काठमाडौं । केहि समय अघि ह्याचरी उद्योगीले मिलेमतोमा दश दिन चल्ला र अण्डा नष्ट (चिकेन हलिडे) गरेपछि अण्डा र कुखुराको मासुको मूल्य एक्कासी बढ्यो ।
विचौलिया व्यापारीले मूल्य बढाएर अत्यधिक नाफा कमाए भने किसानले लागत मूल्यभन्दा कममा घाटा खाएर बेच्न बाध्य भए । अहिले पनि अण्डा उत्पादक किसान पनि प्रतिगोटा अण्डा ३ रुपैयाँ घाटा व्यहोर्दै आएका छन् ।
घाटै भएपनि जेनतेन अण्डा बिक्री हुने गरेपनि कोरोना भाईरसका कारण मुलुक नै बन्दाबन्दी भएपछि अण्डाको बिक्री र खपत नहुँदा किसान समस्यामा परेका हुन् ।
किसानको प्रतिगोटा अण्डामा ११.५३ रुपैयाँ लागत पर्ने उनीहरु बताउँछन् । तर, फर्मबाट प्रतिगोटा ३ रुपैयाँ घाटा बेहोरेर ८.६७ रुपैयाँमा बिक्रि गर्नुपर्ने बाध्यतामा किसान रहेको सरकारी प्रतिवेदनको निश्कर्ष छ ।
देशभर दैनिक साढे ३० लाख अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा बिक्री गर्दा किसानहरुले दैनिक १ करोड भन्दा बढी नोक्शान बेहोरिरहेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन् ।
यस्तो घाटा पछिल्लो दुईमहिनादेखि निरन्तर हुँदा किसानको अहिलेसम्म ६० करोड घाटा भइसकेको केसी बताउँछन् । यद्यपि, अहिले भने अण्डाको बिक्री र खपत नै नहुँदा किसान समस्यामा परेको उनको भनाइ छ ।
‘दुई महिनादेखि किसानलाई घाटा नै छ । त्यसमाथि लकडाउनले जताततै बन्द हुँदा अण्डाको खपत र उत्पादन घटेको छ’ उनी भन्छन्, ‘यता किसानको अण्डा बिक्री भएको छैन, अर्को कसैले खान खोज्दापनि पाएको स्थिति छैन् ।’
छोटोे समयका लागि भएपनि सरकारले यो बेला राहतको रुपमा अण्डालाई समावेश गरिदिन केसीको आग्रह छ । ‘अहिले दालभन्दा अण्डा सस्तो छ । झन्डै १८० रुपैयाँ केजी दाललाई पर्छ । तर, अण्डा प्रतिक्रेट १४०/१५० सम्ममा खुद्रामा अण्डा आउँछ ।
राहत बाड्दा अण्डा पनि राख्न हाम्रो आग्रह छ‘ उनले भने, ‘कम्तीमा त्यसो भयो भने किसानले पनि केही मूल्य पाउँछन् र दाना किनेर खुवाउन सक्छन् । उसो किसान घाटामै छन् ।’
खपत र बिक्रीमा कमी आएपछि किसानले पनि अण्डा उत्पादन घटाउँदै लगेका छन् । हाल आएर दैनिक २५ लाख हाराहारीमा अण्डा उत्पादन हुने गरेको छ । उद्योग बन्द हुँदा कुखुराले दाना खुवाउन नपाएको किसान बताउँछन् ।
ह्याचरी व्यापारी र दाना उद्योगीको चेपुवामा परेर घाटामा अण्डा बेच्न बाध्य भएपछि किसानहरु अहिले चल्ला हाल्न छाडेको र अण्डा उत्पादन पनि बन्द गर्ने मनस्थितिमा पुगेका छन् । सरकारले अण्डा उत्पादक किसान र उपभोक्तालाइ न्यायोचित हुने गरी मुल्य नतोक्दा पोल्ट्री व्यवसायबाटै पलायन हुने स्थिति आएको केसी बताउँछन् ।
अहिले दाना ढुवानीमा समस्या रहेको छ । अहिलेको अवस्थामा किसानमात्रै नभइ समग्र क्षेत्रमा अस्वभाविक परिस्थितिमा गुज्रेकाले केही भन्न नसक्ने पशु सेवा विभागका महानिर्देशक बंशी शर्मा बताउँछन् । अण्डालाई राहतका रुपमा बाड्न सकिने अवस्था रहेको भन्दै उनले त्यसबारे निर्णय हुन बाँकी रहेको बताए ।
आत्मनिर्भर उन्मुख रहेको नेपालको पोल्ट्री क्षेत्रको अवस्था अझै सबल हुन सकेको छैन् । यद्यपी, पोल्ट्री क्षेत्रमा निजीक्षेत्रको लगानी बढी छ । जसका कारणले सरकारले प्रत्यक्ष रुपमा बजार हस्तक्षेप गर्न सकेको देखिदैन् । अहिले नेपालमा वार्षिक १ अर्ब ४९ करोड रुपैयाँको अण्डाको कारोबार हुने गर्छ ।