काठमाडौ । खाना पकाउने एलपी ग्याँसको तुलनामा विद्युत्तीय कुकिङ (इन्डक्सन चुल्हो)मा उपभोक्तालाइ लागत ३ देखि ६ सय रुपैयाँ सम्म सस्तो हुने देखिएको छ । नेपाल विद्युत प्राधिकरणले तोकेको अहिलेको विद्युत महशुलको आधारमा पनि ग्याँसभन्दा इलेक्ट्रिक कुकिङको लागत सस्तो पर्ने देखिएको हो ।
विश्व महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइसर रोगको प्रभाव नेपालमा पनि परेको र जसका कारण ग्याँस अभाव हुन थालेपछि सरकारले ग्राहकलाई विद्युत्तीय इन्डक्सनमा जोड दिन थालेको छ ।
ग्याँस आयात प्रतिस्थापन गरि विद्युत खपत बढाउन सरकारले इलेक्ट्रिक कुकिङ लगायतका उपकरणको खरिद र विद्युत महशुलमा छुट दिएको छ । जस अनुसार १५० यूनिटसम्मे महशुलमा २० प्रतिशत छुट र इन्डक्सन आयातमा पनि २५ प्रतिशत भन्सार छुटको व्यवस्था गरेको छ ।
यसरी हुन्छ लागत सस्तो
मानौं, कुनै ५/६ जनाको परिवारले प्रयोग गर्ने १४.२ केजी एलपी ग्याँस सिलिन्डर औसत एक महिनालाइ पुग्छ । अहिले प्रतिसिलिन्डर उपभोक्ताको झन्डै १५०० रुपैयाँ लागत पर्छ ।
यता,इलेक्ट्रिक कुकिङ (इन्डक्सन चुल्हों)को सन्दर्भमा मुख्यतया बिहान र बेलुकाको पिक आवर (बेलुका ६ देखि ८ बजे र विहान ७ देखि ९ बजेसम्म) अर्थात बिहान २ र बेलुका २ घण्टा गरि दैनिक ४ घण्टा बिजुलीमार्फत चल्ने इन्डक्सन उपयोग गर्छन् ।
खासगरी, कुनै एक ब्रान्डको २१ सय वाट क्षमताको इन्डक्सन चुल्हो प्रयोग गर्दा त्यसमा औसतमा ११०० वाटमा खाना पकाइन्छ । सो इन्डक्सनमा ४००, ६०० र ८०० वाटमा खाना पकाउने विभिन्न अप्सन भएपनि औसत ११०० वाटमै ग्राहकले खाना पकाउने गर्छन् । त्यो भनेको १ किलोवाट हो । त्यसआधारमा बिहान र बेलुका २/२ घण्टा गरि दैनिक ४ घण्टामा ४ किलोवाट प्रतिघण्टा खपत हुन्छ ।
सामान्य ५/६ जनाको परिवार र ११०० वाटमा खाना पकाएको आधार मान्दा, प्रतिघन्टा १ किलोवाटका दरले दिनको ४ युनिट बिजुली खपत हुने भयो । सो आधारमा एक महिनामा इन्डक्सनबाट औसत १२० युनिट लाग्छ । प्राधिकरणको औसत प्रतियुनिट १० रुपैयाँ ट्यारिफका हिसावले १२० युनिटको मासिक १२०० सय महशुल उठ्छ । जुन, छुट नदिएको हालको अवस्थामा नै हो । ग्याँस सिलिन्डरमा उपभोक्ताले १५०० रुपैयाँ खर्चिदा बिजुलीको महशुल भने १२०० उठ्यो । अर्थात ३०० सय रुपैयाँ बिजुलीबाट चल्ने इन्डक्सनमै सस्तो पर्छ ।
अझ सबेै ग्राहकले ११०० वाटमा खाना पकाउँदैनन् । त्यो भन्दा कम क्षमतामै खाना पकाउँदा झन सस्तो हुँदै जान्छ । दिनको ४ घण्टा नै ग्राहकले खाना पकाउन समय खर्चिदैनन् । २/३ घण्टामै पकाइसक्छन् । यसबाट पनि बिजुलीको लागत कम हुने देखिन्छ ।
यदि, बिहान र बेलुकामा डेढ/डेढ घण्टा गरि दिनको ३ घण्टा बिजुली प्रयोग गर्दा ३ युनिट उठ्ने भयो । दैनिक ३ युनिटका हिसावले मासिक ९० युनिटको प्रतियुनिट १० का दरले ९०० रुपैयाँ बिल उठ्ने भयो। यो झन ग्याँस भन्दा ६ सय रुपैयाँ सस्तो हुन जान्छ।
छिटो पाक्छ खाना, समयको बचत
