काठमाडौं । बिजुलीको खपत बढ्न नसकिरहेका बेला उद्योगहरुले भने पर्याप्त ऊर्जा पाउन सकेको छैन । सरकारले लोडसेडिङ हटेको भनेर बताए पनि प्रसारण लाइनलगायत अन्य पुर्वाधारको अभावका कारण अझै जेनेरेटरबाट उद्योग सञ्चालन भइरहेका छन । केही उद्योगमा पर्याप्त विद्युत लोड पुग्न सकेको छैन । यति मात्र होइन, नयाँ आउने उद्योगले विद्युत पाउन निकै गाह्रो छ ।
लकडाउनले अहिले उद्योग बन्द भएको अवस्था छ । सरकारले कोरोना भाइरसको संक्रमण रहुन्जेलसम्म बिजुली खपत बढाउन रातको समयमा सञ्चालन हुने उद्योगलाई बिजुली महशुलमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।
सामान्य बेलामा पनि उद्योगले पर्याप्त बिजुली पाउन नसकेको बताउँदै आएका छन । खासगरी नयाँ उद्योगले विद्युत पाउन लामो समय कुर्नुपर्छ भने चालू अवस्थाका उद्योगले एक त पर्याप्त बिजुली पाएका छैनन । अर्कोतिर झ्याप्प झ्याप्प लाइन काटिने (ट्रिपिङ) हुने समस्याले क्षति व्यहोर्नुपरेको उद्योगीको गुनासो छ ।
चालू उद्योगले बिजुली थप्न र नयाँ उद्योगले बिजुली पाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन । अहिले विद्युत प्राधिकरणले चाहिए जति बिजुली दिन्छु भने पनि त्यो पुरा गर्न सकेको छैन ।
‘ट्रिपिङ भइरहन्छ । लाइन दिएको उद्योगमा लोडसेडिङ नहोला । तर, नयाँ उद्योग वा नयाँ विद्युत कनेक्सन थप गर्नुपर्यो भने उद्योगले त्यो पाइरहेको छैन’ उनले भने ।
उद्योगले विद्युत सहज र सस्तोमा पायो भने मात्रै माग बढ्न सक्ने भन्दै उनले बिजुलीको भाउ महंगो भएको बताए । विद्युत प्राधिकरणसँग पर्याप्त ऊर्जा भए पनि उद्योगसम्म पुग्ने ग्रीड, सवस्टेसन र ट्रान्सफरमरको क्षमता राम्रो नहुँदा पनि उद्योगले विद्युत पाउन नसकेको उनको भनाई छ ।
यता, विद्युत प्राधिकरणले उद्योगलाई पर्याप्त बिजुली दिएको दावी गरेको छ । तर, प्राविधिक कारणले केही छिन ट्रिपिङ भइरहने र यो उद्योगमा मात्र नभइ सबै क्षेत्रमा यो समस्या भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो भनिरहँदा उद्योगी भने त्यसमा सहमत छैनन ।
उद्योगलाई पर्याप्त बिजुली दिएको र लोडसेडिङ नगरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन । नयाँ उद्योगको लागि पनि बिजुली दिने अनुमति स्वीकृत गरेको भन्दै उनले केही ठाउँमा सवस्टेशन लोडका कारणले केही समय पर्खन भनिएको बताए ।
‘उद्योगलाई पर्याप्त विद्युत दिइरहेकै छौं । कहिँ पनि उद्योगमा लोडसेडिङ गरेका छैनौं । कहिलेकाहीँ प्राविधिक गडबडी हुँदा लाइन ट्रिपिङ होला, त्यो उद्योगमा नभएर सवै क्षेत्रमा असर पर्ने गरेको छ’ उनी भन्छन, ‘नयाँ उद्योगको केसमा लाइन दिएकै छौं । जहाँ हामीले विद्युत दिने स्थितिमा छौँ त्यहाँ दिएकै छौं । अनुमति स्वीकृत गरेकै छौं ।’
वीरगञ्ज करिडोरमा सवस्टेशन बनाइरहेको र त्यहाँ सवस्टेशन र लाइन ओभर लोडका कारणले केही समय पर्खनुस । नभए उद्योग अन्त सिफ्ट गर्नुस भनेको उनले जानकारी दिए ।
‘त्यहाँ संरचनाको ओभरलोडका कारण तत्काल उद्योग राख्न नसकेको होला । तर, अरु ठाउँमा लाइन रोकिएको छैन’ उनले भने ।
अहिले पनि उद्योग क्षेत्रमा ४०० मेगावाट बिजुली खपत हुन सक्ने ऊर्जामन्त्री वर्षमान पुनले यसअघि एक कार्यक्रममा बताएका थिए । त्यतिमात्र होइन अहिले पनि १० प्रतिशत जनसंख्या अध्यारोमा छन ।
सरकारले आगामी दुई वर्षभित्र देशका सबै स्थानीय तहहरुमा बिजुली पुर्याउने गरी काम गरिरहेको छ । देशभरी प्रसारणलाइनबाट बिजुली पुर्याउने तयारी सरकारको छ ।