काठमाडौं । कोरोना भाइरसको प्रभावपछि ग्राउण्डेड भएका हेलिकप्टर कम्पनीहरुले कमचारीलाई बेतलवी फोर्स लिभ दिने तयारी गरेको छ ।
यस अघि वायूसेवा सञ्चालक संघले निर्णय गरेर २५ प्रतिशत तलव दिने निर्णय गरेको थियो । तर, अहिले हेलिकप्टर कम्पनीहरुले फोर्स लिभ दिन लागिरहेका हुन् ।
भाइरसको प्रभाव विश्वभर फैलिदै गएको र नेपालको पर्यटन क्षेत्र अवको करिब २ बर्ष अस्तव्यस्त रहने आकंलन गर्दै कम्पनीहरुले कर्मचारीहरुको संख्या कटौती गरेर फोर्स लिभ दिन लागेका हुन् । यसका लागि कम्पनीका सञ्चालक देखी त्यहाँ कार्यरत कर्मचारीहरुले समेत सहमती जनाइसकेका छन् ।
अहिले १० वटा हेलिकप्टर कम्पनीहरुमा ७ सय भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । वायुसेवा सञ्चालक संघका प्रवक्ता एवंम हेलि एभरेष्टका संञ्चालक योगराज कडेलले फोर्स लिभका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
‘भाइरसको प्रभाव हेलिकप्टरमा मात्र हैन, सिंगो क्षेत्रनै प्रभावीत भएकोले बाध्य भएर कर्मचारीहरुलाई फोर्स लिभ दिनु पर्ने अवस्था आएको हो’ उनले भने ।
माउण्टेन हेलिकप्टरका महाप्रबन्धक दिल वलीले कर्मचारीको संख्या घटाउन लागिएको जानकारी दिए । भाइरसको प्रभावले हेलिकप्टरहरुलाई ग्राउण्डेड गरिएको अवस्थामा कम्पनीले कर्मचारीको संख्या घटाएर सानो आकारको बनाउन लागेको उनले बताए ।
‘अत्यावश्यक बाहेक अन्य कर्मचारीलाई फोर्स लिभ दिन लागेका छौं’ वलीले भने ‘आवश्यकता अनुसार प्राथमिकतामा राखेर उहाँहरुलाई पछि बोलाउने छौ ।’ कम्पनी सञ्चालनको खर्चनै धान्न नसक्ने अवस्था आएकोले बाध्य भएर कर्मचारी कटौती गर्नुपर्ने बेला आएको उनको जिकिर छ ।
एयर डाइनेष्टीका सञ्चालक पवित्राकुमार कार्कीले आफ्नो कम्पनीमा रहेका ५ जना विदेशी पाइलट मध्ये ४ जनालाई घरमा पठाइसकेको जानकारी दिए । उनले अहिलेपनि अधिकाशं कर्मचारीहरु विदामै रहेको र निश्चित तलब खुवाउदै आएको बताए ।
अवस्था सामान्य हुन केही समय लाग्ने हेलिकप्टरको व्यापार सुरु हुन अझै लामो समय लाग्ने भएकोले केहि कर्मचारीलाई फोर्स लिभमा पठाउने विषयमा छलफल भइरहेको बताए ।
‘हेलिकप्टरले राम्रो व्यापार गर्दा सबैलाई खुसी बनाएर तलव खुवाएका थियौ’ सञ्चालक कार्कीले भने ‘अहिले अवस्था फेरीएको छ,सबै क्षेत्र डामाडोल भएकोले बाध्य भएर कर्मचारी विदाई गनुपर्ने अवस्था आउन लागेको उनको भनाई छ । अहिलेनै निर्णय भएको छैन,तर बाध्य हुन सक्छौं ।’
कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले कर्मचारीको व्यवस्थापनको लागी छलफल गर्न लागिएको बताए । वायुसेवा सञ्चालक संघको निर्णय अनुसार अघि बढिरहेको बताउदै अवस्था यस्तै रहेमा फोर्स लिभको विषयमा पनि सोच्नुपर्ने अवस्था आउने उनले बताए ।