काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्प लगत्तै सरकारको आह्रवानपछि नेपाल उद्योग वाणिज्य महासङ्घले परल मूल्यमा २५ लाख रुपैयाँ बराबरको त्रिपाल सरकारलाई उपलब्ध गरायो । देश सङ्कटमा परेको समयमा सरकारले आह्रवान गरेपछि महासङ्घका तत्कालिन अध्यक्ष पशुपति मुरारकाको अग्रसरतामा व्यवसायीहरुले मूनाफा नखाई त्रिपाल उपलब्ध गराएको थियो ।
भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि सरकारलाई नाफा नै नखाई दिएको त्रिपालको मूल्य व्यवसायीहरुले पाउन सकेका छैनन् । नेपाली सेनाले बुझिलिएको भर्पाइसमेत लिएर सहरी विकास मन्त्रालयमा पटक–पटक धाउँदा पनि उद्योगीलाई दुःख मात्र दिएको मुरारकाको भनाई छ ।
सरकारलाई दिएको त्रिपालको परिमाण र मूल्य उल्लेख गरेको बिल अहिले पनि मुरारकासँगै छ । आफू जमानी बसेर भैरहवाका एक व्यवसायी मार्फत सरकारलाई संकटमा साथ दिएका मुरारका अहिले त्रिपालको भुक्तानी रोकिएको कारण आफै तनावमा छन् ।
पाँच बर्ष अघि भूकम्पले जस्तै अहिले पुनः कोरोना भाइरसको कारण राष्ट्रले संकटको सामना गर्नुपर्ने देखिएको छ । देशमा कोरोनाको महामारी रोक्न यतिबेला फेरि सरकारले निजीक्षेत्रको साथ खोजीरहेको छ । महामारीलाई रोक्न सरकारले निजी क्षेत्रसँग सार्वजनिक रुपमै सहयागको मागेको छ ।
तर, व्यवसायीले सरकारको आग्रहलाई गम्भीर रुपमा लिएका छैनन् । सरकारबाट पटक पटक धोका पाएका व्यवसायी आफै सामाजिक उत्तरदायित्व बहन गर्न तयारीमा छन् । तर, सरकारलाई सामान दिन तयार देखिदैनन् ।
देशमा सामान्य बिपतको शंका लाग्ने वित्तिकै बजारमा उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थ जोहो गर्न उपभोक्ता लाइन लाग्छन् । अहिले पनि त्यस्तै अवस्था सिर्जना भएको छ । सरकारले बारम्बार आपूर्ति व्यवस्थामा कुनै गडबडी हुदैन त्यसैले आवश्यक वस्तु मात्र खरीद गर्न आग्रह गरे पनि जनताले पत्याएका छैनन् ।
सरकारले खाद्यान्नदेखि औषधिसम्म पर्याप्त भएको र आवश्यक भन्दा बढी खरीद नगर्न गरेको आग्रहलाई कसैले सुनेका छैनन् । यसको मुख्य कारण सरकारी अधिकारीको भनाइप्रति जनताले अविश्वास हो । सरकारको बोलीमा विश्वास गर्दा धेरै पटक जनताले दुख पाएका कारण पनि यस्तो भएको हो ।
अहिले दैनिक उपभोग्य वस्तुको माग ३० देखि ४० प्रतिशत बढेको व्यापारीहरु बताउँछन् । यसको अर्थ अहिले उपभोक्ताले आवश्यकता भन्दा ३० देखि ४० प्रतिशतसम्म दैनिक उपभोग्य वस्तुको जोहो गरिसकेका छन् ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार काठमाडौंको दैनिक पेट्रोलको सरदर माग ६ सय ५० किलोलिटर हो । तर, अहिले दैनिक ८ सय देखि १ हजार किलोलिटरसम्म बजारमा पठाइएको छ ।
दैनिक ६ सय ५० किलोलिटर पुग्ने पेट्रोलको बजार अहिले एकाएक १ हजार किलोलिटर भन्दा बढी पुग्यो । त्यसैगरी, ग्यासको माग पनि ह्वात्तै बढेको निगमको तथ्याङ्कबाट देखिन्छ । गत वर्ष यो महिना ३५ हजार ७ सय ५४ टन ग्यास आयात भएको निगमको तथ्याङ्कबाट देखिन्छ । त्यति परिमाणमा ग्यास आयात हुँदा नेपालमा ग्यासको हाहाकार थिएन । तर, अहिले सोही महिनामा ४१ हजार १ सय ११ टन ग्यास भित्रिएको छ । तर, पनि जनताले सहज रुपमा ग्यास पाउन सकेका छैनन् । किनभने अहिले हरेक उपभोक्ताले ग्यास स्टक गरेकाले माग बढेको निगमका प्रवक्ता गोइतको भनाइ छ ।
अहिले नेपालमा पनि कोरोना भाइरसको सन्त्रास फैलिएको छ । यदि छिमेकी मुलुक कोरोनाबाट ग्रसित हुँदै गएको छ । त्यसको असर नेपालको आपूर्तिमा देखिन सक्छ भन्ने आंकलनका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी उपभोग्य वस्तु थुपारेको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् ।
खुद्रा व्यापार सङ्घका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यका अनुसार अहिले हरेक खाद्य वस्तुको माग ३० देखि ४० प्रतिशतले बढेको बताउँछन् । एक बोरा चामल लैजाने मान्छेले दुई बोरादेखि तीन बोरासम्म लैजान थालेको छ । यसैगरी अन्य खाद्यान्नमा पनि ठूलो परिमाणमा माग भएको उनको भनाइ छ । अप्रत्यासित रुपमा माग बढ्नुको कारण सरकारप्रति जनताको विश्वास नबढ्नु हो ।
महासङ्घका निवर्तमान अध्यक्ष मुरारकाका अनुसार सरकारी अधिकारीको बोलीमा भर गर्न सकिदैन । ‘एउटा बोल्ने र अर्को गर्ने परिपाटीले गर्दा न जनताले विश्वास गर्छन्, न व्यापारीले नै,’ उनले भने, ‘पाँच वर्ष अघि सरकारको अनुरोधका कारण उपलब्ध गराएको त्रिपालको पैसा अहिलेसम्म पाउन सकेको छैन् । यस्तो अवस्थामा फेरी अर्को विपद् आइपर्दा कसरी सरकारको बोलीमा विश्वास गर्ने ?’
सरकारले हरेक पटक उपभोक्तालाई अश्वास्त पार्ने प्रयास गरे पनि त्यसलाई उनीहरुले नपत्याएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना बताउँछन् ।
‘सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दैन्, बजारमा पर्याप्त मात्रामा उपभोग्य वस्तु पाइन्छ, आपूर्तिमा कुनै समस्या छैन भने पनि उपभोक्ता नपत्याउने अवस्था छ,’ उनले भने, ‘भूकम्प होस्, वा नाकाबन्दी अथवा अहिले कोरोना भाइरसको सन्त्रालकै बेला किन नहोस्, उपभोक्ताको पहिलो प्राथमिकतामा पर्छ– दैनिक उपभोग्य वस्तुको जोहो गर्नु ।’
केही दिन अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकार सम्मेलन गर्दै दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थको कुनै अभाव हुँदै भनेका थिए । तर, अहिले पेट्रोल पम्पमा एक किलोमिटरसम्म तेल हाल्नेको लाइन पुगिसकेको छ । एक महिनासम्म सामान्य अवस्थामा रहेको बजार उचालिएको छ । बरु मन्त्रीको भनाइ पछि उपभोक्ताले अत्यधिक सामान स्टक गर्न लागेको उपभोक्ताकर्मी बताउँछन् ।