बीबीसी । भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राति भागेका कोरोना भाइरस सङक्रमित एक नेपाली फेला परेको त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन्।
धार्मिक ज्ञान आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ।
शुक्रबार उनमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।
तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।
बीबीसी नेपालीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।
भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट नियन्त्रणमा लिएका छौँ।
बागपतका प्रहरी प्रमुख यादव भन्छन्, हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।
हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्छ। खेकडाको अस्पतालमा कोभिड१९ को उपचार गराइरहेका उनी एक मात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।