बीबीसी । दुई सातामा कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुग्दा त्योसँग जुझ्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको दाबी छ।ह्वाइट हाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।
अमेरिकाले के गरिरहेको छ ?
ट्रम्पका अनुसार अहिलेसम्म ८ हजार १०० भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ। मिसिगनमा थप ४००, न्यूजर्सीमा ३००, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइनेछ।
एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए। कोरोना भाइरसका कारण अमेरिकामा दुई लाखको मृत्यु हुन सक्ने ट्रम्प कार्यदलका एक अग्रणी विज्ञले चेतावनी दिएका छन्।
तर ट्रम्पले पुनः भने केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्। फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ।
सहायताको योजना
भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक मानिन्छ।
राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए।
न्यूयोर्कको सेन्ट्रल पार्कमा अस्थायी अस्पताल बनाइएको छ। सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिएका थिए। इटलीका हकमा भने उनले १० करोड डलर बराबरका सर्जिकल र मेडिकल सामग्री पठाइने बताएका छन्।
सामाजिक दूरीमा जोड
राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा तीस दिनलाई निकै महत्त्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर १० लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने बताएका छन्।
उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे।
तर पत्रकारहरूले उनलाई प्रतिव्यक्ति जाँचमा अमेरिका किन दक्षिण कोरियाभन्दा पछाडि रह्यो भनेर सोधेका थिए। जबाफमा ट्रम्पले भने आफ्नो प्रशासनले गरेको प्रगतिका लागि आफूलाई बधाई दिनुपर्ने बताए।