काठमाडौँ । चालू आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षामा बजेट र राजस्वको आकार घटाइए पनि आर्थिक वृद्धिको लक्ष्यमा कुनै हेरफेर गरिएन । अर्थतन्त्रका हरेक सूचक सकारात्मक गतिमा अघि बढेका कारण साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै भेटाउन सकिने भएकाले नचलाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले समीक्षा कार्यक्रममा भनेका थिए ।
यद्यपि, अर्थमन्त्री खतिवडाले बजेटको अर्धवार्षिक समीक्षा गर्नुअघि नै विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६ प्रतिशतको हाराहारी मात्रै आर्थिक वृद्धि हुने सार्वजनिक गरे पनि त्यसलाई अर्थमन्त्री खतिवडाले स्वीकार गरेका थिएनन् ।
तर, २ वर्षे संसदीय कार्यकाल सकेर दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी लिएर अर्थ मन्त्रालय पुगेकै दिन खतिवडाले कोरोना भाइसरका कारण विश्वको अर्थतन्त्र धर्मराएको र त्यसको असर नेपालमा पनि पर्ने बताए । अर्थतन्त्रका कतिपय सूचकहरु अहिले नै नकारात्मक दिशातिर लागेको र यसकै कारण सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न असहज हुनेतर्फ उनले संकेत गरे ।
‘विश्व अर्थतन्त्रमा नोबेल कोरोना भाइरस (कोभिड १९) को असर परेको छ । नेपाल त्यसबाट अछुतो रहन सक्दैन,’ फागुन २१ गते पदभार ग्रहण गर्दै खतिवडाले भने, ‘अर्थतन्त्रका केही क्षेत्रलाई त्यसले असर गरिसकेको छ ।’ अर्थतन्त्रका विषयलाई लिएर माघ २९ र फागुन २१ गते तीन साताबीचको बोलीमा व्यापक भिन्नता देखिएको छ ।
खतिवडाकै भनाइलाई मान्ने हो भने पनि अर्थतन्त्र शिथिल भएको छ र त्यो कोरोना भाइरसकै कारण हो । यस आधारमा हेर्दा चालू आर्थिक वर्षमा लक्षित वृद्धि हासिल गरिएन भने त्यसको सम्पूर्ण भारी कोरोना भाइरसले बोक्नुपर्नेछ । पुँजीगत खर्च नहुनुको दोषी पनि कोरोना नै हुनेछ ।
अर्थमन्त्री खतिवडाले मध्यावधि समीक्षामा ६ महिनासम्म विनियोजित पुँजीगत रकम ४ खर्ब ८ अर्बको १५.४ प्रतिशत मात्रै खर्च भएको छ । यद्यपि दातृ निकायहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले आर्थिक वृद्धिमा सामान्य कमी आउने आकलन सार्वजनिक गर्न थालेका छन् ।
आईएमएफले संसारभर फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशत बिन्दुले खुम्चिन सक्ने अनुमान गरेको छ । यसअघि यो वर्षको विश्व अर्थतन्त्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरिएको थियो । एडीबीले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा करिब चार अर्ब रुपैयाँ (३ करोड ३० लाख अमेरिकी डलर) सम्म क्षति हुन प्रक्षेपण गरेको छ । यो भनेको नेपालको कुल गार्हस्थ उत्पादनको ०.१२ प्रतिशत मात्र हो ।
आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा पर्ने असरलगायत कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडीबीको अध्ययनले देखाएको छ ।
एडीबीको आकलन प्रारम्भिक चरणको भएकाले आगामी दिनमा कोरोना फैलावटले त्यसको असर अर्थतन्त्रमा देखिने उसको भनाइ छ ।
