काठमाडौं । नेपाल आयल निगमले गत १९ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १०/१० रुपैयाँ मूल्य घटायो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ घटाएको हो ।
एकै पटक ठूलो रकममा मूल्य घटाए पनि यो पटक भने उपभोक्ताहरु खुसी देखिएनन् । बरु उल्टै निगमको विरोध गर्दै सामाजिक संजालमा ब्यंग्य काटिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय तेलको मूल्यमा गिरावट आइरहेको बेला यस अघि निगमले इन्धनको मूल्यमा २÷२ रुपैयाँ मात्र घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको तुलनामा नेपालमा थोरै मूल्य घटाएको भन्दै निगमको चौतर्फी विरोध भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा १५÷१५ दिनमा नयाँ मूल्य आउने गरेको छ । त्यही आधारमा निगमले पनि मूल्य घटाउने र बढाउने गरिरहेको छ ।
पछिल्लो समय निगमले आफ्नो नाफा बढाउन अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपालमा थोरै घटाएको भन्दै आलोचना खेपिरहेको बेला केही दिन अघि एकै चोटी १० रुपैयाँ घटाउदा पनि स्यावासी पाउन सकेन् ।
निगमले एक्कासी एकै पटक ठूलो रकम घटाएर चौतर्फी वाह ! वाह कमाउने सोच बनाएका निगम सञ्चालक समितिको निर्णयमा भने उपभोक्ताहरु खुसी भएनन् । धेरै उपभोक्ताहरुले सामाजिक संजाल मार्फत निगमको विरोध गरेका छन् ।
सरकारले १५ दिन लक डाउन गरेपछि अहिले अत्यावश्यक बाहेक कुनै सवारी साधानहरु सञ्चालनमा आउन सकेको छैन भने सम्पूर्ण कार्यालयहरु बन्द रहेको छ । सबै उपभोक्ताहरु घरमै थुनिएर बसेको बेला निगमले मूल्य घटाए पनि त्यसको उपभोग कसैले गर्न पाएका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले निजी र सार्वजनिक यातायातका कुनै पनि सवारी साधान नचलकेको बेला निगमले मूल्य घटाएर बहादुरी देखाएको बताए । ‘लाखौ मोटर साइकल र लाखौ गाडीहरु घर भित्रै बसिरहेका अवस्थामा मुल्य घटाएर जुन बहादुरी देखाएको छ, अध्यक्ष तिमिल्सेनाले भने ‘यो उपभोक्ताको आखामा छारो हाल्ने काम मात्र भएको छ ।’
निगमले भोलिको दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा १० रुपैयाँसम्म घटाएका थियौं भन्नका लागि मात्र घटाएको उनको आरोप छ । मूल्य घट्दा उपभोक्ताले राहत पाउनका लागि ढुवानीका सवारी साधानहरुको भाडा घटेर बजारमा दाल, चामल सहित अत्यावश्यक खाद्य बस्तुको मूल्य घट्नु पर्ने हो उनले भने तर अहिले ती बस्तुहरुको मुल्य पनि घटेको छैन ।
कोरोना भाइरसको संक्रमण बढ्न नदिने उद्धेश्यले सरकारले लक डाउन गरे पछि अधिकाशं पम्पहरु बन्द रहेका छ । अहिले सेना र प्रहरीले सञ्चालन गरेका केहि पम्पहरु बाहेक अरु सबै बन्द रहेको बेला मूल्य घटाउँदा उपभोक्ताको हातमा शुन्य भएको एक उपभोक्ताले भने ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्य अनुसार समायोजन गरिएको बताए । यसमा निगमले लक डाउनको मौका छोपेर मूल्य घटाएको नभई अन्तर्राष्ट्रिय प्रचलन अनुसार घटाएको उनको भनाई छ । यसबाट केहिलाई नाफाँ घाटा भएको होला,यो हाम्रो सरोकारको विषय होइन,उनले भने ।