काठमाडौं । पाँच दिन देखी बन्द रहेको चितवन मिल्क सोमबारबाट सञ्चालनमा आउने सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । नजिकै रहेको बस्तिमा एक व्यक्तिलाई ज्वरो देखिएपछि कोरोना भाइरस भएको आशंक्का गर्दै गाउँका सबै घर भित्रै बसेपछि डेरी बन्द भएको थियो ।
लक डाउन अघि भारतबाट आएका एक व्यक्तिले गाउँका केहि व्यक्तिहरुलाई पार्टि खुवाएका थिए । त्यसको चार दिन पछि ती व्यक्तिलाई ज्वरो आएको र पार्टिमा डेरीका श्रमिकहरु पनि सहभागि भएको कारण स्थानीयहरु त्रसित भएका थिए । अरु व्यक्तिलाई पनि संक्रमण बढ्ने आशंक्का गर्दै स्थानीयहरुले तत्कालका लागि डेरी सञ्चालन नगर्न उद्योगीलाई आग्रह गरेका थिए । सोहि अनुसार अहिले सो डेरी बन्द भएको छ ।
“ज्वरो आएको व्यक्तिको रिपोर्ट आज भोलीमा आउछ,’ सञ्चालक श्रेष्ठले भने ‘रिपोर्टको आधारमा त्यो भन्दा अघिनै पनि सञ्चालन हुन सक्छ ।’
दैनिक १ लाख लिटर दुध प्रशोधन गर्न सक्ने क्षमता सो डेरीको रहेको छ । तर, बजारमा दुधको खपत घटेको कारण तत्कालका लागि दैनिक ६० हजार लिटर दुध मात्र प्रशोधन गर्ने उनले बताए । डेरीमा काम गर्ने श्रमिकका लागि व्यक्तिगत सुरक्षा सामाग्री(पीपीई)को व्यवस्था गरिएको छ ।
सहजीकरण गर्न तयार छौं : मेयर दाहाल
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले कुनै पनि बाहनामा अतिसंवेदनशिल भित्र पर्ने उद्योग बन्द गर्न नहुने बताइन् । कहाँ बाट रोकिएको र के कारणले बन्द भएको विषयमा अध्ययन गरिरहेको बताउदै आवश्यक परे सहजिकरण गर्न तयार रहेको उनले बताइन । तर,छिटो भन्दा छिटो डेरी सञ्चालनमा आउनुपर्छ । एक दिन पनि होल्ड गर्न नमिल्ने दुध चार÷पाँच दिन देखी नउठाउदा किसान मर्कामा परेको भन्दै यस्ता कुनै समस्या आएमा सिधै आफुलाई सम्पर्क गर्न आग्रह गरिन ।
“यदी त्यस्ता कुनै समस्या भएमा सिधै महानगरपालिकामा आएपनि हुन्छ वा फोनबाट सम्पर्क गरेपनि सहजिकरणका लागि तयार छु,मेयर दाहालले भनिन्, कसैलाई ज्वरो आएको भरमा अतिसंवेदनशिल क्षेत्र भित्र पर्ने उद्योग बन्द गर्नु गलत हो । ”
किसानको नजरमा नराम्रो भयौं : निवर्तमान अध्यक्ष राजभण्डारी
डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनीको राजभण्डारीले बजारमा दुधको खपत घटिरहेको बेला प्रशोधन गर्ने उद्योग समेत बन्द भएको कारण पछिल्ला केहि दिन यता दुध कम उठाएको बताउदै यसबाट किसानको नजरमा उद्योगी,व्यवसायीहरु नराम्रो भएको उनले बताए ।
“किसानले उत्पादन गरेका दुध पर्याप्त मात्रामा उठाउन सकेका छैनौं तर,हाम्रा पनि वाध्यताहरु छन्’ निवर्तमान अध्यक्ष राजभण्डारीले भने, ‘यसलाई स्थानीय सरकार ,मन्त्रालय र विभागले त्यहाँ गएर स्थानीयहरुलाई सहजिकरण गरिदिन आवश्यक छ ।’