काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले गरेको लक डाउनका कारण उपत्यकामा दुध आधा भन्दा बढी खपत घटेको छ । लक डाउनपछि होटल, रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द भएपछि उपत्यका सहित देशैभरी दुध खपत घटेको हो । दुधको माग घटेपछि सबैभन्दा बढि मर्कामा किसानहरु परेका छन् ।
उपत्यकामा सबैभन्दा बढि दुध खपत हुने क्षेत्र होटल, रेष्टुरेन्टहरुहरु बन्द भएको र आधा भन्दा बढि उपभोक्ताहरु गाउँमा गएको कारण दुध खपत घटेको डेरी उद्योग संघका अध्यक्ष अरनीको राजभण्डारीले जानकारी दिए । होटल र रेष्टुरेन्टहरु करिब १ महिना देखी बन्द रहेको छ ।
सामान्य अवस्था माउपत्यकामा दैनिक ६ लाख लिटर दुध खपत हुने गरेको थियो । तर ,अहिले त्यसको अनुपातमा ३ लाख लिटर दुध खपत हुन पनि मुस्किल हुन थालेको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
बजारमा दुध विक्रि हुन छाडेपछि डेरीमा दुध भरिन थालेको छ भने किसानहरुले गाईलाई नै दुध खुवाउन लागेका छन् । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएका डेरीहरु करिब ८० वटा रहेका छन् । दर्ता विनै पनि धेरै डेरीहरु सञ्चालनमा आएका छन् । बजारमा दुध विक्रि कम भएपछि किसानबाट दुध लिन डेरीहरुले समेत कम गरेका छन् ।
डेरी सञ्चालकहरुका अनुसार दुधबाट उत्पादन हुने दही, घ्यू लगायतका सामाग्री बनाउन पनि समस्या भएको छ । बजारमा आउने दुध मध्ये दुग्ध संस्थानको करिब १ लाख २० हजार लिटर, निजी डेरीबाट ३ लाख र बाकी साना डेरी तथा फार्महरुबाट विक्रि हुने गरेको थियो । तर, अहिले खपत कम भएपछि ती क्षेत्र सबै समस्यामा परेका छन् ।
कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा दैनिक २२ लाख लिटर दुध उत्पादन हुने गरेको छ । ती मध्ये १५ देखी २० प्रतिशत दुध मात्र प्रशोधनको लागि आउने गरेको छ ।
दर्ता भएका डेरी मध्ये प्रशोधन सहित सुविधा भएको १० लाख लिटर क्षमताको ४ वटा,१० हजार देखी ५० हजार लिटर क्षमताको ३५÷४० वटा र १० हजार लिटरसम्म क्षमता भएको ४० वटा जति रहेको उल्लेख छ । त्यस्तै दुग्ध विकास संस्थानको ८÷१० वटा डेरी सञ्चालनमा रहेका छन् ।