काठमाडौं । किसानले उत्पादन गरेको तकारी बारीमै कुहिने अवस्था आएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउन थालेका छन् ।
सरकारले देश लकडाउन गरेपछि आवातजावात बन्द भए पछि तरकारी बारीमै कुहिने अवस्था आएपछि घर घरमै तरकारी पुर्याउन थालिएको युवा व्यवसायी प्रचण्ड प्रधानले बताए ।
लकडाउन पछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति आएपछि युवाहरु किसानको बारीबाट सिधै उपभोक्ताको घरमा तरकारी पुर्याउने काममा जुटेका हुन् ।
भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काममा व्यस्त बनेका छन् । उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने, संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याईनभ्याई छ ।
आफूहरुले टोल टोल पुगेर विक्रि गर्ने तरकारी बजार मुल्य भन्दा ३० प्रतिशत सम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ । तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रधान कालिमाटीको तरकारी बजारको मूल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताकोमा पुर्याउने गरेको बताउँछन् ।
उनले भने ‘भक्तपुरका स्थानीय वासिन्दा तथा कृषकहरुले उत्पादन गरेका तरकारीहरु हामीले संकलन गर्छौ । अनि सय÷पचास कति कति हुन्छ । हाम्रो ढुवानी भाडा पनि जोड्छौ ज्याला पनि जोड्छौ । अनि खुद्रा पैसाको जोहो गर्न नपर्ने गरि ठिक्क पचासको ÷सयको प्याकेट बनाउँछौ ।’
जिल्ला कृषि सहकारी संघका सचिव समेत रहेका प्रधानले खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका छन् ।
अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसँग समन्वय गरेर तरकारी टोलटोलमा पुर्याउने गरिएको पनि बताए । लकडाउनको निर्णयसँगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुल बहादुर नेमाफुकीले बताए ।
उनले भने ‘देशको स्थिति र किसानले भोगेको समस्या सुन्दा, उपभोक्ता र किसानकोबीचमा हामीले पुलको काम गर्नुपर्छ भन्ने सोच्यौ । किसानहरुको बिग्रन लागेको तरकारी लाई चलेको भाउमा किनेर घरबाट निस्कन नपाउने मान्छेहरुलाई , कोरोनाको त्रास भईराखेको अवसथमा उहाँहरुको घर दैलो, चोक चोकमा तरकारी लान हाम्रो भूमिका हुनसक्छ ।’
जिल्ला कृषि सहकारी संघका सदस्य नेमाफुकी तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसँगको समन्वयमा टोलटोलमा पुग्छ । अनि १ ÷१ मिटरको दुरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ । बिहान सांझ उपभोक्ताको घर घरमा पुर्याउने तरकारी वितरणमा पनि यो समुहले थप सर्तकता अपनाएको छ ।
तरकारीमा विषाधी छर्दा लगाउने रेनकोट जस्तो पोशाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ । गत बर्ष कृषि ज्ञान केन्द्रले विषाधी छर्ने बेला लाउने गरि दिएको पोशाक नै किसानसँग मागेर अहिले तरकारी वितरणका बेला लगाउने गरिएको नेमाफुकीले बताए ।
अगुवा कृषक प्रेम नारायण अधिकारीले टोल टोलमा तरकारी पुर्याउने कामले किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तरलाई कम गर्नुको साथै दुवै पक्षलाई फाईदा पुगेको बताए ।
तरकारी टोल टोलमा पुर्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी पुर्याउने काममा जुटेको बताए ।
कोरोना भाइरसको संक्रमणको त्रास सर्वत्र भईरहेका बेला अन्य कर्मचारी राख्दा आउन सक्ने समस्या र टिका टिप्पणीका कारण संस्थाका अध्यक्ष देखि पदाधिकारीहरु आफै नै यो काममा खटिएको उनले बताए ।
उनले भने “हामीले पहल गर्नुपर्छ । पहल नगरेर हो । यहाँ संभावना छ । हामीले यहाँ समस्यै समस्या मात्रै देखिरहेका छौ । समस्या संगसंगै अवसर पनि छ । किसानले उत्पादन गरेका कुराहरुलाई हामीले बजार खोज्ने हो भने कुनै व्यवसायी वा व्यापारीलाई भन्नुपर्ने अवस्था छैन । यो संकटले हामी नै गर्न सक्छौ भन्ने शिक्षा दिएको छ । ”
आफ्नै टोलटोलमा ताजा तरकारी पाएपछि उपभोक्ता पनि खुसी देखिएका छन् । भक्तपुरबा केही स्थानबाट सुरु गरिएको यो सेवालाई सबै तर्फ र सधै पुर्याउने व्यवस्था मिलाउन सक्ने हो भने तरकारीमा रहेको बिचौलियाको बिगबिगी सधैका लागि अन्त्य हुनुको साथै किसान र उपभोक्ता दुवै लाभान्वित हुनेछन् ।
तस्बिर : न्यूज एजेन्सी नेपाल