काठमाडौं । लकडाउनअघि हाहाकार जस्तै भएको खाना पकाउने एलपीजी ग्यास अहिले सहज रुपमा पाउन थालिएको छ । लकडाउनपछि बजारमा ग्यास नपाउने भयले उपभोक्ताले आवश्यकता भन्दा बढि ग्यास थुपार्दा बजारमा कृतिम अभाव देखिएको थियो ।
त्यहि अभावलाई पुरा गर्न नेपाल आयल निगमले आधा सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएपछि अहिले बजारमा ग्यास बिक्री हुन छोडेको छ । निगमले चैत्र १३ गते देखी ७.१ केजी मात्र ग्यास बिक्री गर्न निर्देशन दिएको थियो । पुरा ग्यास १४.२ केजीको हुन्छ ।
उपभोक्ताले ग्यास खपत कम गर्न लागेपछि अहिले नेपाल ग्यास बाहेक अन्य उद्योगका ग्यास बुलेटमै थन्किन थालेको छ । बजारमा ग्यासको माग घटेपछि भर्ने सिलिण्डर नहुँदा ग्यास बुलेटमै राखिरहेका हुन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास पर्याप्त मात्रामा बजारमा आइरहेको जानकारी दिए । अहिले अधिकांश उद्योगहरुको भण्डारण भरिएको र नयाँ राख्ने ठाउँ नभएकोले बुलेटमै राख्नु पर्ने बाध्यता सिर्जना भएको उनले बताए । ग्यास पर्याप्त भएकोले भरी सिलिण्डर बजारमा पठाउने व्यवस्था गरिदिन निगमलाई आग्रह गरिएको उनले जानकारी दिए ।
उद्योगीले चाहेर मात्र बजारमा भरी सिलिण्डर पठाउन नमिल्ने भएकोले त्यसका लागि निगमलाई आग्रह गर्न लागिएको उनको भनाई छ । हामी पर्याप्त मात्रामा ग्यास दिन तयार छौं,अध्यक्ष भण्डारीले भने,त्यहि भएर अव आधा सिलिण्डरको व्यवस्था बन्द गर्नुपर्छ ।
ग्यास विक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले पनि बजारमा ग्यासको माग घटेको बताए । पहिलाको तुलनामा ९० प्रतिशत माग कम भएकोले अव भरी सिलिण्डरको व्यवस्था गर्नुपर्ने उनले बताए । भरी सिलिण्डर बिक्रीको व्यवस्था गर्न महासंघको तर्फबाट निगमलाई आधिकारीक पत्र पठाउन लागिएको उनले जानकारी दिए ।
तत्कालका लागि ग्यास आपूर्तिमा सहज भए पनि गाउँ गएकाहरु फर्कने बेला फेरी अभाव हुन सक्ने तर्फ पनि निगम, उद्योगी र बिक्रेताहरु सहज हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘त्यो बेलाको परिस्थीति हेरेर फेरी नयाँ निर्णयमा जाउँला’ अध्यक्ष श्रेष्ठले भने ‘तर अहिलेलाई भरी सिलिण्डर पठाउनु पर्छ ।’
निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले बजारमा ग्यास पर्याप्त मात्रामा रहेको जानकारी दिए । ग्यास पर्याप्त भएपछि अहिले निगममा विभिन्न उद्योगहरुले बिक्री नभएकाले भरी सिलिण्डर पठाउन पाउनु पर्ने भन्दै प्रस्ताव राखिरहेको उनले बताए । उद्योगी र बिक्रेताको प्रस्तावलाई केहि दिन भित्र छलफल गरी आधा सिलिण्डरको व्यवस्था हटाउन सकिने उनले बताए ।