काठमाडौं । कोरोना भाइरसको प्रभाव पछि ग्राउण्डेड रहेका हेलिकप्टररहरुको फ्लाइट इन्स्योरेन्स कटाएर ग्राउण्ड इन्सुरेन्स मात्र गर्ने भएको छ । करिब एक महिना देखी ग्राउण्डेड रहे पनि हालसम्म ती हेलिकप्टरको फ्लाइट इन्स्योरेन्स रहेको छ ।
फ्लाइट इन्स्योरेन्स धेरै महंगो हुने भएकोल कम्पनीको खर्च घटाउन ग्राउण्डेड रहेका हेलिकप्टरको ग्राउण्ड इन्स्योरेन्स मात्र गर्न लागिएको अल्टीच्यूड एयरका म्यानेजिङ डाइरेक्टर निमानुरु शेर्पाले जानकारी दिए ।
फाट्टफुट्ट २/४ वटा हेलिकप्टरले मात्र उडान गर्दै आएको छ । उडानमा रहेका बाहेकको ग्राउण्ड इन्सुरेन्स गर्न कम्पनीहरुलाई आग्रह गरिएको शेर्पाले जानकारी दिए । वायुसेवा सञ्चालक संघको निर्णय अनुसार अप्रिल १ देखी सबै हेलिकप्टरहरु ग्राउण्डेड गरिएको छ भने आकस्मिक उडान केहिले गर्दै आएको छ ।
ग्राउण्डेड रहेका हेलिकोप्टरको फ्लाइट इन्सुरेन्स कटाउन नमाने बीमा समितिलाई संघ मार्फत पहल गर्ने निर्णय भएको प्रवक्ता योगराज कडेलले जानकारी दिए । अहिले १० वटा कम्पनीका २७ वटा हेलिकोप्टर कम्पनीहरु उडान योग्य अवस्थामा रहेका छन् भने ती मध्ये अधिकाशं हेलिकोप्टरहरु ग्राउण्डेड रहेको छ । नेपालमा प्रभु र शिखर इन्सोरेन्सले मात्र हेलिकप्टरहरुको विमा गर्दै आएको छ ।
यस्तै हेलिकप्टर कम्पनीहरुको गत वर्षदेखीको उठ्न बाकी २७ करोड रुपैयाँ रहेको छ । सो रकम लिनका लागि हेलिकोप्टर कम्पनीहरुले तत्कालै पत्रचार गर्ने र एक महिना भित्र रकम नदिएमा कानुनी कार्वाहीमा जाने संघले निर्णय गरेको छ ।
भाइरसको कारण उडान बन्द गरेको एयरलाइन्सहरुको कर्मचारीको तलब भक्तामा भरी कटौती गरेको छ । भाइरसको प्रभाव पछि एयरलाइन्स र हेलिकोप्टर कम्पनीहरु समस्यामा परेसँगै कर्मचारीको तलब घटाएको हो ।
एयरलाइन्सहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले तत्कालका लागि पाइलटको तलब बेसिक ७५ हजार देखी १ लाख २५ हजारसम्म,इन्जिनियरको तलब २५ हजार देखी ७५ हजार, कि पोष्ट होल्डरको २५ देखी ५० हजार र अन्यकर्मचारीको हकमा सरकारले तोकेको न्यूनतम १३ हजार ४ सय ५० कायम राख्ने निर्णय भएको छ ।
यसमा बेसिक तलब मात्र निर्धारण भएको र कम्पनीले आवश्यकता अनुसार भक्ता दिन पाउने संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए ।
संघको तर्फबाट सरकारले बनाएको कोरोना राहत कोषका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका प्रवक्ता कडेलले जानकारी दिए ।