बीबीसी । के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्ध (लकडाउन) लाई निरन्तरता दिन्छ ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने देखिन्छ ।
मार्च २४ देखि भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको छ । त्यस दिनदेखि उसले सम्पूर्ण व्यवसाय बन्द गर्न र १ खर्ब भन्दा बढी मानिसलाई घरभित्रै बस्न कडा आदेश जारी गरेको थियो। सबै हवाई, सडक र रेल प्रणाली बन्द गरिएका थिए।
कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको दुई महिना नाघ्दा अहिले भारतमा ५ हजार भन्दा बढी कोभिड १९ का बिरामी देखिएका छन् । यसबीचमा कोभिडबाट१५० जनाले ज्यान गुमाएका छन्। परीक्षणको दायरा विस्तार गरिएसँगै वास्तविक तस्बिर बाहिर आइरहेको छ।
भारतका घना बस्तीमा भाइरसको सङ्क्रमण देखा पर्न थालेका छन् । सङ्क्रमणका नयाँ समूहहरू प्रत्येक दिन देखिन थालिरहेका छन्। लकडाउन हटाउँदा सहजै सङक्रमणको नयाँ लहर शुरू हुने जोखिम देखिन्छ।
कठोर लकडाउन किन ?
एकदमै कठोर लकडाउनले सङ्क्रमणलाई सुस्त बनाउने निश्चित छ। भाइरससम्बन्धी विज्ञहरूले भारत अझै पनि सङ्क्रमणको सुरुवाती चरणमा रहेको बताउने गरेका छन्।
भारतसँग अझै पनि भाइरसको सङ्क्रमण दर वा कति मानिसहरू सङ्क्रमित हुन सक्छन् र कतिले सामूहिक रूपमा प्रतिरोधी क्षमता कायम गर्न सक्छन् भन्ने तथ्याङ्क नै छैन्। औँलाबाट रगत निकालेर रक्षात्मक एन्टीबडीजको उपस्थितिबारे बिस्तारै भारतले परीक्षण गर्न थालेको छ।
भारतका ७०० जिल्लामध्ये अढाइ सयभन्दा बढीमा सङ्क्रमण देखिएका विवरण आएका छन्। विवरणहरूमा एक तिहाइ सङ्क्रमण ७ वटा राज्यमा देखिएका छन् र उनीहरूले लकडाउन बढाइयोस् भनिरहेका छन्।
छ ओटा राज्यमा द्रूत गतिमा विस्तार भइरहेको सङ्क्रमितहरूको समूह देखा परेका छन्। त्यसमा राजधानी दिल्लीदेखि पश्चिमको महाराष्ट्र र दक्षिणको तमिलनाडुसम्म छन्।
लकडाउनले भारतको अर्थतन्त्रलाई क्षति पुर्याउन थालिसकेको छ। सबैभन्दा बढी प्रभावित भनिएका ठाउँहरू भारतको मुख्य आर्थिक केन्द्रहरू हुन् र तिनीहरूले देशको राजश्वमा ठूलो योगदान पुर्याउँछन्।
देशको कूल राजश्व सङ्कलनको एक तिहाइ भारतको वित्तीय राजधानी मुम्बईबाट हुने गर्छ । जहाँ, हालसम्म ५०० वटा सङ्क्रमणका घटना देखा परिसकेका छन् र ४५ जनाको मृत्यु भइसकेको छ । मुम्बईले मास्क लगाउनु बाध्यकारी बनाएको छ।