स्थानीय सरकारले सङ्घीय सरकारको दोहोरो चरित्रका कारण आफूहरुलाई काम गर्न समस्या भएको गुनासो गरेका छन् । सरकारले कृषि लगायत अत्यावश्यक र ठूला उद्योगहरुमा कर्मचारीको सुरक्षा व्यवस्था मिलाई सञ्चालन गर्न दिने निर्णय गरेपछि आफूहरु समस्यामा परेको गुनासो उनीहरुको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत बिहीबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरे सँगै स्थानीय तहमा कृषि लगायतका उद्योगहरु धमाधम खुल्न थालेपछि स्थानीय सरकारलाई व्यवस्थापनमा समस्या परेको हो ।
सरकारको निर्णयसँगै झापामा चियावगान सञ्चालकले मजदूरलाई काममा फर्कन निर्देशन दिएपछि समस्या जटिल भएको हो । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले सरकारको दोहोरो चरित्रका कारण स्थानीय तहमा व्यवस्थापन गर्न समस्या भएको गुनासो गरे ।
‘मोबाईलमा घर भित्रै बस्न’ भनेर बारम्बार सन्देश पठाउने, टेलिफोनको रिङ टोनमा घर भित्रै बस्न’ भनेर भन्ने अनि उद्योगहरु सञ्चालनको व्यवस्था मिलाउने भनेर स्थानीय निकायलाई भन्ने ?’ उनले भने ।
त्रिवेणी ग्रुप झापाले चिया बगानका मदजुरलाई काममा लगाएपछि बगान पुगेका उनले कयौ सरकारी कर्मचारीलाई घरमै बसाएर तलब दिने सरकारले श्रमिकलाई दिन नसक्ने भए आफूहरुले नै व्यवस्था गर्ने चुनौति दिए ।
‘श्रमिकलाई भेडाबाख्रा सम्झने ? टेलिफोनमा घरैमा बस्न’ भन्छ, घरैमा बस्न’ भन्छ अनि यतातिर श्रमिकलाई ल्याएर काम लगाउने, तपाईहरुलाई भेडाबाख्रा सम्झेको सरकारले ? गरिब दुखी मान्छे होइन ? उनीहरुलाई रोग लाग्दैन ? त्यो पनि विषाधी छर्ने लगाईरहेको छ । श्रमिकलाई घरमा बसी बसी राख्न सरकारले सक्त्तैन भने, सरकारले हात झिक्यो भने गाउपालिकाकाले खुवाउँछ । अमेरिका, चीनलगायत देशले थेग्न नसकेका बेला श्रमिकलाई जोखिममा काम लगाउने ? उनले भने ।
चियाबगानले कि काममा आउन कि राजीनामा दिन दबाब दिँदै जबरजस्ती मजदुरलाई हस्ताक्षर गराउँदै काम लगाएको छ । चिया बगानका प्रबन्धक नितेश कुमार जैसवालले सरकारले उद्योग खोल्ने निर्णय गरेकाले आफूहरुले नगरपालिकालाई पत्र दिएर काम गरेको तर कुनै पनि मजदूरलाई जबरजस्ती काममा नलगाएको दाबी गरे ।
झापा, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद चापागाईले भने तत्काल बगान खोल्न मिल्दैन भनेर जवाफ दिएको तर बगानले जबरस्ती मजदूरलाई बोलाई काममा लगाएको बताए ।
‘स्थानीय तहले मापदण्ड बनाएर कोरोना भाइरस नसर्ने नफैलने कुराको ग्यारेन्टी पछि मात्रै निर्णय गरेर काम गर्नुपर्ने बनाएको छ । चिया बगानमा काम गर्ने मजदूरहरुने चिया टिप्न आदेश आएपछि आफूहरु काममा फर्केको बताए ।
एक मजदूरले भने ‘अब आज देखि काम चालू गर्नु भन्ने आदेश आएपछि हामी आयौ’ घरमा बसेर कसैले खान दिँदैन, छोरा छोरी पाल्नुपर्छ, हाम्रो त यही हो जीविका’ उनले भनिन् ।
बगान सञ्चालकले सुरक्षाको प्रबन्ध मिलाएको बताए पनि मजदुरसँग मास्क बाहेक अन्य सुरक्षाका सामाग्री छैनन् । तर बगानमा काम गर्ने मजदुरका नेताहरु भने न त मजदूरको सुरक्षाका बारेमा बोल्न सकेका छन् न त उनीहरुले पाउने पारिश्रमिकको बारेमा नै ।
चिया टिप्ने मजदुरलाई दैनिक प्रतिव्यक्ति ३ सय ८५ रुपैयाँ ज्याला दिने गरेको बगानले कतिपय मजदुरलाई पुस यताको पारिश्रमिक अझै उपलब्ध गराएको छैन ।
तस्बिर ः न्यूज एजेन्सी नेपाल