ग्याँसको तुलनामा इलेक्ट्रिक कुकिङको तापीय क्षमता (इफिसेन्सींं) बढि हुन्छ । ग्याँस बाल्दा त्यसको हिटिङ क्षमता ५० प्रतिशत मात्रै खाना पकाउँदा उपयोग हुन्छ भने बाँकी ५० प्रतिशत वायुमण्डलीय र बाह्य कारणले हिटिङ खेर गइरहेको हुन्छ । यता, इलेक्ट्रिक कुकिङको हिटिङ पावर ८५ प्रतिशत खाना पाक्नमै उपयोग भएको हुन्छ । जसका कारणले हिटिङ पावर बढि दिने इलेक्ट्रिक कुकिङबाट खाना छिटो पाक्छ । यसले समयको बचत समेत हुने यससम्बन्धी जानकार बताउँछन् ।
अर्थतन्त्रमा समेत सहयोग
अहिले हामीले प्रयोग गर्ने ग्याँस विदेशबाट आयात गर्नुपर्छ । जसको आयातबाट नेपालले बार्षिक ३६ अर्बौ रुपैयाँ गुमाइरहेको छ । यदि ग्राहक तथा उपभोक्ताले ग्याँसको सट्टा इलेक्ट्रिक कुकिङ प्रयोग गरेमा ग्याँस आयातमा कमी आई ठूलो राशि जोगिन्छ । यसले देशको अर्थतन्त्र र व्यापार घाटामा समेत कमी आउने देखिन्छ ।
एकैचोटी सबै ग्राहकले ग्याँस विस्थान गर्न नसकेपनि प्रत्येक परिवारले कम्तीमा एउटा इलेक्ट्रिक कुकिङ प्रयोग गरेपनि ग्याँसबाट गुम्ने ५० प्रतिशत रकम जोगिने प्राधिकरणका सहायक प्रवन्धक सागर जवाली बताउँछन् । भर्खरै ग्याँस रिप्लेस गर्छु भन्ने कुरा हावादारी हो । किनभने हामीले तीनवटा चुल्होमा भात, तरकारी र पानी तताउनुपर्छ हामीलाई । त्यसअनुसारको पूर्वाधार चाहियोु उनी थप्छन् अहिले एउटा भान्सामा एउटा इन्डक्सन अहिलेको अवस्थामा सम्भव छ । यसले ५०/५० प्रतिशत ग्याँस र इन्डक्सन उपयोग हुन्छ । अर्थतन्त्रमा पनि यसले सहयोग पुग्छ ।
ग्राहकलाई बिजुलीमा छुट नदिएको अहिलेकै अवस्थामा ग्याँस सिलिन्डर भन्दा इन्डक्सन चुल्होको लागत ३ देखि ६ सय सम्म सस्तो पर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नै बताउँछन् ।
सरकारले बिहान र बेलुकाको खाना पकाउने पिक आवरम (४ घण्टा) विद्युतको महशुलमा छुट दिने हो र सबै ग्राहकका घरघरमा समयका आधारमा दैनिक (टीओडी) मिटर हुने हो भने लागत झनै सस्तो पर्ने उनको भनाइ छ । अहिले अधिकांश ग्राहकोमा फरक फरक समयकमा विद्युत खपत रेकर्ड गर्ने टीओडी मिटर छैन । जसले इन्डक्सन प्रयोग गरेपनि, फ्रिजको प्रयोग वा अन्य विद्युत्तीय उपकरण प्रयोग गरेपनि अहिलेको मिटरले एकमुष्ठ खपत रेकर्ड गर्छ ।
यसकारण ग्राहकलाई इन्डक्सनको प्रयोगमा जोड दिने हो भने खरिदमा छुट, सहज उपलव्धता र घरायसी प्रयोजनको पिक आवरमा विद्युत महशुल रेट सस्तो हुनुपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।
विद्युत नियमन आयोगले पनि महशुल निर्धारण गर्दा यो विषयलाई महत्त्वपूर्ण रुपमा हेर्नुपर्ने उनको जोड छ । अहिले इन्डक्सनको आयातमा सरकारले २५% छुट दिने निर्णय गरेको छ । यता, प्राधिकरणले पनि विद्युत्तीय कुकिङको प्रयोगमा २० प्रतिशत विद्युत महशुल छुट दिने निर्णय गरेको छ ।
आम ग्राहक तथा उपभोक्ताले गुणस्तरीय खालको इलेक्ट्रिक कुकिङ वा इन्डक्सन खरिद गर्नुपर्छ । त्यस्ता विद्युत्ती उपकरण कुनै कारणले बिग्रिहालेमा त्यसको मर्मत सम्भारमा कठिनाइ हुने भएकाले ब्रान्डेड र गुणस्तरीयनै रोज्नुपर्ने ज्ञवाली बताउँछन् । अहिले ३ देखि ४ हजार रुपैयाँसम्म मुल्यमा इन्डक्सन चुल्हो किन्न सकिन्छ ।