काठमाडौं । ‘ग्याँसको घुुम्ती सेवा भन्दा इन्डक्सन चुल्होको होम डेलिभरी नै प्रभावकारी होला व्यक्तिगत प्रयोजनका लागि’ नेपाल विद्युत प्राधिकरणकी सुचना अधिकारी लिला अर्यालले ग्यासको अभावमा इन्डक्सनकोे आपूर्ति गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिन् ।
उनको सो पोष्टमा कमला पोखरेलले कमेन्ट गर्दै आफुले इन्डक्सन नपाएको र घरबेटीले प्रतियुनिट बिजुलिको महशुल १५ रुपैयाँसम्म लिने गरेका बताएकी छन । तर, अर्यालले इन्डक्सन र घरायसी प्रयोजनमा अधिकतम प्रति युनिट १३ रुपैयाँ महशुल भएकाले लागत महंगो नपर्ने प्रतिउत्तर गरिन् । त्यसको जवाफमा उनी लेख्छिन, ‘घरबेटीले प्रतियुनिट १५ रुपैयाँ लिन्छन कारबाही गर्नुपर्यो हजुरहरुले।’ जवाफमा अर्यालले घरबेटीसँग कुरा गरेर औसत बिल तिर्न सुझाव दिन्छिन ।
यसबाट के प्रष्ट हुन्छ भने सरकारले तोकेको भन्दा बढी विद्युत महशुल तिर्न उपभोक्ता बाध्य हुनुपरेको छ । प्राधिकरणले तोकेको भन्दा बढि महशुल लिएर घरबेटीले विद्युतको व्यापार गरिरहँदा पनि नियामक मौन छ । यसअघि प्राधिकरणको नेतृत्व सम्हालेको ३ बर्ष पूरा भएको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनका क्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले तोकेको भन्दा बढि महशुल लिने र विद्युत्को व्यापार गर्ने घरबेटीलाइ कारबाही गर्ने बताएका थिए । त्यसयता, न कुनै उपभोक्ता वा ग्राहकको गुनासो र समस्या सुनियो न त कुनै घरबेटी उपर कारबाही नै भयो ।
बेला बेलामा ग्राहकले बढी महशुल तिर्न बाध्य भइ ठगिएको गुनासो आउँदा पनि प्राधिकरणले कुनै सुनुवाइ नगरेको उपभोक्ताको दुखेसो छ । अहिले पनि उपभोक्ता प्राधिकरणले तोकेको भन्दा बढि १५ देखि २५ रुपैयाँ प्रतियुनिट महशुल तिर्न बाध्य छन् ।
उर्जा मन्त्रालयले भर्खरै १५० युूनिटसम्मको बिजुलीमा २० प्रतिशत छुट दिने तथा इन्डक्सन आयातमा पनि भन्सार छुट दिने निर्णय गरेको छ । तर, सरकारले इन्डक्सन र अन्य विद्युत्तिय उपकरणमा जोड दिइरहँदा बिजुलीको महशुल, छुट र सहुलियत दिने कुरा प्रष्ट मापदण्ड बनाएर कार्यान्वयन नगर्दा उपभोक्ता घरबेटीबाट ठगिनु परेको राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । सरकारी कर्मचारीको उधारो घोषण र कर्मकाण्डी प्रकृयाका कारणले उपभोक्ता समस्यामा परेको उनको भनाइ छ ।
सबै ग्राहककोमा टीओडी मिटर नहुँदा समस्या
यता,सरकारले भने इन्डक्सन प्रयोगमा बढ्ता जोड दिइरहेको छ । तर, महशुलको निश्चित मापदण्ड नतोकिदा भने उपभोक्ता घरबेटीबाट ठगिएका हुन् । अहिलेकै अवस्थामा सवै ग्राहककोमा समयका आधारमा दैनिक(टीओडी) मिटर जोडिएका छैनन् । जसका कारण इन्डक्सन प्रयोगबाट हुने लोडको ट्रयारिफ अन्य विद्युत्तीय उपकरणको लोड सरह महशुल लाग्ने गरेको छ ।
विहान र बेलुकाको पिक समयमा इन्डक्सन चुल्हो प्रयोगबाट लाग्ने महशुल अरुबेला भन्दा सस्तो हुनुपर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । उनले अहिले जडान भएको मिटरको सट्टा टीओडी मिटर नै इन्डक्सन प्रयोग गर्ने ग्राहकलाई आवश्यक हुने बताउँछन् ।
इन्डक्सनको प्रयोग गरेबापत साँझ र बिहानको औसत ४ घण्टाको घरायसी लोडको अन्य बेलाको हकमा भन्दा केही फरक र सस्तोे हुनुपर्ने अधिकारीको तर्क छ ।
महशुल निर्धारणमै ढिलाइ
विद्युत नियमन आयोगलाई विद्युतिय उपकरण प्रयोगबापत ग्राहकले तिर्नुपर्ने विद्युत महशुल दर निर्धारण गर्ने अख्तियारी छ । तर, अहिलेसम्म पनि आयोगले महशुल निर्धारणको टुंगो लगाउन सकेको छैन । यसअघि आयोगले सार्वजनिक सुनुवाइ गरेर विद्युत महशुल निर्धारणको अन्तिम टुंगो लगाउने भनेपनि कोरोनाका कारण स्थगित हुन पुग्यो ।
बिद्युतको खपत बढाउन सकस
लकडाउनको हालको अवस्थाका कारणले विद्युत खपत बढ्न नसकेको प्राधिकरणले जनाएको छ । सामान्यतया १२०० मेगावाट हाराहारीमा हुने नेपालभरको विद्युत लोड अहिले ९६० मेगावाटमा झरेको छ । करिब ४५० मेगावाट हाराहारी विद्युत खपत हुने काठमाडौं उपत्यकाको अहिले लोड साढे २ सय देखि ३ सय सम्म छ ।
यता, भारतबाट साढे ३ सय मेगावाट बिजुली आयात हुने गरेकोमा अहिले ६० मेगावाट मात्रै आयात भएको छ । अहिले प्राधिकरणको ध्यान कसरी बिजुलीको खपत बढाउने भन्नेमा छ । उद्योगधन्दा र कलकारखाना नचल्दा पनि विद्युत बचत भइरहेको छ । बिजुलीको खपत बढाउन र ुइफिसेन्सीु का हिसावले इन्डक्सन महत्त्वपूर्ण मानिन्छ ।
अहिले ग्यास आपूर्तिमा समस्या आएपछि अधिकांश ग्राहक विद्युत्तीय कुकिङतर्फ आकर्षित हुन थालेका छन । हाल ग्यास आयातबाट बार्षिक ३६ अर्व रुपैयाँ विदेशिने गरेको छ ।