काठमाडौं । नोबेल कोरोना भाइरस संकमण फैलिन नदिन भारतले लगाएको लकडाउनका कारण चैत मसान्तसम्म सञ्चालन गर्ने भनिएको जयनगर – कुर्था रेलको लक्ष्य प्रभावित भएको छ । आउने तयारीमा रहेको दुई सेट डेमो ट्रेन लकडाउनका कारण बिचमै रोकिएपछि सञ्चालनको लक्ष्यमा धक्का लागेको हो ।
भारतीय सरकारी कम्पनीले निर्माण गरेको रेल नेपाल आउने तयारीमा थियो । कम्पनीले आधा बाटोमा ल्याउँदा भारतमा लकडाउन हुँदा रोकिएको र नेपाल पक्षले पनि लिन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्र बताउँछन् । कहिलेसम्म रेल आइपुग्छ भन्ने अवस्था नरहेको उनको भनाइ छ । ‘कहिले आउने भनेर के भनौं अहिले डेट स्टेन्ड नगरी सुखै छैन् । उता, भारतमा उनिहरुले आधा बाटोमा ल्याएर छोडेका छन् । हामी पनि लिन सक्ने अवस्थामा रहेनौं । कानुनी दाउपेच लकडाउन पछि नै मिलाउनु पर्छ’ उनले भने ।
करारमा ल्याइने कर्मचारीको छैन टुंगो
रेल चलाउन भारतीय रेल्वे कम्पनीसँग समन्वय गरेर करारमा जनशक्ति ल्याउने भनिपनि त्यसको टुंगो लाग्न सकेको छैन । आवश्यक प्रक्रियागत कुरा भएपनि कोरोना संकमणले दुवै देश लकडाउन भएपछि त्यो कार्य अपूरै छ । रेल चलाउन २०० कर्मचारी चाहिने भएपनि सरकारले २६ जना कर्मचारी करारमा भारतबाटै ल्याउने निर्णय गरेको थियोे ।
करारमा कर्मचारी भर्ना गर्न मन्त्रिपरिषदको स्वीकृतीमा हुनुपर्छ भने अन्य कर्मचारीको भर्ना भने लोकसेवा आयोगबाट हुने भएपनि त्यसमा पनि ढिलाइ भएको छ ।
रेल चलाउन आवश्यक कानुन र आन्तरिक तयारी पूरा नपुग्दा जयनगर–कुर्था रेल सञ्चालनको मिति बारम्बार लम्बिदै गएको छ । पछिल्लोपटक भने कोरोना भाइरसको प्रभावले तोकिएको अवधि अर्थात बैशाखभरी पनि सञ्चालनमा आउन निकै गाह्रो देखिन्छ । किनकि संकमण रोकथाम र प्रभाव हेरी लकडाउन बढ्न सक्ने स्थिति पनि छ । भारतमा पनि कोरोना भाइरस संकमण तीव्र रुपमा फैलिएकाले रेल कहिले आउने यसै भन्न सकिँदैन ।
कुल ६९ किलोमिटर लामो जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमि यसअघि नै निर्माण भइसकेको छ । यही भित्र मात्र रेल सञ्चालन हुने छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्ने छ ।
झन्डै १ अर्ब रुपैयाँ लागतमा नेपालले आफ्नै स्वामित्वको रेल खरिद गर्दैछ । दुई सेट डिब्बा डेमो ट्रेन र इन्जिन खरिद हुन हुनेछ । यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुने छ ।
यसअघि नै जयनगर–कुर्था रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारका काम सकिएका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्र्याकबेल्ट तथा स्ट्रक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् । रेल सञ्चालनमा आएपछि धार्मिक क्षेत्र जनकपुर क्षेत्रसँगै प्रदेश नम्बर २ को पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।