काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको असरबाट जोगिन सरकारले सुरक्षात्मक रणनीति लिइरहेको बेला नेपाल एयरलाइन्स(एनएसी)ले पनि आफ्ना कर्मचारीहरुलाई बेतलवी विदा दिने देखी कर्मचारी अवकाश(निष्कासन) गर्नेसम्मको निर्णय लिएको छ ।
खास गरी कोरोना प्रभावले व्यवसाय सुस्ताएसँगै एनएसीले १० देखी २० दिनका लागि कर्मचारीहरुलाई बेतलवी विदा दिने र आउट सोर्सिङका एक तिहाई कर्मचारीलाई निष्कासन गर्ने निर्णय लिएको हो ।
वायुसेवा सञ्चालक संघले २५ प्रतिशत तलब दिएर आफ्ना कर्मचारीलाई विदा दिने निर्णय गरेपनि सरकार मातहतको एयरलाइन्सले बेतलवी विदा दिने घोषणा गर्नु आफैमा अर्थपूर्ण छ ।
यस अघि अस्पताल दुई साता, न्यायालय दुई साता बन्द गर्ने निर्णय भइसकेको छ भने शैक्षिक संस्थाहरु चैत्र महिनाभरीका लागि विदा दिइसकिएको छ । उता पर्यटक आगमण घटेसँगै होटलहरुले पनि धमाधम कर्मचारी कटौति गर्दै होटल नै बन्द गर्ने समेतको रणनीति अख्तियार गरेका छ ।
एनएसीको व्यवस्थापनले गरेको निर्णय अनुसार करारमा लिइएका विदेशी पाइलटलाई २० दिन, नेपाली पाइलट र क्रु मेम्वरलाई १० दिन बेतलवी दिइएको छ । अहिले एनएसीको करारमा १० जना विदेशी पाइलट, ५ जना स्वदेशी पाइलट र क्रु मेम्बर १ सय ५० जना छन् ।
आउटसोर्सिङका एक तिहाई कर्मचारीलाई अवकाश दिइएको भनिएपनि आउटसोर्सिङमा लिइएका कर्मचारीको तथ्यांक अहिलेसम्म एनएसीले खुलाउन चाहेको छैन । यो निर्णय विहिबार देखी नै कार्यान्वयनमा आएको एनएसीले जनाएको छ । हाल एनएसीको निमित्त महाप्रवन्धकमा गणेशबहादुर चन्द छन् ।
याे पनि पढ्नुहाेस्
एयरलाइन्सका कर्मचारीलाई २५ प्रतिशत तलब दिएर विदा