एजेन्सी । ब्रिटिश विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेन र प्रधानमन्त्री मेप्रति ‘अनादर’ देखाएको बताएका छन्।
इमेल चुहावट प्रकरणलाई लिएर वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कलाई ट्रम्पले ूएकदमै मूर्ख व्यक्तिू भनेपछि हन्टको प्रतिक्रिया आएको हो।
ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनी टिप्पणीसहितका इमेलहरू चुहिएपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए।
उनले युरोपेली सङ्घबाट ब्रिटेन औपचारिक रूपमा बाहिरिने ब्रेक्जिट प्रक्रिया सम्हाल्ने प्रधानमन्त्री मेको तौरतरिकाको पनि आलोचना गरेका थिए।
अनादरपूर्ण
आफ्ना सुझावलाई मेले बेवास्ता गरेको र ‘मुर्ख्याइँको बाटो’ अवलम्बन गरेको ट्रम्पको टिप्पणी थियो।
ट्रम्पका पछिल्ला ट्वीटप्रति प्रतिक्रिया जनाउँदै ब्रिटिश विदेशमन्त्री हन्टले भनेका छन्, ‘हाम्रा साथी स्पष्ट रूपमा बोल्छन् अतः म पनि त्यसै गर्छुः ती टिप्पणीहरू हाम्रा प्रधानमन्त्री र मेरो देशप्रति अनादरपूर्ण छन्।’
आफू प्रधानमन्त्रीमा निर्वाचित भए क्रिसमसका बेला अवकाश नपाएसम्म सर किमलाई राजदूतमा निरन्तरता दिने पनि को भनाइ छ।
यसअघि ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले सर किमप्रति ‘पूर्ण समर्थन’ रहेको जनाएको थियो। प्रधानमन्त्री मेका एकजना प्रवक्ताले सर किम एक ‘कर्तव्यपरायण र सम्मानित सरकारी अधिकारी’ भएको बताएका थिए।
द्विपक्षीय सम्बन्ध
उनले इमेल चुहावट प्रकरणपछि द्विपक्षीय सम्बन्धबारे मे र ट्रम्पबीच छलफल हुने कुनै योजना नरहेको पनि बताएका थिए। डाउनिङ स्ट्रीटको त्यस्तो भनाइ आएपछि राष्ट्रपति ट्रम्प झन् चिढिएका थिए।
सोमवार राजदूत सर किमलाई इङ्गित गर्दै ट्रम्पले आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेकोू भनी टिप्पणी गरेका थिए।
उनले सर किमलाई ‘अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको’ पनि भनेका थिए। ब्रिटेनले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणी पनि ट्रम्पले गरेका थिए। बीबीसीबाट