सुरुआती दिनमा चीनमा मात्रै केन्द्रित कोरोना अहिले विश्वव्यापी भइसकेको छ । युरोप र अमेरिकी मुलुक पनि यसबाट अछुतो छैनन् । त्यसकारण कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा पनि शिथिलता पक्कै आउँछ । तर, त्यसको मात्रा कति भन्ने फरक कुरा हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम रहेको औ“ल्याएको छ । केन्द्रीय बैंकले समीक्षामा भनेको छ, ‘कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थामा आवश्यकताअनुसार पुनरावलोकन गरिनेछ ।’
अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माका अनुसार कोरोना भाइरस नफैलिएको भए पनि ५ देखि ६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुन्थ्यो । ‘अब कोरोना फैलिएपछि ४ प्रतिशत मात्रै आर्थिक वृद्धि भए पनि ठूलो उपलब्धि हुन्छ,’ अर्थविद् शर्मा भन्छन्, ‘सबै क्षेत्र नकारात्मक गतिमा हिडिरहेका छन् । यस्तो अवस्थामा कसरी अर्थतन्त्र राम्रो हुन्छ ?’ त्यसै पनि सरकारले दिएको आर्थिक वृद्धिको लक्ष्यलाई अर्थविद्हरुले विश्वास गरेका थिएनन् ।
अर्थविद् डा. विश्वास गौचन अर्थमन्त्री खतिवडाले लिएको आर्थिक वृद्धिको लक्ष्यमा अर्थशास्त्रीहरु पहिले नै विश्वस्त नरहेको बताउँछन् । कृषि क्षेत्रको उत्पादनमध्ये खासगरी धान गत वर्षको तुलनामा १ प्रतिशतले घटेको छ । मकै र गहुँमा केही सुधार भए पनि त्यसले आर्थिक वृद्धिमा खासै ठूलो अर्थ राख्दैन ।
उता, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने आफूले लिएको लक्ष्यअनुरुप आर्थिक वृद्धि हासिल हुनेमा सरकार आफैँ विश्वस्त नभएको बताउँछन् । ‘तर, विश्वव्यापी रुपमा कोरोना भाइरसको असर देखिए पनि सरकार सहजै उम्किने वातावरण बनेको छ,’ गोल्छाले भने, ‘कोरोनाका कारण आर्थिक वृद्धि ३ देखि ४ प्रतिशतमै खुम्चिने सम्भावना छ ।’
अर्थमन्त्रीले भनेझैँ कोरोना भाइरसका कारण नेपालीको मनस्थिति (साइकलोजी) मा ठूलो असर देखिन थालिसकेको छ । कोरोना त्रास नेपालको औद्योगिक, पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सबै क्षेत्रमा पर्न थालिसकेको छ । सुरुमा पर्यटन क्षेत्र मात्रै प्रभावित हुने अनुनमान गरिएकामा पछिल्लो समय निर्माण र आयात÷निर्यातमा समेत असर पर्न थालिसकेको छ ।
कोरोना कहरले नेपालीमा खर्च गर्ने प्रवृत्तिमा कटौतीसँगै त्रास फैलाएर भविष्यका लागि अनावश्यक जोहो गर्ने क्रम बढेको छ । खासगरी अत्यावश्यक उपभोग्य वस्तुको नियमनमा सरकारी उदासीनता र मौकापरस्त व्यापारीका कारण अधिकांश नेपालीले आवश्यकताभन्दा बढी सामग्री खरिद गरेर राख्ने प्रवृत्ति बढेको छ ।
अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले सरकार आफैले सार्वजनिक खर्च घटाइसकेको अवस्थामा लक्षित आर्थिक वृद्धि सम्भव नै नभएकोे बताउँछन् । ‘यो भवितव्य नआएको भए पनि सरकारले के त्यस्ताे गरेकाे छ, जसले आर्थिक वृद्धिलाई माथि पु¥याओस्,’ वाग्लेले भने, ‘आर्थिक सुधार गर्ने भनिए पनि सतहमा केही देखिएको छैन, बरु जनस्तरमा आक्रोश फैलिरहेको छ ।’
उनले डुइङ बिजनेस सूचकमा शृंगारिक सुधार (कस्मेटिक रिफर्म) मात्रै रहेछ भन्ने पुष्टि भइसकेको बताए । डुइङ बिजनेस इन्डेक्समा नेपाल यस वर्ष १६ अंकले सुधार हुँदै ९४ औं स्थानमा उक्लिएको थियो । ‘निजी क्षेत्रको निराशा जस्ताको तस्तै छ । बाह्य लगानीको अवस्था पनि उस्तै छ,’ उनले भने, ‘कुन क्षेत्रबाट सरकारी लक्ष्य पूरा हुन्थ्यो र ?’
