काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सेवा क्षेत्रमा कार्यरत श्रमिकलाई बैकल्पीक रोजगारीको रुपमा राष्ट्रिय गौरबका आयोजनामा लाने प्रस्ताव अघि सारेका छन् ।
कोरोना भाइरसको संक्रमणपछि सबैभन्दा बढि पर्यटकीय क्षेत्रका श्रमिकहरु प्रभावित भएको भन्दै उनिहरुको सेटलमेन्टका लागि राष्ट्रिय गौरबका आयोजनामा लगाउने प्रस्ताव अगाडी बढाएका हुन् ।
मन्त्री भट्टराईले शनिबार र आइतबार पर्यटनसँग सम्बन्धीत विभिन्न संघसंस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरुसँग भिडियो वार्ता गर्दै त्यस क्षेत्रमा क्रियाशील श्रमिकहरुको उचित व्यवस्थापनका गर्न सकिने बताएका हुन् ।
निर्माण भइरहेको राष्ट्रिय गौरबका आयोजनाहरु मेलम्ची, माथिल्लो तामाकोशी, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल सहितका अन्य परियोजनामा ठूलो संख्यामा श्रमिकको आवश्यकता भएकोले उनिहरुको क्षमताका आधारमा कामदार परिचालन गर्न सकिने मन्त्रालयको ठहर छ ।
कामदारलाई यसरी व्यवस्थापन गर्न सकिएमा राष्ट्रिय महत्वका आयोजना तिब्र गतिमा अगाडी बढ्नुका साथै लामोसमय सम्म बेरोजगार भएर पनि बस्नु पर्ने अवस्था पनि नआउने पर्यटन मन्त्री भट्टराईले बताए । यसका साथै सरकारले हिमाल सरसफाइ सहित विभिन्न ट्रेकिङ रुटहरु निर्माण र सफाइ गर्ने योजना अघि सारेकोले आवश्यकता र क्षमता अनुसार ती क्षेत्रमा कामदार परिचालन गर्ने जनाएको छ ।
मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा पर्यटन बोर्डको समन्वय र अगुवाईमा तथ्याङ्क संकलन भइरहेको जानकारी दिदै त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्न कामदार उपयोग गर्न सकिने उनले बताए । लक डाउन खुले लगत्तै काममा फर्काउने गरी सम्बन्धीत मन्त्रालय र आयोजनाहरुसँग छलफल अगाडी बढाएको पर्यटन मन्त्रालयले जनाएको छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष अरनीको राजभण्डारीले मन्त्री भट्टराईले राखेको प्रस्ताव सकारात्मक भएको बताए । उनले देशभर करिब २ हजार ५ सय रेष्टुरेन्टमा ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिदै ५ प्रतिशतलाई मात्र सरकारले अघी सारेको आयोजनामा लगाउन सके ठूलो राहत मिल्ने बताए । अहिले रेष्टुरेन्टका कर्मचारीहरुलाई तलब खुवाउन समस्या भइरहेको बेला सरकारले राखेको प्रस्तावमा श्रमिकहरुले सकरात्मक रुपमा लिएको उनले बताए ।
‘सरकारको परियोजनामा निश्चित समयमा काम गरेपछि फेरी रेष्टुरेन्टमै उहाँहरुलाई बोलाउछौं’ अध्यक्ष राजभण्डारीले भने । माथिल्लो लेभलका कर्मचारीहरुलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल अगाडी बढाएको उनको भनाई छ ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले मन्त्रीको प्रस्तावमा सबै पर्यटकीय क्षेत्रका विज्ञहरुसँग छलफल गरेर अगाडी बढ्नु पर्ने बताए । क्षेत्रगत श्रमिकलाई व्यवस्थापन गर्न चुनौती रहेको उनले बताए ।