काठमाडौं । निम्न आय भएका र दैनिक रोजीरोटी गुमेका श्रमिकलाई राहत दिन सरकारले विशेष प्याकेज ल्याउने भएको छ । अर्थमन्त्रीले डा. युवराज खतिवडाले आगामी मन्त्रीपरिषद् बैठकमा विशेष राहत प्याकेज लैजाने अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले दैनिक ज्यालादारीलाई कुनै खालको प्याकेज नल्याएपछि आलोचित बनेको सरकारले आगमी मन्त्रीपरिषद्बाट राहत प्याकेज ल्याउन लागेको हो । त्यसका लागि अहिले अर्थले आफ्नो गृहकार्य गरिरहरको मन्त्रालयले जनाएको छ ।
खासगरी दिउसो कमाएर बेलुका खाने वर्ग बढी प्रभावित भएको निश्कर्ष निकाल्दै त्यस्ता वर्गलाई विशेष राहत प्याकेज ल्याउन लागेको अर्थ मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए ।
छिमेकी मुलुक भारतले गरिब तथा दैनिक ज्यालादारीलाई राहत दिन १७ खर्ब रुपैयाँबराबरको राहत प्याकेज घोषणा गरिसकेको छ ।
तर, नेपाल सरकारले कुनै पनि राहत प्याकेज नल्याएको भन्दै नेपाल काङ्ग्रेले आपत्ति समेत जनाएको थियो । त्यसैगरी काङ्ग्रेसले तत्काल रोजीरोटी गुमेका श्रमिकलाई विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको थियो ।
नेपालमा दैनिक ज्यालादारीको सङ्ख्या ठूलो छ । सरकारले मुलुक लकडाउन गरेपछि ती कामदारको रोजीरोटी समेत गुमेको छ । व्यावसायिक प्रतिष्ठानमा काम गर्ने कर्मचारीले धेरथोर सेवा सुविधा पाएका छन् । तर, दिउँसो कमाएर बेलुका खाने वर्ग अहिले अप्ठयारोमा परेको र त्यस्तालाई विशेष राहतको प्याकेज ल्याउनुपर्ने पूर्व श्रममन्त्री गोकर्ण विष्ट बताउँछन् ।
लकडाउन भएको चौथो दिनसम्म सरकारले यो क्षेत्रलाई लक्षित गरेर कुनै आर्थिक प्याकेज ल्याएको छैन् । कमाएको थोरै रकमले दैनिक गुजारा चलाउने वर्गको रोजीरोटी गुमेपछि सरकारले ज्यालादारी गर्ने श्रमिकलाई लक्षित गरेर विशेष प्याकेज ल्याउन लागेको हो ।
अर्थमन्त्रालयका अनुसार लकडाउनका कारण रोजीरोटी गुमाएका श्रमिहरु सरकारको विशेष प्राथमिकता पर्छन् । ‘अहिले कस्ता कस्ता क्षेत्र समेट्ने भनेर अध्ययन भइरहेको छ,’ मन्त्रालय स्रोतले क्यापिटलसँग भन्यो, ‘दुई अध्ययन गरेर आगामी मन्त्रीपरिषद् बैठकमा अर्थमन्त्रीज्यूले प्याकेज पेस गर्नुहुने छ ।’ अर्थमन्त्रालयले कस्तो प्याकेज ल्याउने हो त्यस बारेमा केही खुलाएको छैन् ।
सरकारले तत्काल राहज प्याकेज घोषणा गर्नुपर्ने र सरकारले ढिला गरे खानै नपाउने अवस्था आउने पूर्व श्रममन्त्री विष्ट बताउँछन् ।