सरकार वित्तीय संघीयतालाई व्यवस्थापन गर्दै धेरै कुरा प्रणालीमा ल्याउन लागिपरेको देखिए पनि सबै काम एकैचोटि गर्न खोज्दा धेरै मान्छेलाई हच्काइरहेको वाग्लेको तर्क छ । बेथिति र विकृति भएको नेपालजस्तो देशमा सबै सुधारका प्रयास एकै पटक गर्दा त्यसले अर्थतन्त्रमा झन् जटिल समस्या ल्याउने अर्थविद्हरुको दाबी छ । अहिले देखिएको कोरोना भाइरसको महामारीले चालू वर्ष मात्रै नभएर आगामी आर्थिक वर्षको आर्थिक वृद्धिमा समेत धक्का लाग्ने अनुमान अर्थशास्त्रीहरुको छ ।
निर्माणमा देखिन थाल्यो असर
लामो समयदेखि नेपालको निर्माण क्षेत्र विभिन्न कारणले थलिएकै थियो । निर्माण क्षेत्रलाई चाहिने महङ्खवपूर्ण वस्तुमध्येको स्टिल उत्पादनमा कमी आएको छ । स्टिलको कच्चा पदार्थको रुपमा रहेको ब्लेटको आयात ह्वात्तै घटेको छ ।
उद्योगी शाहिल अग्रवालका अनुसार अहिले ब्लेट आयात ४० प्रतिशतले घटेको छ । ब्लेटको आयात घट्दा स्वतः नेपालमा स्टिल उत्पादन घटेको छ । त्यसैगरी सिमेन्टको उत्पादन पनि ४० प्रतिशत हाराहारी घटेको अनुमान छ । स्टिल र सिमेन्ट उद्योगमा प्रयोग हुने कोइलाको आयात पनि यो अवधिमा घटेको छ । स्टिल र सिमेन्ट उत्पादन कम हुनेबित्तिकै त्यसले निर्माण क्षेत्र प्रभावित भएको अनुमान लगाउन गाह्रो हुँदैन । कोइला आयात घट्नुका पछाडि स्टिल तथा सिमेन्टको उत्पादन घटेको सामान्य अनुमान लगाउन सकिने अग्रवाल बताउँछन् ।
निर्माण क्षेत्र सुस्त हुनेबित्तिकै अर्थतन्त्रमा ठूलो धक्का दिने सम्भावना छ । अर्थतन्त्रमा ७.७७ प्रतिशत योगदान रहेको निर्माण क्षेत्र सुस्ताउनेबित्तिकै त्यसले आर्थिक वृद्धिमा पनि स्वाभाविक असर पु¥याउँछ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) नेपालका अनुसार कोरोनाकै कारण दुई दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणमा असर देखिएको छ ।
चिनियाँ कामदारको बाहुल्य रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम २ महिनादेखि ठप्प छ । चालू आर्थिक वर्षभित्रै व्यावसायिक उत्पादन दिने लक्ष्य रहेको आयोजना कोरोनाकै कारण पूरा नहुने स्थितिमा पुगेको छ । त्यस्तै, ८६ मेगावाटको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजना, २.४ मेगावाटको अपर सांगे, ३० मेगावाटको न्यादीखोला, ४ मेगावाटको खुदी जलविद्युत् आयोजना पनि कोरोनाका कारण अघि बढ्न नसकेको जानकारी इपानले दिएको छ ।
त्यस्तै अवस्था छ, ८२ मेगावाटको तल्लो सोलुखोला र १०.७० मेगावाट क्षमताको माथिल्लो सानीगढ जलविद्युत् आयोजनाको पनि । यी दुवै आयोजना तोकिएको समयभन्दा ६ महिना बढी लम्बिने संकेत देखिएको छ । कोरोना प्रभाव देखाएर अहिले ३८.४६ मेगावाटको माथिल्लो कालगाढ, २१.३ मेगावाटको ठूलो खोला, २७ मेगावाटको दोर्दीखोला, ४८.८ मेगावाट क्षमताको खिम्ती–२ आयोजनाको काम रोकिएका छन् ।
नयाँ वर्ष मनाउन चीन गएका चिनिया“ कामदार र प्राविधिक कर्मचारी नफर्किएपछि चिनियाँ ऋण सहयोगमा निर्माणाधीन रसुवागढी नाका जोड्ने गल्छी–स्याफ्रुबे“सी सडकको काम अघि बढ्न सकेको छैन । ६४ किलोमिटरको सो सडक खण्डमध्ये स्याफ्रुबे“सी–रसुवागढी खण्डको १८ किलोमिटरमा चीन सरकारले काम गरिरहेको थियो । त्यस्तै, चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम गरिरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक विस्तारमा पनि समस्या भएको छ । १ सय १४ किलोमिटर सडक निर्माण गर्न करिब १५ अर्ब रूपैयाँ खर्चने गरी योजना अघि बढेको थियो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्मा जापानमा पनि कोरोना संकमण फैलिएसँगै नागढुंगा सुरुङमार्गको मुख्य काम समयमै सुरु गर्न नसकिने अवस्था आएको बताउँछन् । निर्माण ठेक्का लिएको जापानी कम्पनीले आउ“दो वैशाखदेखि सुरुङमार्गको मुख्य काम सुरु गर्ने कार्यतालिका बनाएको थियो ।
