १९५५ मा जन्मेका चौधरी मंगलबार (आज) ६५ वर्षमा टेके । जन्मदिनमा परिवारसँगै रहेका चौधरीले आज पनि आफ्ना पुरानो धुनहरु गुनगुनाए ।
ह्याप्पी बर्थडे गायक विनोद चौधरी ।