काठमाडौं । कोराना भाइरसको माहामारीले अर्थतन्त्र डामाडोल बनेपछि चिन्तित बनेका उद्योगीलाई राष्ट्र बैंकको सर्कुलरले राहत दिएको छ ।
उद्योगीले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगधन्दा फस्टाउने गरी सर्कुलर ल्याउन गरेको आग्रहलाई राष्ट्र बैंकले सुनेको उद्योगीहरुले बताएका छन् ।
राष्ट्र बैङ्कले आइतबार जारी गरेको सर्कुलरले उद्योग क्षेत्रलाई सहयोग पु¥याएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।
‘राष्ट्र बैङ्कले जुन जुन बुँदामा जे जे कुरा उल्लेख गरेको छ, त्यसले उद्योग क्षेत्रलाई न्याय गरेको छ,’ आरएमसी ग्रुपका प्रवन्ध निर्देशक समेत रहेका अग्रवालले भने, ‘आजको सर्कुलरले बजारमा तरलता बढ्ने, थोरै भए पनि ब्याजदर घट्ने सम्भावना बढेको छ ।’
‘राष्ट्र बैंकले सीआरआरलाई तीन प्रतिशतमा झारिएको छ । यस अघि सीआरआर ४ प्रतिशत थियो । एक प्रतिशत सीआरआर घट्ने वित्तिकै ३५ अर्ब रुपैयाँ लगानीयोग्य पुँजी बजारमा आउँछ,’ नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘३५ अर्ब रुपैयाँ लगानीयोग्य पुँजी बजारमा आउनु भनेको धेरै राम्रो कुरा हो ।’
कामु गभर्नर सिवाकोटीको भनाइमा उद्योग अग्रवाल पनि सहमत छन् । उनी भन्छन्, ‘राष्ट्र बैङ्कले सीआरआर एक प्रतिशत घटाउने वित्तिकै लगानीयोग्य पुँजी पनि बजारमा आउने र ब्याजदर पनि कम हुने सम्भावना रहेको छ ।’
त्यसैगरी राष्ट्र बैङ्कले ब्याजदर करिडोर पनि एक प्रतिशत कम गराएको छ । राष्ट्र बैङ्कको यो प्रयासले पनि ब्याजदर केही कमी हुने आंकलन उद्योगीले गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरका अनुसार अहिले राष्ट्र बैंकले ल्याएको सर्कुलर स्वागतयोग्य छ । राष्ट्रबैंकले आफ्नो तर्फबाट जे गर्नुपर्ने थियो, त्यो गरेको उनको भनाइ छ ।
ब्याज घटाउनेदेखि लगानीयोग्य पुँजी बढाउनसम्म राम्रो भूमिका निर्वाह गरेको मोरको भनाइ छ । तर, राष्ट्रबैंकले पुनरकर्जा कोषलाई १ खर्ब पुर्याउन व्यवसायीले माग गरे पनि केन्द्रीय बैंकले ६० अर्ब रुपैयाँ पु¥याएको छ । यस अघि ५० अर्बको मात्रै पुनरकर्जा कोष थियो ।
केन्द्रीय बैङ्कका कामु गभर्नर सिवाकोटीका अनुसार अहिलेसम्म पुनरकर्जा कोषमा ४२ अर्ब रुपैयाँ मात्रै छ । तानतुन गरेर ६० अर्ब रुपैयाँ पुर्याउने बताए ।
केन्द्रीय बैंकले पर्यटन र यातायात क्षेत्रका लागि अल्पकालीक कर्जाको व्यवस्था पनि गरेको छ । यसलाई निजी क्षेत्रले स्वागत गरेको छ ।
तर, निजी क्षेत्रले सबै क्षेत्रलाई अल्पकालीन कर्जा लिनसक्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । अहिले कोरोना भाइरसबाट पर्यटन र यातायात बाहेकका क्षेत्र पनि प्रभावित भएका छन् । ती क्षेत्रले पनि अल्पकालीन कर्जा लिन पाउनुपर्ने परिसंघका उपाध्यक्ष अग्रवालले बताए ।
केन्द्रीय बैङ्कको सर्कुलरले उद्योगीलाई ठूलो राहत दिएको नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले बताए ।
‘राष्ट्र बैंकले आफ्नो तर्फबाट धेरै राम्रो गरेको छ,’ उनले भने, ‘ब्याजदर घटाउने, चैत मसान्तभित्र तोकिएको चालुपुँजी प्रकृत्तिका अल्पकालीन कर्जाको भुक्तानीको अवधि ६० दिनसम्म थप गर्ने, लगानीयोग्य पुँजी बजारमा ल्याउने काम गरेको छ । जुन उद्योगीका लागि एकदमै राम्रो हुन्छ ।’
सावाँ व्याज तिर्ने समय असार मसान्तसम्म पुर्याइयो
नेपाल राष्ट्र बैङ्कले उद्योगी/व्यवसायीले बैङ्कलाई चैत मसान्तमा बुझाउनुपर्ने सावाँ ब्याजको समयसीमा असारमसान्तसम्म पुर्याएको छ ।
कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र डामाडोल भए पछि राष्ट्र बैङ्कले साँवा र ब्याज भुक्तानी गर्ने समयसीमा असारमसान्तसम्मपुर्याएको हो ।
राष्ट्र बैङ्कको बैंक तथा वित्तीय संस्था नियमन विभागले सर्कुलर जारी गर्दै तीन महिनासम्म साँवा ब्याज बुझाउने समय तोकेको हो ।
यदि यो सर्कुलर नआएको भए उद्योगी/व्यवसायीले चैत मसान्तमा किस्ता, साँवा र ब्याज बुझाउनुपर्ने थियो । अब २०७७ असार मसान्तसम्म तिने हुन्छ ।
सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने राष्ट्र बैङ्कको सर्कुलरमा उल्लेख गरिएको छ ।
उद्योगी व्यवसायीले पटक पटक चैत मसान्तको सीमालाई बढाउन आग्रह गरेका थिए ।
देशको अर्थतन्त्र कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भए पनि उनीहरुले सरकारसँग यस्तो माग गरेको थिए । केही दिन अघि अर्थ मन्त्रालयले पनि कर्जाको साँवा र ब्याज बुझाउने समय बढाउन राष्ट्र बैङ्कलाई निर्देशन दिएको थियो ।