बीबीसी । भारतमा हालसम्म ५ हजार ८६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । त्यहाँ कोभिड१९ले १६९ जनाको ज्यान गइसकेको छ । यस्तै ४७८ जना निको भइसकेका छन्।
सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा देखिएका छन् । जहाँ ११०० भन्दा धेरै सङ्क्रमित भइसकेका छन। त्यसपछि तमिलनाडुमा ७०० भन्दा धेरै र दिल्लीमा करिब साढे ६०० सङ्क्रमित भएका छन्।
नेपालसँग सिमाना जोडिएका बिहारमा ३९ जना, पश्चिम बङ्गालमा १०० भन्दा धेरै र उत्तराखण्डमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ।
भारतभरि मार्च २४ देखि लकडाउन वा आवतजावतमा बन्देज लगाइएको छ। तर, यसबीच केही ठाउँमा सङ्क्रमण तीव्र विस्तार भएपछि ती ठाउँलाई स्थानीय रूपमा सील गरिएको छ।
खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय हटस्पट भनिएका त्यस्ता धेरै सङ्क्रमित भएको स्थानहरूलाई आवतजावतमा पूर्णतया बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर सील गरिएका छन्। दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी ुसीलु गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।
नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ हटस्पटलाई पूर्ण रूपमा सील गरिने निर्णय भएको छ।त्यसरी सील गरेर ती ठाउँमा फैलिएका सङ्क्रमणलाई अन्यत्र विस्तार हुन नदिइने बताइएको छ।
अर्थतन्त्र स्वाहा हुने डर
कोरोना भाइरस सङ्क्रमणका कारण आर्थिक गतिविधिमा लगाइएका बन्देजका कारण विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन्। यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ।
विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालत पनि चिन्ताजनक बनेको छ। त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति निमिट्यान्न हुनसक्ने चेतावनी दिएका छन्।
करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्छन्। गरिब किसान तथा मजदुरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुन या त कम तलब थाप्न बाध्य हुनेछन्।