काठमाडौं । सरकारले लक डाउन घोषणा गर्नुभन्दा केहि दिन अघि मात्र उद्योग ,वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम व्यवसायीलाई मन्त्रालयलमै बोलाएर इन्धन स्टकमा राख्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि अधिकांश पम्पहरुले आफ्नो इन्धन भण्डारण क्षमता अनुसार सामान्य अवस्थामा भन्दा बढी इन्धन भण्डार पनि गरे । त्यसको केहि दिनमै कोरोनो त्रासका कारण सरकारले देशभर लकडाउन घोषणा ग¥यो ।
लकडाउन भएपछि गाडी नचल्ने कारण इन्धनको बिक्री पनि भएन जसले गर्दा भण्डारण गरिएको तेल खपत हुन पाएन । तर, लकडाउनको एक सातापछि पेट्रोल, डिजेल र मट्टितेलमा एकैपटक १०÷१० रुपैयाँ मुल्य घटाइयो । अधिकांश पम्पमा पर्याप्त इन्धन रहेकै समयमा इतिहासमै सबैभन्दा बढी इन्धनको मूल्य घटाएर आयल निगमले व्यवसायीहरुलाई धोका दिएको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । उनी भन्छन् ‘मन्त्रीको निर्देशनमा इन्धण भण्डारण बढाएका व्यवसायीहरु अहिले निगमले एकाएक मुल्य घटाएपछि तनावमा परेका छन् ।’
मन्त्रीको निर्देशन मान्दा आफुहरुलाई धोका भएको भन्दै सरकारप्रतिको विश्वास गुमेको उनको भनाई छ । संकटमा सरकारलाई साथ दिइरहदा पनि सरकारले भने आफुहरुलाई समस्याग्रस्त बनाएको उनको आरोप छ ।
मुल्य घटाउदा ३० देखी ४० करोड घाटा
नेपाल आयल निगमको संचालक समितिको वैठकले पेट्रोलियम पदार्थको मुल्य एकैपटक १० रुपैयाँ घटाउदा ३० देखी ४० करोड रुपैयाँ नोक्सान भएको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनको दाबी छ । मन्त्रीको निर्देशनमा ठूलो मात्रामा पेट्रोलियम पदार्थको भण्डारण गरिएको र एक्कासी निगमले मुल्य घटाउदा आफुहरु समस्यामा परेको बताउदै व्यवसायीहरुलाई क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग अघि सारेका छन् ।
देशभर अहिले करिब १ हजार ५ सय वटा पेट्रोल पम्पहरु रहेका छन् । ती पम्पहरुमा औषतमा दैनिक ४ लाखको कारोबार हुन्थ्यो । दैनिक ६० करोड रुपैयाँ भन्दा बढि कारोबार हुने व्यवसाय अहिले शुन्य अवस्थामा रहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए । अहिले सेना ,नेपाल प्रहरी र शसस्त्र प्रहरीले सञ्चालन गरेका बाहेक अन्य पम्प सुनसान जस्तै भएको छ ।
।