सबैभन्दा बढी प्रभावित पर्यटन
कोरोना भाइरसकै कारण विश्वव्यापी रुपमा सबभन्दा बढी प्रभावित हुने क्षेत्र हो, पर्यटन । एडीबीले पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव मध्यम स्तरमा देखिए जीडीपीको ०.०८ प्रतिशत क्षति हुने अनुमान गरेको छ । अर्थविद् वाग्लेका अनुसार कोरोनाका कारण पर्यटन क्षेत्रसँग जोडिएका खाद्य, यातायात, हवाई उद्योग, होटल, टुर गाइडलगायत धेरै पक्ष प्रभावित हुनेछन् । जीडीपीसँग पर्यटन आयको अनुपात २.२ छ ।
सरकारले अन्तर्राष्ट्रिय पर्यटकको भिसा रोक्ने निर्णय लिएको मात्रै छैन, ‘हेल्थ सर्टिफिकेट’ बिना नेपाल छिरेका चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फिर्ता पनि पठाएको छ । त्यसैगरी सरकारले चीन, इरान, इटाली, फ्रान्स, जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अनअराइभल भिसामा रोक लगाएको छ ।
सरकारले विश्वभर कोभिड– १९ संक्रमण फैलिएपछि यस वर्ष मनाइरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को विश्वभर गरिने प्रचारप्रसार अभियान रोकेको छ । यद्यपि भ्रमण वर्ष स्थगित गर्ने÷नगर्ने निर्णय सरकारले गरेको छैन । होटल व्यवसायीका अनुसार होटलको सञ्चालन खर्च निकाल्न पनि ६० प्रतिशत अकुपेन्सी हुनुपर्छ ।
तर, अहिले तारे होटलको अकुपेन्सी १५ प्रतिशत हाराहारी मात्रै छ । यो अकुपेन्सीले कर्मचारीलाई तलब सुविधासमेत उपलब्ध गराउन नसकिने हायात होटलका सञ्चालक सुरेशलाल श्रेष्ठले बताए । सरकारले ठूला सभा–सम्मेलन नगर्न आग्रह गरेसँगै होटल व्यवसाय झनै प्रभावित भएको छ । समग्र होटल तथा रेस्टुराँ क्षेत्रको जीडीपीमा २.०५ प्रतिशतको योगदान छ ।
भारत सरकारले आगामी अप्रिल १५ सम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्ध गरिदिएको छ । यसले भारतीय स्थलमार्ग हुँदै तस्रो मुलुकबाट नेपाल आउने पर्यटकको बाटो पनि बन्द भएको छ । यद्यपि अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’ का रुपमा गणना गर्ने गरिएको छैन । तर, तेस्रो मुलुकबाट आउने पर्यटकको भने गणना हुन्छ ।
स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ र यो निर्णयले लुम्बिनी क्षेत्र बढी प्रभावित हुनेछ । उत्तरी चीनतर्फको सीमा (रसुवागढी र तातोपानी) नाकासमेत बन्द छ । चीन र भारततर्फका नाका बन्द भएसँगै दुवै देशबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि स्थलमार्ग बन्द भएको छ ।
सन् २०२० को फेब्रुअरीमा कुल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएकामा स्थलमार्गबाट २४ हजार ३ सय ३६ जना र हवाई मार्गबाट ७७ हजार ६४ जना थिए ।
वैदेशिक रोजगारी पनि प्रभावित
नेपालको पनि वैदेशिक रोजगारीमा प्रमुख श्रम गन्तव्य मुलुकभित्र पर्ने कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । उसले नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
