काठमाडौं । आज नेपाली नयाँ वर्ष २०७६ सालको अन्तिम दिन । अन्तिम दिनको साँझ न्यू एयर इभको रुपमा सबै नेपालीले हर्सोउल्लासका साथ मनाउने प्रचलन छ ।
सामान्य अवस्था भएको भए अहिले नेपालीले मात्र हैन, विदेशीले पनि नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाइरहेका हुन्थे । अघिल्लो वर्षहरुमा आजको दिन मुख्य पर्यटकीय स्थलहरु ठमेल, पोखरा, सौराहा सहित दोलखाको कालिञ्चोक, जिरी, दामन, नगरकोटलगायतका क्षेत्रका आन्तरिक एवंम बाह्य पर्यटकले भरिभराउ हुन्थे ।
काठमाडौं भित्र दरबारमार्ग, झम्सीखेल, न्यूरोड ललितपुर र भक्तपुरका अधिकाशं क्षेत्रमा भिडभाड हुन्थ्यो । तर, अहिले कोरोना भाइरसको संक्रमणको डरले सरकारले गरेको लक डाउनले नेपालीहरुको नयाँ बर्ष सुनसान भएको छ ।
भाइरसको त्रासका कारण सबै मानिसहरु घरघरमा बसेका छन भने रेष्टुरेन्टहरु सबै बन्द रहेको छ । रेष्टुरेन्ड एण्ड बारका अध्यक्ष अरनिको राजभण्डारीले कोरोना भाइरसको कारण पर्यटकीय क्षेत्रको रौनक खोसेको बताए ।
यो बेला काठमाडौं सहित देशैभरका पर्यटकीय स्थलका होटल तथा रेष्टुरेन्टहरु भरिभराउ हुन्थेतर अहिले सुनसान छ । देशभर २ हजार ५ सय रेष्टुरेन्ट सञ्चालनमा रहेको उनको भनाई छ । ती सबै रेष्टुरेन्ट अहिले पूर्णरुपमा बन्द छन् । ‘कमाई हुने सिजनमा कोरोनाले थला पारेको छ’ अध्यक्ष भण्डारीले भने ‘विगतको वर्ष सम्झीदा तनाव हुन्छ ।’
ठमेलमा रहेको केटु रेष्टुरेन्टका सञ्चालक एकराज अधिकारीले विगतका वर्षमा नयाँ वर्षको लागी २ दिन अघिबाट बुकिंङ बन्द गरेको सम्झदै यो वर्ष भाइरसले व्यवसाय तहसनहस बनाएको बताउछन् । ‘यतिबेला ठमेल क्षेत्रमा खुट्टा हाल्ने ठाउँ हुदैन थियो’ सञ्चालक अधिकारीले भने ‘तर अहिले चरा मुसो बाहेक अरु केहि छैन ।’ ठमेलमा मात्र ४ सय २५ भन्दा बढि रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् भने होटल र क्लबहरु त्यतिनै मात्रामा छन् ।
रेवान सौराहका अध्यक्ष दिपेन्द्र खतिवडाले यो बेला थामिनसक्नुको भिड हुने बेला सुनसान भएको बताउछन् । विदेशी र स्वदेशी पर्यटकहरुलाई स्वागत सत्कार गरेर भ्याइनभ्याइ हुने बेला अहिले सबै रेष्टुरेन्ट बन्द गरेर घरमा बस्नुको विकल्प नभएको उनको भनाई छ ।
आन्तरिक एवंम बाह्य पर्यटकहरुको रोजाइमा पर्ने पोखराको लेकसाइड पनि यतिवेला सुनसान भएको छ । नयाँ वर्षको स्वागतका लागि विगतका वर्षमा सयौ पर्यटकहरु जम्मा हुने लेकसाइड अहिले सुन्य भएको पर्यटन एवंम होटल व्यवसायी हरी भुजेलले जानकारी दिए । यो बेला त्यहाँको होटल र रेष्टुरेन्टमा पर्यटकहरुको खचाखच गरेकोमा अहिले सडकनै खाली भएको उनको भनाई छ ।