बीबीसी । अलि न्यानो मौसमले कोरोना भाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको उक्त भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै सङ्केत हुन सक्छ ?
चीनबाट फैलिएको विश्वास गरिएको नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुन्छ। त्यसबारे निष्कर्षमा पुग्नका लागि कुनै स्थानमा वर्षभरि सङ्क्रमण कसरी परिवर्तित हुन्छन् भनेर हेर्नुपर्छ।तर प्रमाणका लागि हामी संसारभरि भिन्न हावापानीमा कोरोनाभाइरस विस्तारको सिंहावलोकन गर्न सक्छौँ।
कस्तो आधार छ ?
विशेषतः अलि चिसो र सुक्खा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण बढी देखिएको केही प्रमाणहरू छन्। एउटा अध्ययनले मार्च १० सम्म थाहै नपाईकन सामुदायिक रूपमा सङ्क्रमण फैलिएर धेरै प्रभावित भएका देशमा न्यून सङ्क्रमण देखिएका देशको तुलनामा औसत तापक्रम कम भएको देखिएको थियो।
चालीसभन्दा बढी कोभिड१९ बिरामी भेटिएका चीनका १०० वटा सहरको स्थिति अध्ययन गरेको अर्को शोधले पनि तापक्रम र आद्रता बढी हुँदा भाइरस विस्तारको गति कम भएको सङ्केत गरेको छ।
कोभिड१९ बारे थाहा हुन बाँकी कुरा
विज्ञहरूले समीक्षा गर्न बाँकी भएको अर्को अध्ययनका अनुसार विश्वभरि नै कोरोनाभाइरस सङक्रमण भेटिएको भए पनि मार्च २३ सम्म तुलनात्मक रूपमा चिसो र सुक्खा क्षेत्रमा मात्र प्रकोप देखिएको छ।
लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस अहिले विश्व स्वास्थ्य सङ्गठनले सूचीकृत गरेका सबै भूभाग र क्षेत्रमा पुगिसकेको तथा चिसो र सुक्खादेखि गर्मी र ओसिलो स्थानमा पनि भेटिएको उल्लेख छ।
उत्तर र दक्षिणमा के फरक छ ?
उत्तरी र दक्षिणी गोलार्धमा फ्लूसहित धेरै भाइरसले मौसमअनुसार रूप फेरेको देखिन्छ। तर इक्वेटर अर्थात् भूमध्यरेखानजिकै अवस्थित उष्णकटिबन्धीय क्षेत्र अर्थात् गर्मी हुने स्थानमा त्यस्तो परिवर्तन देखिँदैन।
स्थानीय रूपमै कोभिड १९ सरेको पाइएका मलेशिया र डीआर कङ्गोजस्ता गर्मी र सुक्खा देश पनि भूमध्यरेखानजिकै छन्। तसर्थ अन्यत्र के हुन्छ भनेर बुझ्न यो उपयुक्त प्रमाण नहुन सक्छ।
अब दक्षिणी गोलार्धको स्थितिको समीक्षा गरौँ। ग्रीष्मयाम सकिन लाग्दा पहिलो चोटि सङ्क्रमण देखिएका अस्ट्रेलिया र न्यूजील्यान्डमा पनि उत्तरी गोलार्थका देशको तुलनामा न्यून सङ्ख्यामा सङ्क्रमित मानिस भेटिए। मानिसहरूको विश्वव्यापी हिँडडुल र गतिविधि तथा जनघनत्वजस्ता विभिन्न कारणको पनि यसमा भूमिका छ।
पहिला एक स्थानबाट अर्को स्थानमा गएका मानिससँगै फैलिएको उक्त भाइरस मौसम परिवर्तन हुँदै गर्दा क्रमशः विश्वभरि नै फैलिएको छ। त्यसैले हावापानीका कारण हुने प्रभावबारे निष्कर्ष निकाल्न कठिन छ।
के अरू कोरोना भाइरस मौसमी हुन्छन् ?
कोरोनाभाइरस परिवारका अन्य भाइरसहरू प्रायः जाडो महिनामा फैलिने केही प्रमाण फेला परेको यूनिभर्सिटी कलेज लन्डन तथा लन्डन स्कूल अफ हाईजीन र ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूको दाबी छ।
अझै थाहा नभएका नौ कुरा
उनीहरूले २,००० मानिसबाट तिनको परिवारमा कसैलाई श्वासप्रश्वासम्बन्धी समस्या भए नभएको विवरण साप्ताहिक रूपमा सङ्कलन गरे।
अध्ययनमा सहभागी व्यक्तिलाई त्यस्तो कुनै लक्षण देखिएका परिवारजनको घाँटीमा स्वाब गरेर नमुना पनि पठाउन भनिएको थियो। सङ्कलित नमुनामा विभिन्न भाइरसको परीक्षण गरियो।
वास्तवमा कोरोनाभाइरस के हो ?
यसबाट अनुसन्धानकर्ताहरूले मौसमी फ्लूसँगै कोरोनाभाइरसहरू पनि जाडो बेलामा उत्कर्षमा पुग्ने देखियो। तर गर्मीयाममा कोरोनाभाइरसहरूको सङ्ख्या कम थियो।
उक्त अनुसन्धानमा सहभागी वैज्ञानिक एलन फ्र्याग्यास्जीका अनुसार त्यसैले गर्मीमा केही कम सङ्क्रमण देखिने सम्भावना हुन सक्छ। तर सार्स कोभ २ नाम दिइएको यो नयाँ भाइरसले कस्तो व्यवहार देखाउँछ त्यो भन्न सकिने स्थिति छैन।