सुरुमा नेपाल आफैँले लिबिया, इराक, सिरिया, यमन र इरानमा रोजागारीमा जान प्रतिबन्ध लगाएकामा फागुन २९ गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रेजागारीका लागि दिइने श्रम स्वीकृति अनिश्चित कालसम्मका लागि स्थगित गरेको छ भने अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिलअगाडि ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय गरेको छ ।
म्यानपावर व्यवसायीका अनुसार साउदीले दुबई भएर जाने यात्रुलाई कडाइ गरेको छ र त्यसको मार नेपाली कामदारलाई पनि परेको छ । साउदीले फागुन २५ गते दुबईलाई ट्रान्जिट बनाएर आफ्नो मुलुक आउन लागेका १ सय २० यात्रुको उडान रोकेको थियो । फागुन १८ मै दुबईलाई ट्रान्जिट बनाएर गएका ३० नेपाली कामदारलाई बहराइनले एयरपोर्टबाटै फर्काइदिएको छ । इरानबाट दुबई हुँदै आएकामा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कामदार दुबई, बहराइन र साउदी जान पाएका छैनन् ।
उता, कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि मार्च महिनाभरिका लागि कामदार नपठाउने निर्णय नेपाल सरकार आफै“ले गरेको छ । श्रम स्वीकृति स्थगितले वैदेशिक रोजगारीमा जाने चाहने नेपाली कामदार स्वदेशमै बेरोजगार बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
वैदेशिक रोजगारीमा समस्या आउनेबित्तिकै मुलुकमा बेरोजगारी दर बढेर त्यसले अर्थतन्त्रमा पार्ने अरु प्रभावका अतिरिक्त विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा पनि ठूलो धक्का दिन्छ । रेमिट्यान्सको असर तुरुन्तै देखिँदैन र त्यसका लागि केही समय पर्खनुपर्छ ।
त्यसै पनि चालू वर्ष रेमिट्यान्स वृद्धिदर कम छ । गत वर्षको पुससम्म ३०.२ प्रतिशत वृद्धिदर रहेको रेमिट्यान्स चालू वर्षको पुससम्म मात्रै शून्य दशमलव ९ प्रतिशत छ । यस अवधिमा ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
विदेशमा भएका कामदार हतारमा स्वदेशमा फर्किने, स्वदेशबाट विदेशमा कामदार जाने नपाउने कारणले आगामी दिनमा यसको असर अझ ठूलो रुपमा देखापर्नेछ । हालै मात्रै मलेसियाको रोजगारी खुलेर त्यतातर्फ जान थालेका नेपाली कोरोनाका कारण विदेश यात्रा नै रोकिएपछि आगामी दिनमा ठूलो झट्का लाग्छ । नेपालको जीडीपी रेमिट्यान्स अनुपात २५.९ छ । कोरोना संकट लामो समय रहे वैदेशिक रोजगारीबाट हुने आम्दानी ठप्प हुने र त्यसले नेपाल गम्भीर आर्थिक संकटमा पर्ने सम्भावना उत्तिकै छ ।
अटोसहितका धेरै वस्तुको आयात ओरालो
मानिसमा नैराश्य व्याप्त भयो भने त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । किनभने, उसले दैनिक उपभोग्य वस्तु मात्रै खपत वा खरिद गर्छ । विलासिताका वस्तुको उपभोग नै गर्दैन । जब विलासिताका वस्तुको उपभोग बढ्दैन, त्यसपछि आयात घट्छ । यसले नेपालजस्तो राजस्वमुखी देशलाई नराम्ररी प्रभावित पार्छ ।
दैनिक उपभोग्य वस्तु उपभोग गर्नैप¥यो । त्यसैले त्यसको मूल्य बढे पनि माग घट्दैन । तर, विलासिताका वस्तुमा मूल्य प्रधानता हुन्छ । १ सय रुपैयाँ मात्रै मूल्य बढ्यो भने पनि त्यसले ठूलो असर पु¥याउँछ ।
जुन वस्तुलाई सरकारले विलासिताको सूचीमा राखेको छ, त्यस्ता वस्तुको आपूर्ति पनि कम र माग पनि कम हुने गर्छ । त्यसैगरी अटो क्षेत्रको आयात पनि ४० प्रतिशत घटेको छ ।
फुड एन्ड वेभरेज (एफएमसीजी) को १० देखि १५ प्रतिशत आयात घटेको छ । यसरी हेर्दा हरेक वस्तुको आयात एकातिर घटिरहेको छ भने अर्कोतिर आन्तरिक उत्पादनमा पनि गिरावट आइरहेको छ । सरकार आर्थिक वृद्धिको चापमा रहेका बेला कोरोना भाइरसको संक्रमण देखिएकाले त्यसैलाई बहाना बनाउने उपयुक्त समय आएको अर्थविद् गौचन बताउँछन् ।
