काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि दुध खपतमा कम आएको छ । निजी क्षेत्रबाट सञ्चालित डेरीहरुले दुध लिन छोडेपछि यसको प्रत्यक्ष मर्कामा किसानहरु परेका छन् ।
डेरीले मात्र हैन,यो बेला सबैभन्दा बढि दुध खपत हुने क्षेत्र होटल,रेष्टुरेन्ट पूर्ण रुपमा बन्द छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने धेरै मानिसहरु अहिले गाउँमा गएका छन् । उपभोक्तानै कम भएको कारण दुध खपतमा कमि आएको भन्दै डेरीहरुले दुध लिन बन्द गरेका छन् । चोक चोकमा खुलेका साना डेरीहरु बन्द भएको छ ।
लकडाउनपछि सरकारको स्वामित्वमा रहेका दुग्ध विकास संस्थान मात्र सञ्चालनमा छन । निजी क्षेत्रबाट सञ्चालित केही डेरीहरु सञ्चालनमा रहेका छन । तर, ती डेरीहरुले साविकको भन्दा धेरै कम दुध लिन थालेका छन् । डेरीले दुध लिन कम गरेपछि अहिले किसानहरुले दुध गाईलाई खुवाउन थालेका छन् ।
नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले लकडाउन पछि दुध खपतमा कम भएको कारण किसानहरुबाट दुध कम लिन थालेको जानकारी दिए । “बजारमा खपतनै कम भएपछि डेरीले पनि कम लिएको हो, अध्यक्ष राजभण्डारीले भने, डेरी भरिसक्यो,अब कहाँ राख्ने ?”
बजारमा दुध खपत कम भइरहेको बेला पाउडर दुध उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । नेपालमा पाउडर दुध उत्पादन दुई वटा निजी र एक वटा सरकारी डेरीले गर्दै आएको छ । निजी क्षेत्रबाट सञ्चालनमा आएको सुजल डेरी पोखरा बुधबारबाट सञ्चालनमा आएको छ । चितवन मिल्क डेरी सञ्चालनमा आउन सकेको छैन ।
सो डेरी सञ्चालमा ल्याउन नसक्दा दैनिक १ लाख लिटर दुध प्रशोधन हुन पाएको छैन् । बन्द रहेको डेरी बिहिबारबाट सञ्चालन गर्ने तयारी गरे पनि सरकारले कर्मचारीलाई बाहिर निस्कन नदिएकै कारण समस्या आएको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
डेरी नजिकै रहेका स्थानीयबासीहरुले पनि कर्मचारीहरुको आवतजावतले भाइरसको संक्रमण फैलिने भन्दै तत्काल सञ्चालन नगर्न दबाव दिएका छन् ।
यदी यो डेरी सञ्चालनमा ल्याउन सकेको भए त्यस आसपासका १ लाख लिटर दुध लिन सकिन्थ्यो । सरकारी तर्फबाट डेरी सञ्चालनका लागि दबाब आए पनि त्यहाँको समस्या समधान र कर्मचारीलाई आश्वासन नभएकै कारण समस्या भएको उनले बताए ।
सरकारले साथ दिएमा आफुहरु उद्योग सञ्चालन गर्न तयार रहेको उनी बताउछन् । चितवन मिल्क डेरीबाट दैनिक ८ हजार किलो धुलो दुध र ५ हजार किलो नौनी घ्यु उत्पादन हुने गरेको थियो ।
यस्तै सुजल डेरीमा दैनिक ८० हजार लिटर दुध प्रशोधन गर्दै आएको छ । दुग्ध विकास संस्थानको विराटनगरमा रहेको डेरीले दैनिक ५० हजार लिटर दुध प्रशोधन गर्दै आएको छ ।
“दुध खपत घटेको बेला सरकारले तीनै ठाउँको डेरीलाई तीन सिफ्टमा सञ्चालन गर्ने वातावररण बनाए केहि हदसम्म किसानको समस्यालाई समधान गर्न सकिन्छ, अध्यक्ष राजभण्डारीले भने,सरकारले सहयोग गरे हामी तयार छौं ”।
