काठमाडौं । केहि समय अगाडी पोल्ट्री व्यवसायीले दश दिन चल्ला र अण्डा नष्ट गरेपछि त्यसको प्रत्यक्ष असर अण्डा उत्पादक किसानमा पर्न थालेको छ । व्यापारीले नष्ट गरेयता मासु र अण्डाको मुल्य बढीरहेको छ । मासु र अण्डाको मूल्य बढीरहदा बिचौलियाले अत्याधिक मूनाफा कमाइरहेका छन् भने उत्पादक किसानहरु दैनिक करोडौ घाटा बेहोर्न बाध्य भएका छन् ।
अण्डा किसानको लागत प्रतिगोटा ११.५३ रुपैयाँ लागत पर्ने उनीहरु बताउँछन् । तर, फर्मबाट प्रतिगोटा ३ रुपैयाँ घाटा बेहोरेर ८.६७ रुपैयाँमा बिक्रि गर्नुपर्ने बाध्यतामा किसान रहेको पशु सेवा विभागले अण्डा उत्पादनको लागत मूल्य र बजारीकरण अध्ययन गर्न गठित समितिको निश्कर्ष छ ।
अहिले देशभर दैनिक साढे ३० लाख अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा बिक्री गर्दा किसानहरुले दैनिक १ करोड भन्दा बढी नोक्शान बेहोरिरहेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन् । यस्तो घाटा पछिल्लो एकमहिनादेखि निरन्तर भइरहेको उनको भनाई छ ।
ह्याचरी व्यापारी र दाना उद्योगीको चेपुवामा परेका घाटामा अण्डा बेच्न बाध्य भएपछि किसानहरु अहिले चल्ला हाल्न छाडेको र अण्डा उत्पादन पनि बन्द गर्ने मनस्थितिमा पुगेका छन् । सरकारले अण्डा उत्पादक किसान र उपभोक्तालाइ न्यायोचित हुने गरी मुल्य नतोक्दा पोल्ट्री व्यवसायबाटै पलायन हुने स्थिति आएको केसी बताउँछन् । मुलुकभर २१ सय कुखुरा फार्म र ५ लाख भन्दा बढि अण्डा उत्पादक किसान यो पेशमा संलग्न छन् ।
दानाको मुल्य बढेको बढ्यै
दानको मुल्य बढ्दा अण्डा उत्पादक किसान सवैभन्दा बढि मारमा परेका छन् । सरकारले नै अध्ययन गरेको समितिको विवरणअनुसार वि.सं २०७३ पुष देखि २०७६ पुष सम्म अर्थात ३ वर्षको अवधिमा दानाको मुल्य ४० प्रतिशत बढेको देखिन्छ । कुखुरा तथा अण्डा उत्पादन गर्न सवैभन्दा बढि लागत दानाको पर्ने गर्छ ।
अण्डा उत्पादनको कुल लागतमध्ये ७७ प्रतिशत लागत दानाको पर्ने गर्छ । त्यही लागत हरेक हप्ता २÷३ रुपैयाँ बढेको बढ्ने गर्ने गर्दा किसानको उत्पादन लागत पनि बढ्न गएको केसी बताउँछन् । दानाका लागि वार्षिक ४ लाख मकै खपत हुने गर्छ । त्योमध्ये ६० प्रतिशत भारतबाटै ल्याउनुपर्ने हुँदा लागत केही बढ्ने दाना उद्योगी बताउँछन् ।
चल्लाको मुल्यमा चलखेल
यता, ह्याचरी उद्योगीले उत्पादन लागतभन्दा अस्वभाविक नाफा खाएर चल्ला विक्रि गर्ने गरेका छन् । यसले एकातिर किसानको माउ कुखुरा(प्यारेट) को लागत बढेको छ । यसले कुखुराको मासुको मुल्य बढाएर उपभोक्ता मर्कामा छन् । अहिले प्रति चल्लाको उत्पादन लागत ३५ देखि ४० रुपैयाँ पर्ने गर्छ । तर, ह्याचरी व्यापारीले करिव दोब्बर अर्थात ७० देखि ७५ रुपैयाँमा चल्ला विक्रि गर्ने गर्छन् । चल्लाको मुल्य व्यापारीअनुसार फरक फरक हुने गर्छ ।
सरकार भन्छ, ‘न्युनतम समर्थन मुल्यका लागि पहल गर्छौ’
अहिले किसानमात्रै नभइ समग्र क्षेत्रमा अस्वभाविक परिस्थिति सिर्जना भएको छ । तर, पोल्ट्री क्षेत्रमा अण्डा उत्पादक किसानको उत्पादन लागत र मुल्यका हकमा निश्चित ‘बेसलाइन’ बनाइने पशु सेवा विभागका महानिर्देशक वंशी शर्मा बताउँछन् । उनले आगामी कार्यक्रममार्फत किसान र उपभोक्तालाइ मर्का नपर्ने गरी न्युनतम समर्थन मुल्यका लागि पहल गर्ने बताए ।
‘कुखुराको मासु र अण्डाको हकमा उपभोक्ता र किसानलाइ मर्का पर्नुहुँदैन् । अहिलेको जस्तो परिस्थिति सधैं रहँदैन्’ उनले भने, ‘हामी निश्चित ‘बेसलाइन’ तयार गरेर आगामी कार्यक्रममा किसान र उपभोक्ताको मुल्यका लागि न्युनतम समर्थन मुल्यका लागि पहल गर्छौ ।
आत्मनिर्भर उन्मुख रहेको नेपालको पोल्ट्री क्षेत्रको अवस्था अझै सबल हुन सकेको छैन् । यद्यपी, पोल्ट्री क्षेत्रमा निजीक्षेत्रको लगानी बढी छ । जसका कारणले सरकारले प्रत्यक्ष रुपमा बजार हस्तक्षेप गर्न सकेको देखिदैन् । अहिले नेपालमा वार्षिक १ अर्ब ४९ करोड रुपैयाँको अण्डाको कारोबार हुने गर्छ ।