काठमाडौं । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको अवधिमा काठमाडौं उपत्यकामा साढे ७ हजार सवारी कारबाहीमा परेका छन् । चैत ११ गतेदेखि हालसम्म लकडाउनको पालना नगर्ने सवारी नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
लकडाउनको अवधिमा काठमाडौं उपत्यकामा ११ सय ट्राफिक प्रहरी खटिएका छन् । १५२ स्थानमा खटिएर ट्राफिक प्रहरीले लकडाउनको पूर्ण पालना गराएको जनाएको छ । त्यस्तै, ३९ ठाउँमा चेक प्वाइन्ट र ४५ ठाउँमा सिभिल प्रहरीसँग मिलि ट्राफिक प्रहरीले ड्युटी गरिरहेको छ । अत्यावश्यक खानेपानी, एम्बुलेन्स, दूध, फलफूल, तरकारी र खाद्यान्नका वस्तुका गाडी, सरकारी निकायको अनुमतिपत्र पास भएका सवारीबाहेक अरुमा कडाइ गरिएको महाशाखा प्रमुख भीम ढकाल बताउँछन् ।
काठमाडौं उपत्यकामा खटिने सबैजसो ट्राफिक प्रहरीले मास्क, पञ्जा, चश्मा र सेनिटाईजरको प्रयोग गर्ने गरेका छन् । ट्राफिक प्रहरी अाफै पनि क्वारेन्टाइनमा रहनुपरेको ढकाल बताउँछन् । 'हामी ट्राफिक पनि सडकको लकडाउनमै छौं । म पनि क्वारेन्टाइन मै छु । घर जाने कुरा हुदैन । छुट्टै खाट र कोठामा अाइसोलेसनमै छौँ ।' उनी भन्छन् ।
२० घण्टा ड्युटीमै भ्याई नभ्याई अहिले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी अहोरात्र खटिएर ड्युटी गर्ने गरेको बताउँछन् । विहान उठेदेखि रातिसम्म झन्डै १८/२० घण्टा ड्युटी गर्नुपर्ने अवस्था रहेको ढकाल बताउँछन् । उनी ४ घण्टाबाहेक अन्य समय सडकमै बिताउने गरेको बताउँछन् । 'हामीलाई दैनिक १८/२० घण्टाजति ड्युटी गर्नुपर्छ । बिहान उठेदेखि रातीसम्म सडकको लकडाउमा छौं' उनी भन्छन्, 'दिनका मिटिङ, प्रिकसन ब्रिफिङ, स्टाफ मिटिङ र अाफै बजारमा घुम्दा फुर्सद हुदैन ।'
के-के गर्दैछ ट्राफिक ?
कोरोना विरुद्ध ट्राफिक प्रहरीले पूर्व सावधानी र ब्रिफिङ गर्ने गरेको छ । ड्युटीमा खटिने प्रहरीलाइ ब्रिफिङ, स्टाफ मिटिङ गर्ने र दैनिक बिहान र बेलुकामा बाहिर निस्कन्छ । राती १० बजेसम्म र मध्यरातमा १२ देखि २ बजेसम्म ट्राफिक प्रहरी ड्युटीमै रहन्छ । बेलुकापख र रातमा मानिसको अावतजावतमा थप कडाइ गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।