निजी क्षेत्रले सञ्चालन गरेको दुई वटा डेरीलाई तीन सिफ्टमा सञ्चालन गर्न तयार रहदा रहदै पनि कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकै कारण समस्या भएको उनको भनाई छ ।
तीनै ठाउँको डेरीलाई दैनिक तीन सिफ्टमा सञ्चालन गर्न सके दैनिक २ लाख लिटर भन्दा बढि दुध लिन सकिने उनले बताए । यसका लागि सरकारले आवश्यक वातावरण बनाइदिए आफुहरु तयार रहेको उनी बताउछन् ।
सरकारले अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई विषेश सुरक्षाको प्रबन्ध मिलाएर यस्ता उद्योगहरु सञ्चालनमा ध्यान दिन उनको आग्रह छ ।
“यो बेला किसानलाई बचाउन सकिएन भने ठूलो समस्या आइपर्छ, अध्यक्ष राजभण्डारीले भने,त्यसका लागि चितवन मिल्क डेरी सञ्चालनका लागि प्रयासरत छौं,यसबाट केहि राहत मिल्छ ”।
निजी क्षेत्रले धोका दियो : विभाग
पशु सेवा विभागका महानिर्देशक बङ्शी शर्माले निजी क्षेत्रले धोका दिएको कारण किसान समस्यामा परेको बताए । सरकारले आवश्यक सहयोग गरिरहदा समेत निजी क्षेत्रले दुध उठाउन छोडेकोले त्यसको हिसावकिताव राखिरहेको उनले बताए ।
कृषि तथा पशुपन्छी मन्त्रालय र पशुसेवा विभागको तर्फबाट चाडो भन्दा चाडो डेरी सञ्चालन गर्न निजी क्षेत्रलाई ताकेता गरिरहेको छ ,शर्माले भने, हामी सहजीकरण गरिरहेका छौं ।
निजी क्षेत्रले सरकार सामु दुई वटा समस्याहरु राखेका थिए । पहिलो घ्यू धेरै भएकोले राख्ने ठाउँ भएन भन्ने आएपछि विभागले हेटौडामा १२५ मेट्रिकटन क्षमता भएको कोल्ड स्टोर बनाइएको छ । जहाँ दुग्ध संस्थान र निजी क्षेत्रको घ्यू राख्न सकिन्छ ।
त्यसपछि स्थानीय स्तरमा दुध ढुवानी गर्न दिएन भन्ने समस्या थियो,त्यो पनि सम्बन्धीत क्षेत्रको वडा अध्यक्ष , मेयर र प्रमुख जिल्ला अधिकारीहरु सँगको समन्वयमा समधान गरिसकेको उनले बताए ।
अहिले निजी क्षेत्र एकपछि अर्को समस्यामा मात्र देखाउने र काम नगर्ने प्रवृत्ति देखाएका छन् । त्यहि भएर अब सरकारले ठूलो क्षमताको डेरी सञ्चालन गर्न सोच बनाएको उनले बताए । अव आउने बजेटमा डेरी क्षेत्रमा लगानी बढाउन सरकारलाई प्रस्ताव गर्ने तयारी आफ्नो रहेको उनले जानकारी दिए ।
किसानलाई मर्कामा पर्दा समेत दुध नउठाउनु भनेको गम्भिर विषय भएकोले यस विषयमा विभागले मुल्याकंन गरिरहेकोले लकडाउनपछि सहयोग नगर्ने डेरीलाई कार्वाही गर्न लिष्ट तयार पारिरहेको छौं,महानिर्देश शर्माले भने ।
अहिले नेपालमा दैनिक २२ लाख लिटर दुध उत्पादन हुदै आएको छ । ती मध्ये १५ देखी १७ प्रतिशत दुध मात्र प्रशोधनका लागि जाने गरेको छ । यो तथ्यांक हेर्दा अहिले देशैभरी दुध खपत घटेको छ ।
दुध खपत घटेपछि किसानहरुले त्यहि दुध गाईलाई खुवाउन लागेका छन् । डेरी उद्योग संघका अनुसार काठमाडौं उपत्यकामा खपत आधा घटेको छ । उपत्यका भित्र दैनिक ६ लाख लिटर दुध खपत हुने गरेको थियो ।