काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सञ्चालक समितिले तिब्र गतिमा बढ्दै गएको कोरोना भाइरस विरुद्ध लड्न १४ खर्ब रुपैयाँ बढी अर्थात १४ अर्ब अमेरिकी डलरको द्रुत वित्तीयकरण प्याकेज अनुमोदन गरेको छ ।
यो सहायता विभिन्न राष्ट्रहरु र कम्पनीहरुलाई तीव्र गतिमा फैलिरहेको कोभिड–१९ निरोध, पहिचान तथा सम्बोधनका लागि उपलब्ध हुने छ । यो प्याकेजले जनस्वास्थ्य सतर्कता राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार र निदान र निजी क्षेत्रलाई सहयोग गर्ने छ ।
विश्व बैंक समूहको सदस्य आइएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये कोभिड–१९ सम्बन्धि सहयोग यसअघिको ६ अर्ब डलरबाट वृद्धि गरी ८ अर्ब डलर पुर्याउने छ । आइएफसीको सहयोग कोभिड–१९ को तीव्र विस्तारका कारण आर्थिक गिरावटको मारमा परेका निजी कम्पनी र तिनका कर्मचारीहरुका लागि हो ।
आइएफसीले उपलब्ध गराउने वित्तीय सुविधाको ठूलो हिस्सा यसका ग्राहक बैंकिङ्ग संस्थाहरुमार्फत् परिचालन हुनेछ । यसबाट व्यापारका लागि वित्तीय सुविधाका अतिरिक्त कार्यशील पुँजी सहायता तथा आपूर्ति व्यवस्थामा उत्पन्न अवरोधले संघर्षरत निजी कम्पनीहरुलाई मध्यकालीन वित्तीय सुविधा उपलब्ध हुनेछ ।
आइएफसीको सम्बोधनले महामारीका कारण प्रत्यक्ष मारमा परेका पर्यटन तथा उत्पादनमूलक उद्योग लगायत आर्थिक क्षेत्रका विद्यमान यसका ग्राहकहरुको दायित्व भुक्तानीमा सहयोग पुग्ने बताइएको छ ।
यो प्याकेजले महामारीलाई सम्बोधन गरिरहेका स्वास्थ्य सेवा र यससँग सम्बन्धित उच्च मागको सामना गरिरहेका चिकित्सा उपकरण, औषधी उद्योग जस्ता क्षेत्रहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
यो प्याकेजले कोभिड–१९ को विस्तारले व्यवसाय र तिनका कारणदारलाई वित्तीय तथा आर्थिक प्रभाव न्यूनीकरणमा तत्काल सहयोग पुर्याउँछ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले भने, ‘विश्व बंैक विकासशील राष्ट्रहरुको आवश्यकता अनुसार छिटो, छरितो ढंगले सम्बोधनका लागि प्रतिबद्ध छ । सहायता कार्यहरु पहिले नै शुरु भैसकेका छन्, आज स्वीकृत विस्तारित वित्तिय उपकरणले अर्थतन्त्रहरु, कम्पनीहरु र रोजगारी बचाउन मद्दत गर्नेछ ।’
आज घोषणा भएको अतिरिक्त २ अर्ब डलर यसभन्दा अघि मार्च ३ मा घोषित विश्व बैंकको ६ अर्ब डलरको लक्षित प्याकेजबाट स्वास्थ्य प्रणाली सुदृढीकरण र रोगको निगरानी तथा आइएफसीको ६ अर्ब डलरबाट अर्थतन्त्रमा उत्पन्न धक्काका कारण अत्याधिक जोखिममा रहेका लघु, साना तथा मध्यम आकारका उद्यमलाई जीवनाधार प्रदान गर्न मद्दत पुर्याउने शुरुवाती सहयोगमा थप हुनेछ ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकट र पश्चिम अफ्रिकी इबोला भाइरसको महामारीको समयमा तत्कालै परिचालित आइएफसीसँग विकासशील देशका निजी क्षेत्रका गतिविधि र आर्थिक विस्तारमा उत्पन्न बाधाव्यवधान सम्बोधनका लागि विश्वव्यापी र क्षेत्रीय संकटसँगका प्रतिवाद पहलकदमीमा सफल पदचाप रहेको छ ।