विश्वव्यापी उत्पादन सञ्जाल बिग्रियो
विश्वको उत्पादन सञ्जालमा चीन कही“ न कही“ जोडिएको छ । सम्पूर्ण वस्तु चीनमा उत्पादन भएर विश्व बजारमा निर्यात नभए पनि कुनै न कुनै अंश वा पार्ट चीनबाटै आउनुपर्ने हुन्छ । त्यस्ता सामानको उत्पादन रोकिएकाले त्यसले विश्व अर्थतन्त्रलाई नै हल्लाएको वाग्ले बताउँछन् ।
मूल आयात विश्वका विभिन्न देशबाट भए पनि सप्लाइ चेन नै बिथोलिएको छ । यसले उत्पादनमूलक उद्योग र समग्र औद्योगिक उत्पादनमै ठूलो असर पारेको अर्थविद्हरु बताउँछन् । नेपालमा धेरै उत्पादन गर्न पनि आयात गर्नुपर्ने अवस्था छ । अहिले आयातमै अवरोध आइरहेको छ । यसले निर्यातमा पनि असर पु¥याउने नै भयो ।
अनिश्चितता कायमै
महामारीकै रुपमा फैलिएको नोबेल कोरोना भाइरस कहिलेसम्म रहन्छ, यकिन छैन । विश्व स्वास्थ्य संगठनले विश्वभरि कोरोना महामारी घोषणा गरेकाले परिस्थिति अझ लम्बिने आकलन गर्न सकिन्छ । चीनले कोरोना संक्रमण रोकिएको दाबी गरे पनि अन्य मुलुकमा भने यो द्रुत गतिमा फैलिरहेको छ ।
यही अनिश्चितताले लगानीको वातावरणसमेत बिग्र“दै गएको छ । मानिस यात्रामा निस्कन छाडेका मात्रै छैनन्, धेरै देशले भिसा रद्ध गर्ने नीति अख्तियार गरेका छन् । लामो समयसम्म कोरोना त्रास रहँदा मानिसमा भविष्यप्रति नैराश्य र अनिश्चितता बढाउँने हु“दा आर्थिक भावनालाई दबाउने अर्थविद् बताउ“छन् । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेका अनुसार यस्तो अनिश्चयको घडीमा मानिसले खर्च गर्नेभन्दा पनि पैसा जोगाउने र लगानी गर्नेतिर नभई उपयुक्त समयका लागि कुर्ने भएकाले अर्थतन्त्र स्वतः सुस्ताउँछ । यो अर्थतन्त्रका लागि राम्रो मानिँदैन ।
विश्व बैंकको साढे ३ अर्ब अनुदान
विश्व बैंकले कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न नेपाललाई २९ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ४३ करोड रुपैयाँ) अनुदान दिने निर्णय गरेको छ । विश्वका कोरोना प्रभावित मुलुकलाई आपतकालीन सहयोग घोषणा गरेको सहयोगबाट सो रकम नेपाललाई दिने निधो भएको हो । विश्व बैंकले विश्वका कोरोना प्रभावित मुलुकलाई १२ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेको थियो । विश्व बैंकले दिने सो रकम कोरोना भाइरसको सचेतना र रोकथामको पूर्वतयारीका लागि उपयोग गरिनेछ ।
यसका लागि आवश्यक विधि एवं क्षेत्र पहिचान गर्न अर्थ मन्त्रालयका प्रतिनिधि र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ ।
कोरोना रोकथाम र नियन्त्रण रणनीति
सरकारले नेपालमा कोरोना भाइरसको प्रभाव अहिलेसम्म नपरेको र भविष्यमा पर्न सक्ने सम्भावनालाई आकलन गर्दै ‘पकेट एरिया लक डाउन’ गर्ने व्यवस्थासहित त्यसको रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक गरेको छ । प्रस्तावित रणनीतिमा कोरोना प्रभावित मुलुकको अवस्था सामान्य नभएसम्म नेपालबाट हुने हवाई उडान स्थगन गर्ने, आवश्यक परे स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने, अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात– निर्यातमा रोक लगाउने, कोरोनाबाट संक्रमित देशबाट आउने नेपालीका साथै विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी क्वारेन्टाइनमा रहन निर्देशन दिनुका साथै त्यसको प्रभावकारी अनुगमन गर्ने व्यवस्था छ ।