काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको १० दिन बितिसकेको छ । यो अवधिमा घरैमा बसेका अधिकांशले इन्टरनेटमा भिडियो कन्टेन्ट प्रयोग गरिरहेका छन ।
मानिसहरु भिडियो कन्टेन्ट, युटुब, फेसबुक र टिकटकमा बढी संक्रिय भएपछि इन्टरनेट ब्याण्डविथ खपत र इन्टरनेट ट्राफिक निकै बढेको सेवा प्रदायकहरुले बताएका छन् ।
टेलिकम कम्पनी र फाइबर इन्टरनेट सेवाप्रदायकका अनुसार यो समयमा सामान्य अवस्था भन्दा ६० प्रतिशतसम्म बढी इन्टरनेट प्रयोगको बढेको छ ।
इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले पनि भिडियोमा आधारित कन्टेन्टहरुको प्रयोग र माग शतप्रतिशत बढेको बताउँदै ब्यान्डबिथ खपत उच्च देखिएको जानकारी दिए ।
उनका अनुसार भिडियो कन्टेन्टले व्यान्डवीथ खपत अनियन्त्रित भएकाले सेवाप्रदायकले धान्न नसक्ने अवस्थामा पुगेको छ । ‘यूट्यूब र फेसबुक भिडियोको प्रयोग शतप्रतिशत बढेको छ’ उनले भने ।
त्यस्तै भायानेट कम्युनिकेशन प्रालिका प्रबन्ध निर्देशक विनय बोहराले लकडाउनमा मानिसहरु गुगल र युटुबमै व्यस्त रहेको जानकारी दिए । पछिल्लो पटक फेसबुकले भिडियोमा आधारीत फिचर ल्याएपछि सेवाग्राहिका आकर्षण त्यतै तर्फ रहेको उनको बोहोराको भनाई छ ।
गत हप्ता मन्त्रिपरिषद्को निर्णयले ग्राहकलाई मोबाइल डेटा २५ सस्तोमा उपलब्ध गराउन टेलिकम कम्पनीलाई सरकारले अग्रह गरेको थियो । अहिले नेपाल टेलिकम, एन्सेल, स्मार्ट टेलिकमले लकडाउन अवधिको लागी विभिन्न प्याकेज, सुविधा दिइरहेका छन् । जसका कारण फाइबर इन्टरनेट सँगै मोबाइल डेटाबापत पनि इन्टरनेट चलाउँनेको सङ्ख्या ह्वातै बढेको टेलिकमका सह प्रवक्त कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘मोबाइल अपरेटरहरुका अनुसार पनि सबैभन्दा धेरै प्रयोग यूट्यूब र फेसबुकको भएको देखिन्छ’ उनले भने ।
फेसबुक, युट्यूब, गुगलसँगै टिकटकपनि यो समयमा बढी हेर्ने कन्टेन्ट मध्य पर्ने सेवाप्रदाक कम्पनी बताउँछन् । पछिल्लो समय टेलिकम कम्पनीको डेटा खपत ५० प्रतिशतसम्म बढेको छ । यो बेलामा इन्टरनेट सेवाप्रदाक भने मारमा परेको आइस्पानका अध्यक्ष भोजराज भट्ट बताउँछन् ।
‘सरकारले २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ भने यतिवेला अघिकाश मानिस महशुल भुक्तानी नगरी काठमाडौं बाहिर गएका छन’ उनले भने अझै ‘लकडाउन लम्बीने हो भने इन्टरनेट व्यवसायनै धरापमा पर्ने छ’ ।
अहिले ग्राहकहरुले सेवा शुल्क नतिरे पनि वा नविकरण नगरेपनि सेवाप्रदायकल लाईन काटेका छैनन् ।