काठमाडौं । नेपालका दुरसञ्चार सेवाप्रदायक कम्पनीले आम्दानीमा गिरावट आउने बहाना बनाउदै इन्टरकनेक्सन शुल्क घटाउने समय थप गर्न लबिङ सूरू गरेका छन् । नियामक निकाय दुरसञ्चारे प्राधिकरणको निर्देशन अनुसार टेलिकम र एनसेलले आज अर्थात् चैत १९ गते देखि सो शुल्क घटाउनु पर्ने थियो ।
तर विभिन्न कारण देखाउदै इन्टरकनेक्सन गाइडलाइन अनुसार तोकिएको शुल्क घटाउन आनाकानी गरिरहेका हुन् । चार महिना अगावै लागू गर्नुपर्ने सो इन्टरकनेक्सन र अन्तर्राष्ट्रिय कल शुल्कका लागि दोस्रो पटक पुन समय लम्वयाउने तयारी गरेका छन् ।
प्राधिकरणका एक अधिकारीका अनुसार एनसेलले अप्रिलदेखि इन्टरकनेक्सन गाइडलाइन लागू गर्ने बताएको छ । तर, घटाएको छैन । टेलिकम आम्दानीलाई ठुलो असर गर्ने भएकाले विचाराधीन अवस्थामै रहेको बताएको जानकारी दिए । इन्टरकनेक्सन गाइडलाइन अनुसारको शुल्क कार्यान्वयन गर्न कठिनाई भएको भन्दै टेलिकम कम्पनी पुन नियामक समक्ष पुगेका छन् ।
दुबै कम्पनीहरुले नयाँ इन्टरकनेक्सन शुल्कले आम्दानीमा उच्च कमी आउने र राजस्व कमी हुनेभन्दै दबाब दिँदै आएका हुन् । दूरसंचार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले इन्टरकनेकसन गाइडलाइनले नै शुल्कबारे समेटेकाले टेलिकम कम्पनिले सो शुल्क लागू गर्नुपर्ने बताए । उनले इन्टरकनेक्सन गाइडलाइनको बारेमा पटक पटक अपरेटरहरुसँग छलफल गरिएको र लागू गर्ने समयपनि थप गर्दै आएकोले यो पटक शुल्क लागू नगरे कारवाही गरिने बताए ।
प्राधिकरण पनि अपरेटरहरुले लागू गर्ने मिति सार्न दबाब दिएसँगै अप्रिल १ देखि नै शुल्क कार्यान्वयन गराउने तर्फ जुटेको स्रोतको भनाइ छ । सेवाप्रदायक ले सो शुल्क नघटाउदा ग्राहकले चर्को शुल्कमा सेवा लिन बाध्य छन् । इन्टरकनेक्सन शुल्कले दुबै टेलिकम कम्पनीहरु को आम्दानीमा अर्बौं रुपैयाँ घट्नसक्ने बताइएको छ ।
यसबारे बारेमा दुबै टेलिकम कम्पनि आन्तरिक छलफल र अध्ययनमा जुटेको स्रोतले जानकारी दियो । त्यस्तै अन्तर्राष्ट्रिय कल शुल्क तर्फ ओटिटि सेवाले आमदानी घटिरहेको अवस्थामा गाइडलाइन बमोजिमको शुल्क लागू गर्दा टेलिकम संकटमा पर्ने टेलिकमका अधिकारीहरू बताउँछन् ।
नयाँ गाइडलाइन कार्यान्वयनमा आएपछि ग्राहकले एक टेलिकम कम्पनीको ल्यान्डलाइन सेवाबाट अर्को सेवाप्रदायकको ल्यान्डलाइनमा फोन गर्दा प्रतिमिनेट २० पैसा शुल्क तिर्नुपर्ने छ । यसअघि यस्तो शुल्क न्यूनतम १४ पैसादेखि अधिकतम ४८ पैसा रहेको थियो । त्यस्तै, एक टेलिकम कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा फोन गर्दा भने प्रति मिनेट शुल्क १० पैसा तोकिएको छ । यसअघिको अन्तरआबद्धता निर्देशिकाले मोबाइलबाट अर्को अपरेटरको मोबाइलमा कल गर्दा अन्तरआबद्धता शुल्क ५४ पैसा तोकेको थियो । त्यस्तै, नयाँ शुल्कसमेत निर्धारण गर्दै आगामी ८ वर्षमा अन्तरराष्ट्रिय आगमन कल बापत लिइने शुल्कलाई क्रमशः घटाउने योजना प्राधिकरणको छ प्राधिकरणले नेपालमा आउने अन्तरराष्ट्रिय आगमन कल शुल्कलाई आगामी ८ वर्षमा प्रतिमिनेट रू १.८ मा झार्ने बताएको छ ।
हाल अन्तरराष्ट्रिय आगमन कलमा टेलिकम सेवाप्रदायकले प्रतिमिनेट ८ रुपैयाँ तोकेका छन् । यो शुल्क विगत १ दशकदेखि घट्न सकेको छैन । अब प्राधिकरणले नयाँ निर्देशिकाअनुुसार अबको ५ वर्ष (विसं २०८१) मा आगमन कल शुल्क रू ४.४० तोक्ने छ भने आठौं वर्ष (२०८४) मा सो शुल्क प्रतिमिनेट रू १.८० पैसामा झर्ने लक्ष्य राखेको छ ।