काठमाडौं । मुख्य लगानीकर्ता कर्मचारी सञ्चय कोषले निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सञ्चालनको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्नु पर्ने सर्त राखेको छ ।
आयोजनालाई आवश्यक थप ऋण लगानी गर्ने विषयमा भएको छलफलमा सञ्चय कोषले आयोजना सञ्चालनमा आएको २ वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्नुपर्ने सर्त राखेको हो । दुई वर्षदेखि लाभांश वितरण गर्ने सर्तमा थप लगानी गर्न तयार रहेको सङ्केत सञ्चय कोषले गरेको छ ।
ऋण तिरेर पनि सेयरधनीलाई राम्रो प्रतिफल दिन सक्ने देखिएकाले दोस्रो वर्षदेखि लाभांश दिनु पर्ने सर्त राखेको सञ्चय कोषका मुख्य प्रबन्धक अर्जुनकुमार गौतमले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले सेयरधनीलाई न्यूनतम ८ देखि १० प्रतिशतसम्म लाभांश दिन सक्ने देखिएको बताए । ‘लाभांश दिने सर्तमा ऋण तिर्ने समय बढाउन सञ्चय कोष तयार छ,’ उनले भने, ‘तर दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश दिनुपर्छ ।’
४५६ मेगावाटको आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सञ्चालनमा आएको पहिलो वर्षमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बिक्री गरी ९ अर्बभन्दा बढी रुपैयाँ आम्दानी गर्नेछ । उसले वार्षिक ११ अर्ब रुपैयाँको हारहारीमा आम्दानी गर्ने छ ।
आवश्यक परे ऋण तिर्ने किस्ता अवधि बढाउन र ब्याजदरमा पुनर्विचार गर्न कोष तयार रहेको उनको भनाइ छ । हाल ४८ किस्ता रहेकामा यसलाई बढाएर ६० किस्ता र ब्याजदर ११ प्रतिशतबाट घटाएर १०.५ प्रतिशतमा झार्न कोष तयार रहेको बताएका छन् । माऊ कम्पनी विद्युत् प्राधिकरणले यस विषयमा छलफल गर्ने जानकारी गराएको उनले सुनाए ।
हालसम्म आयोजनाको ९९ प्रतिशत काम सकिएको उनको भनाइ छ । आयोजनको लागत बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको कुल लागत ७३ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान कोषको छ । कोषले आयोजनको काम अवरुद्ध हुन नदिन हालसम्म १ अर्ब २५ करोड रुपैयाँ अपर तामाकोसीलाई अपुग रकम (ब्रिज लोन) दिएको छ । अब ७५ करोड रुपैयाँ दिने गौतमले बताए ।
कोषले ४ अर्ब रुपैयाँसम्म ऋण दिने छ । साउनपछि नागरिक लगानी कोष र नेपाल टेलिकमले पनि थप लगानी गर्ने उनको भनाइ छ । नगद प्रवाहमा समस्या आएपछि १० अर्ब रुपैयाँ थप ऋण मागे पनि ८ अर्ब रुपैयाँ भए पुग्ने अनुमान कोषको छ । पुससम्म आयोजनाबाट बिजुली उत्पादन सुरु हुने भएकाले नगद प्रवाह बढ्ने कोषको भनाइ छ । पहिला ४१ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, विविध कारणले लागत बढेपछि थप रकम आवश्यक पर्ने देखिएको हो ।
राष्ट्रिय गौरवको तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न अपर तामाकोसीले रोलवालिङ डाइभर्सनको काम अघि बढाएको छ ।