काठमाडौं । हुलाकी सडकअन्तर्गत पर्ने पाँच पुल अलपत्र परेका छन् । पप्पु कन्ट्रक्सन कम्पनीले ठेक्का लिएका ती पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेर रुग्ण बनेका हुन् ।
पप्पुले ठेक्का सम्झौता गरी विसं २०६८ सालमा निर्माण सुरु भएका हुलाकी सडकमा तीन ओटा पुल अहिलेसम्म निर्माण हुन सकेका छैनन् । पटक पटक म्याद थप गरी पुल आयोजना निर्माणको मिति लम्ब्याइएको छ । पुलको काम कहिलेसम्म पूरा हुने हो कुनै पत्तो छैन । पप्पु कन्ट्रक्सनले अधिकांश पुल ठेक्का हडप्ने र अलपत्र छाड्ने गरेको छ ।
विसं २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भएको धनुषाको कमला पुलको ‘सबस्ट्रक्चर’ निर्माणको कामसमेत भएको छैन । अन्तिम मिति २०७१ मङ्सिरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्म पुलको ५० प्रतिशत पनि काम हुन सकेको छैन । त्यस्तै, सोही मितिमै झापाको कन्काइ पुलको हविगत पनि उस्तै छ । पुलको जग, सबस्ट्रक्चर, सुपरस्ट्रक्चरलगायतका धेरै काम पप्पुले अलपत्र छाडेको छ । ती दुवै पुलको प्रगति २० प्रतिशतभन्दा कम छ ।
त्यस्तै, सिरहामा निर्माणाधीन बलान पुल पनि समयमै निर्माण हुन नसकी अलपत्र बनेको छ । विसं २०६८ फागुनमा ठेक्का सम्झौता भएको उक्त पुल २०७२ सालसम्म पनि सम्पन्न हुन सकेन । पटक पटक म्याद थपेर पनि पुल नबनेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस्ता पुललाई रुग्ण पुलको सूचीमा राखेको छ ।
त्यस्तै, पप्पु र अन्य कम्पनीको जेभीमा ठेक्का भएका तिनाउखोला र दानवखोलाका दुई ओटा पुल निर्माणमा पनि पप्पुले विभिन्न बहाना बनाई अलपत्र पारेको छ । २०७१ असारमा ठेक्का सम्झौता भएका भएका ती पुल २०७३ असोजसम्म बन्नुपर्ने थियो । पटक पटक म्याद थपे पनि पुल निर्माण हुन सकेका छैनन् ।
पप्पुले नै निर्माणको जिम्मा लिएको पर्सा जिल्लाको तिलावे पुल पनि अहिले अलपत्र छ । २०७१ मै ठेक्का सम्झौता भई निर्माण सुरु भएको आयोजना अधिकांश काम अलपत्र छ । संसदको विकास तथा प्रविधि समितिले स्थलगत अध्ययन गरी पुल निर्माणमा चरम लापरबाही गरेकाले पप्पसलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
समयमै पुल नबनाउने र अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनका अधिकांश ठेक्का तोड्ने अवस्थामा पुगेको हुलाकी राजमार्ग आयोजनाका प्रमुख अशोक तिवारीले बताए । बलान पुलको अलपत्र काम सब कन्ट्रयाक्टरमार्फत अघि बढाइएको तिवारीले बताए । ‘ठेक्का लिएर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनसँगको ठेक्का तोड्न सूचना निकाल्ने तयारीमा छौं’, उनले भने, ‘पप्पुका अधिकांश ठेक्का तोडेर सबकन्ट्रयाक्टर र नयाँ ठेक्का प्रक्रियाबाट अघि बढाउँछौं ।’
हुलाकी राजमार्गअन्तर्गत मात्रै पप्पु कन्ट्रक्सन र अन्य कम्पनीको जेभीमा झन्डै डेढ अर्ब रुपैयाँका ठेक्का सम्झौताका पुल अलपत्र परेका हुन् ।
राजधानीको टेकु—कालिमाटी पुल सम्झौताको एक वर्ष ढिला गरी सम्पन्न गरे पनि कमसल निर्माण सामग्री प्रयोग भएको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले अहिलेसम्म ‘ह्यान्डओभर’ लिएको छैन । सडक विभागले उक्त पुल सञ्चालनमा रोक लगाएको छ । त्यस्तै, तीनकुनेस्थित वागमती नदीमाथि निर्मित पुल निर्माणमा पनि पप्पुको लापरबाही भएको संसदको विकास तथा प्रविधि समितिको प्रतिवेदनले देखाएको छ ।
सडक विभागको निर्देशनविपरीत पुलको ढलान स्ल्याब गरेको भन्दै पप्पुलाई पुल निर्माण अघि नबढाउन पत्र काटिएको थियो । त्यसपछि सङ्घीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का र समिति सदस्यहरुले पुलमा देखिएको समस्याबारे स्थलगत अवलोकन गरी प्रतिवेदन तयार गरेका थिए । समितिले पनि पुल निर्माणमा लापरबाही गर्ने पप्पुलाई कारबाही गर्न भौतिक मन्त्रालयलाई निर्देशन दिएको थियो ।